वालेटले दुई वर्ष भित्रै आईपीओ जारी गर्नुपर्ने, कुन सेवा प्रदायकले कहिले जारी गर्छन् ?

Advertisement

काठमाडौं । वालेटमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनीले दुई वर्षभित्रै आईपीओ जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ३२ जेठ २०७७ मा जारी गरेको भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ अनुसार यस्ता भुक्तानी सेवा प्रदायक कम्पनीले पनि आईपीओ जारी गर्नुपर्ने व्यवस्था गरेको हो । 

सो व्यवस्था लागू गरेको एक वर्ष पूरा भएकाले अब दुई वर्ष भित्रमा नेपालमा सञ्चालनमा रहेका र पब्लिक कम्पनीको रूपमा दर्ता भइसकेका वालेटमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनीले आईपीओ ल्याउनैपर्ने हुन्छ ।

Advertisement

भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले तयार पारेको विनियमहरूअनुसार सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने हुन्छ । यस्तो व्यवस्थाअनुसार सर्वसाधारणमा शेयर जारी गर्ने गरी पब्लिक कम्पनीको रूपमा दर्ता भई बैंकबाट भुक्तानी सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त संस्थाले सेवा प्रारम्भ गरेको मितिले तीन वर्षभित्रमा कम्तीमा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ । यो व्यवस्था अनुसार हाल भुक्तानी सेवा प्रदायक अर्थात वालेटले आईपीओ जारी गर्नुपर्ने हुन्छ ।

हाल नेपाल राष्ट्र बैंकले विभिन्न २८ वटा वालेट सञ्चालकलाई अनुमति दिएको भए पनि आईएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे) नामकका दुईवटा वालेट पब्लिक कम्पनीको रूपमा दर्ता भएका छन् । आईएमई पेले ५ असार २०७४ मै राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति पाएर सेवा दिएरहेको छ भने नमस्ते पेले ३ चैत २०७७ मा अनुमति पाएको छ । नमस्ते पेले भने सेवा सुरु नै गरेको छैन् । आन्तरिक तयारी भइरहेको जानकारी दिएको छ ।

भुक्तानी प्रणाली सञ्चालकको रूपमा पनि राष्ट्र बैंकबाट नेपाल क्लियरिङ हाउस लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड, युनियन पे इन्टरनेशनल कम्पनी लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडले अनुमति लिएका छन् । यसमध्ये युनियन पे चिनियाँ लगानीको कम्पनी हो । अन्य तीनवटा नेपाली कम्पनी हुन् । राष्ट्र बैंकको उक्त विनियमावली अनुसार यी भुक्तानी प्रणाली सञ्चालकले पनि तीन वर्षभित्रै आईपीओ जारी गर्नुपर्ने हुन्छ । तर यी कम्पनीहरूले अहिलेसम्म प्रक्रिया भने अगाडि बढाएका छैनन् । 

आईपीओमा जान तयारी गर्दै फोनपे
राष्ट्र बैंकले अनिवार्य गरेपछि र पब्लिक कम्पनी पनि भइसकेकोले फोनपे पेमेन्ट सर्भिस लिमिटेडले भने आईपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । यो कम्पनीले सरकारले दिएको समयसीमा अनुसार नै आईपीओ जारी गर्न तयारीमा छ ।

नेपालमा पछिल्लो समय जुनसुकै कम्पनी पनि आईपीओमा जाने र शेयरमा सर्वसाधारणको आकर्षण हुने भन्दै यसतर्फ आकर्षण  भने देखिएको छ । यही अवस्थामा वालेटको पनि आईपीओ आउने भनेर हेरिनुलाई स्वाभाविक रूपमा लिएको इसेवाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुवास सापकोटाले बताए ।

उनका अनुसार ईसेवा आईपीओमा जान तयार भएपनि पहिले पब्लिक कम्पनी हुनुपर्छ । यसका लागि राष्ट्र बैंकले गरेको निर्देशनले कति समयभित्र पब्लिक कम्पनीमा गइसक्नुपर्ने ? भन्ने चाहिँ छैन् । राष्ट्र बैंकले पब्लिक कम्पनीलाई तीन वर्षको समय दिएको भए पनि प्राइभेट चाहीं कति समयभित्र पब्लिक हुनुपर्ने भन्ने स्पष्ट सीमा नतोकेकोले इसेवालाई आईपीओमा जान हतार र बाध्यता नभएको उनले बताए । तर, इसेवा पनि आईपीओमा जान भने सक्ने र यसका लागि पब्लिक कम्पनी बनाएर अगाडि बढ्न तयारी गर्दै गरेको शर्मा बताउँछन् ।

आईपीओमा जान आन्तरिक तयारी गर्दै छौंः आइएमई पे
नेपाल राष्ट्र बैंकका २८ वटा वालेटलाई लाइसेन्स दिएको भएपनि पब्लिक कम्पनीको रूपमा दर्ता भएर गएको तीनवटा वालेटमध्ये आइएमई पेले भने आईपीओका लागि आन्तरिक तयारी गरिरहेको छ । आइएमई पेका सीईओ विकास नाहटाका अनुसार राष्ट्र बैंकले दिएको निर्देशको समय तीन वर्ष भएको र एक वर्ष पुगिकसकेको छ । अब दुई वर्षभित्र आईएमई पे पनि आईपीओमा गइसक्ने नाहटाको भनाइ छ ।

नाहटाकाका अनुसार अबको दुई वर्षभित्रमा आईपीओमा जान आइएमई पेले आन्तरिक तयारी गरिरहेको छ । जम्मा एक करोड रुपियाँ मात्रै चुक्ता पुँजी रहेको कम्पनीले आईपीओमा गएर लगानीकर्ताको विश्वास जित्न गाह्रो हुनेभएकोले वालेट कम्पनीहरूको चुक्ता पुँजी पनि बढाउनुपर्ने उनले बताए । राष्ट्र बैंकले तीन लाख ग्राहक पुग्नेपर्ने व्यस्वस्था पनि गरेको छ । यो व्यस्थाले सेवा मात्रै गरिरहेका कम्पनीले लाभ गर्ने र लगानीकर्तालाई मुनाफा दिने आधार नभई आईपीओमा गइहाल्नुपर्छ भन्नेको अर्थ नहुने बुझाई पनि नाहटाको छ ।  

Advertisement

Advertisement