गाईजात्रामा हाँस्यकलाकारहरूको टिप्पणी– नेताको रक्सी र मासुमा बिक्ने हाम्रा जनता कस्ता ?

Advertisement

काठमाडौं । हाँस्यकलाकारहरुले देशको पछिल्लो राजनीतिक घटनाक्रममाथि चोटियो ब्याङ्ग्य प्रहार गरेका छन् । गाइजात्राको दिन सोमबार उनीहरूले रिपोर्टर्स क्लबमा नेतादेखि कर्मचारीसम्मलाई ब्याङ्ग्यमार्फत झटारो हानेका हुन् ।

हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए । उनीहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतिहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । 

Advertisement

हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले आफूले २०३७ सालदेखि गाईजात्रामा सहभागी भइरहेको स्मरण गरे । उनले प्रताप मल्लले रानीको पुत्र वियोगमा रानीलाई खुशी बनाउने उद्देश्यले गाईजात्रा सुरु गरेको भन्दै देशको तीन जनाको मिलेमतोमा संविधान ल्याएको र बाँडीचुँडी देश खाएको बताए । 

उनले ब्याङग्यमार्फत आईएनजीओले गरेका कामहरुको पनि चर्चा गर्न भ्याए । सिम्खडाले नेताहरु अदालतको प्राङ्गणमा रोइ कराएको प्रति तिखो झटारो हाने । उनले नेपाली जनता नेताहरुको खेलौना कतिसम्म हुने भन्दै प्रश्न गरे । एक घन्टाको भाषण र मासु भातमा नेपाली जनता बिकेकोमा आक्रोस पोख्दै उनले व्याङग्य कसेका थिए । सिम्खडाले ‘सोझा जनता सधै धुरुधुरु‘’ शीर्षकको कवितामार्फत व्यङग्य प्रहार गरेका थिए ।

उनले मानिसहरुलाई स्वार्थीको संज्ञा दिँदै भने, ‘जनावर मारेर खाने जनता र जनता मारेर खाने नेता उस्तै हुन् ।’ सिम्खडाले थपे, ‘जसले घरमा श्रीमतीलाई चिप्लो पारेर बोल्छ त्यसको बाहिर पक्का प्रेमिका हुन्छ ।’ बिग्रिएको मान्छे भन्दा सप्रिएको बाँदर सही हुने उनले जिकिर गरे ।

हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो‘’ गीत प्रस्तुत गरे । उनले समस्या पूरानै छन् तन्त्र र मन्त्र नयाँ भन्दै ‘बाँदरको हातमा नरिवल’ शीर्षकमा सरकारप्रति ब्यङग्य गरे । 

केसीले कोरोना भाइरसबाट कसरी जोगिने ? विषयमा नेवार समुदायमा बोलिने शैलीलाई अपनाएर सन्देशमूलक क्यारिकेचर समेत प्रस्तुत गरे । उनले क्यारिकेचरमार्फत भाइरसबाट जोगिने उपायहरुको बारेमा जानकारी दिएका थिए । उनले जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास नगर्न पनि आग्रह गरे ।

कलाकार लक्ष्मण गाम्नागेले ‘मलाई उस्तै उस्तै लाग्न थालेको छ’ कवितामार्फत सरकारप्रति झटारो हाने । उनले नेपालमा पछिल्लो समयको राजनीति घट्नाप्रति तीखो ब्याङग्य गरे । गाम्नागेको कवितामा देशको भाव बोलेको थियो ।

हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरेपनि नेताहरु कहिल्यै नसुध्रिने बताए । उनले एमाले पार्टी फुटेको र देउवालाई फाइदा भएको भन्दै गीत प्रस्तुत गरे । नेताहरुलाई व्यांङ्ग्य गर्दै उनले प्यारोडी गीत पनि गाए । 

हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकीकृत हुनुपर्छ भन्दै कविता वाचन गरेका थिए । रिजालले अफगानिस्तानका जनतालाई छाडेर भाग्ने राष्ट्रपति घानी लगायतलाई व्याङ्ग्य गर्दै ‘हामीलाई चाहिएको छ’ शीर्षकमा कवितामार्फत तीखो झटारो हाने । 

कलाकार श्रीकृष्ण सिंम्खडाले प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिडविरुद्धको खोपको प्रसंगमा क्यारिकेचर गर्दै हास्यव्याङ्ग्य सुरु गरे । उनले एमसीसीको बारेमा पनि झटारो हाने । सिंम्खडाले केपी ओलीको क्यारिकेचर गर्दै बालुवाटार छाडेर बालकोट जाँदाको कुरा कोट्याए । 

सिंम्खडाले पूर्वराजा ज्ञानेन्द्र शाहको पनि क्यारिकेचर गर्दै ब्याङ्ग्य कसे । उनले  ‘मेरो देशमा गणतन्त्र छ, त्यही भएर म दैनिक २५ रुपियाँको पिसाब फेरेर घर फर्कन्छु’ कवितासमेत वाचन गर्दै गणतन्त्रप्रति व्याङ्ग्य गरे ।

हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनीतिक घट्नाक्रमको बारेमा व्याङ्ग्य गरे । उनले अन्तर्वार्ता लिन बोलाउने तर प्रश्न सोध्दा रिसाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्याङ्ग्य गरे । पोखरेलले बाबुरामलाई ट्विटरमा धेरै गाली खाने भन्दै जति गाली खाएपनि ट्विट गर्न नछाडेको गहिरो ब्याङ्ग्य गरे ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’लाई कलौटेको संज्ञा दिए । पोखरेलले नेपालका नेताहरुले ३६५ दिन नै कमेडी गर्ने बताए । वास्तविक कलाकारले कहिलेकाहीं मात्र हँसाउने उनको भनाई थियो ।

देशमा हाल रामराज्य भएको जिकिर गर्दै उनले ‘दाईंमा मियो मात्र नभएको मात्रै हो’ भन्दै कविता वाचन गरे । पोखरेलले पछिल्लो राजनीतिक घटनाक्रमलाई प्यारोडीमार्फत प्रस्तुत गरे । उनले जनताहरुलाई भेडाको संज्ञा दिँदै नेताहरुको ‘रक्सी र मासुमा बिक्ने’ भनी झटारो हानेका थिए ।

खड्कबहादुर पुन (खबपु)ले अन्य पेशाका सबै संगठित भए पनि हाँस्यकलाकारहरु अहिलेसम्म संगठित हुन नसकेको धारणा राखे । उनले गाइजात्राको दिन सम्पूर्ण कलाकारहरुको दिन भन्न पाएमा खुशी हुने बताए । उनले भोगाईबाट नै साहित्य र हास्यव्याङ्ग्य जन्मने उनको भनाई थियो । पत्रकारहरुले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुःखेको उनको गुनासो थियो ।

Advertisement

Advertisement