घुस खाने जिल्ला वनका हाकिमसहित ३ जना बिरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले आव २०७३/७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिदप्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि र बाँसको कलमी बिरुवा उत्पादन सम्बन्धमा छानबिन गर्दा महँगोमा खरिद गरी रकम हिनामिना गरेको पाइएको छ । 

आयोगले तत्कालीन जिल्ला वन अधिकृत घिमिरेविरुद्ध रु चार लाख ९० हजार, तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध रु चार लाख ९० हजार र सहायक वन अधिकृत दिनेशप्रसाद जयसवालविरुद्ध रु तीन लाख ९० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।  

यस्तै, आयोगले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, गजुरी धादिङमा कार्यरुत सवइञ्जिनियर विनोद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग रु २० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो । 

आयोगले आरोपी सापकोटाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । रासस