बैंकहरूसँग वालेटको प्रतिस्पर्धा होइन सहकार्य हो, डिजिटल भुक्तानी बढाउनुपर्छः ईसेवाका सीईओ

Advertisement

– सुवास सापकोटा ।
वालेटको भविष्य अहिलेको मोबाइल बैंकिङ सेवाका हिसावले चुनौतीपूर्ण भइसकेको अवस्था छ । तर, पनि मोबाइल बैंकिङमा भएको ग्राहक संख्या र वालेट प्रयोगमा देखिएको ८८–९० लाखको प्रयोगकर्ताको संख्या समग्र डिजिटलाइजेसनको बजारबाट हेर्दा भने थोरै नै हो । नेपालमा कति ग्राहकले मोबाइल बैकिङ र वालेटमा दर्ता भए भनेर भन्नुभन्दा पनि कति ग्राहकले सेवा प्रयोग गरिरहेका छन ? त्यो बुझ्नुपर्ने हुन्छ । बजारमा समग्रमा हेर्दा डिजिटल कारोबारको हिस्सा १० प्रतिशतभन्दा पनि कम छ । अझै ९० प्रतिशतभन्दा बढीको बजार नगदबाटै कारोबार भइरहेको अवस्था छ । भुक्तानी सेवाको विकास गर्न र सेवाको दायरा बढाएर कम्तिमा ४० देखि ५० प्रशितशत पुर्याउन सकियो भने अहिले सेवाप्रदायकले सोचेको र दिएको सेवा भन्दा निकै ठूलो बजार डिजिटलाइज हुन्छ । यसले वालेटलाई पनि टिकाउन सक्छ ।

अहिले अथाह नगद कारोबार हुँदा थोरै हिस्सा मात्रै नगदरहित कारोबारले लिएको देखिन्छ । नगदरहित कारोबार बढाउन अहिले नै डिजिटल सेवामा लगानी गर्नुपर्ने हुन्छ । सचेतना बढाउनु पक्कै पर्छ । यसका लागि अहिले नै डिजिटल कारोबारमा लगानी बढाउँदै जानुपर्ने समय पनि हो । अहिले जति वालेटले राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएका छन्, तिनीहरू न्यूनतम कारोबार सीमा र ग्राहक संख्यामा मात्रै केन्द्रित भएर बसेका छन् । यसको दायरा निकै ठूलो र फराकिलो हुनाले अहिले वालेटले लगानी गर्नुपर्ने बेला पनि हो । राष्ट्र बैंकबाट २८ वटा वालेटले इजाजतपत्र नै लिइसकेका छन् । ती वालेटहरूले गर्नुपर्ने लगानी र राष्ट्र बैंकले दिएको सीमालाई सकारात्मक रुपमै लिनुपर्छ ।

Advertisement

बैंकहरूको काम कोर बिजनेश बैंकिङ सर्भिस नै भएकोले पछिल्लो समय आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट सेवा दिनु स्वाभाविक नै हो । हामी वालेटहरूको पनि कोर बिजनेश भुक्तानी सेवा दिने हो । भुक्तानी सेवा दिनु र मोबाइल बैंकिङबाट सेवा दिनु फरकफरक भए पनि ग्राहकलाई कसरी सेवा दिने ? त्यसमा भर पर्छ । बैंकले ग्राहकबाट सेवा शुल्क लिएर र बैंकमा निक्षेप राखेर सेवा दिइरहेको हुन्छ । यस्तो काम वालेटको होइन् । मोबाइल बैंकिङ आउँदैमा र बैंकहरूले सेवा दिँदैमा भने वालेटलाई खासै फरक भने पर्दैन् । भुक्तानी सेवा प्रदायकको काम बजारमा भुक्तानीको विविध सेवा दिने, वालेटबीचमै सेवा र सुविधाकोबीचमा प्रतिपर्धा गर्ने हुनुपर्छ । यसका लागि ईसेवासहितका वालेटले भूमिका खेल्न सक्छन् । वालटेको काम बैंकहरूसँग सहकार्य गर्ने हो प्रतिस्पर्धा गर्ने नै होइन् ।

नेपालमा परम्परागत बैंकिङ प्रणाली विस्तारै डिजिटल हुँदै गएको छ । प्रविधिको विकाससँगै भोलिका दिनमा डिजिटल मुद्रा पनि आउनसक्छ । त्यो अलग्गै पाटो हो । आजका दिनमा हामीले डिजिटल कारोबारमा राष्ट्र बैंकले दिएको सेवा सुविधा र निर्देशनभित्रै रहेर काम गर्ने हो । हामीले डिजिटल बैंकिङको विकल्पमा ईसेवा किन चलाउने त ? वालेटले बैंकको भन्दा फरक सुविधा दिन्छ र फराकिलो दायरामा काम गर्छ भन्ने हुनुपर्छ । बैंकलाई छोडेर ईसेवा प्रयोग गर्ने वातावरण बनाउने काम पनि हामी वालेटहरूकै हो । मोबाइल बैंकिङ चलाइरहेकोले वालेट किन चलाउने त ?  पक्कै चलाउने नै भन्ने हुनुपर्छ ।

मोबाइल बैंकिङ आउँदैमा र सबै बैंकले सुविधा दिँदैमा वालेटलाई चुनौती नै हुन्छ भनेर भन्न पनि सकिदैन् । अहिले नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन् । सबैले सेवा र सुविधा दिएर एक अर्कोसँग प्रतिस्पर्धा गरेर चलिरहेकै छन् । बैंकले आआफ्नै तरिकाले काम गरिहरेका छन् । त्यस्तै हामी वालटेले पनि आआफ्नै क्षेत्र र नयाँपन दिएर जानुपर्छ । अहिलेसम्म बत्ति, पानी, टेलिफोनको बिल भुक्तानी मात्रै डिजिटलाइज भएको हो । नगदमा कारोबार हुने दायरा र क्षेत्र त अझै ठूलो छ जुन वालेटसँग जोडिन बाँकी नै छ । त्यो क्षेत्रमा जान वालेटहरूले पहल गर्नुपर्छ । ईसेवाले त्यसको लागि निरन्तर प्रयास गर्दै आएको पनि छ । एउटाले अर्को विकल्पको रुपमा काम गर्दा कसैले छोटो दूरीको गन्तव्यमा त कसैले लामो दूरीको सवारीलाई दृष्टिगत गरेर काम गर्न सक्छन् ।

आजका दिनमा तीन करोड जनसंख्यामध्ये वालेटमा सक्रिय कारोबार गर्नेको संख्या २० लाख पनि छैन् । यसलाई पहिले एक करोड सक्रिय प्रयोगकर्ता पुर्याउनैपर्ने हुन्छ । अहिले ईसेवाबाट बिजुलीको बिल तिर्ने ग्राहकले त्यो काम मोबाइल बैंकिङबाटै पनि गर्न सक्छन् । तर, जहाजको टिकट काट्ने काम वालेटबाटै हुन्छ । बसको टिकट काट्ने काम वालेटबाटै हुन्छ । लाइनमा बस्नुपर्ने र सानो सानो भुक्तानी गर्नुपर्ने ठाउँमा वालेट नै चाहिन्छ । उदाहरणको लागि यातायात कार्यालयलाई डिजिटल गर्न सकियो भने लाइनमा बसेर खर्चने समयको सदूपयोग हुन्छ । त्यो लाइनमा बस्नुपर्ने झन्झटको मुक्ति वालेटबाट सुरु हुन सक्छ ।

दुई–तीन वर्षमा राजस्व भुक्तानी र बैंकिङ प्रणालीबाट हुने सेवा पनि मोबाइल बैंकिङकै दायरामा आउनसक्छ । त्यो बेला हामीले फेरि अर्को क्षेत्रमा सेवा दिन थालिसकेको अवस्था पनि आएको हुन्छ । यसर्थ वालेटले गर्ने काम र मोबाइल बैंकिङ फरक हो । वालेटलाई नयाँ नयाँ क्षेत्रको सेवामा लैजानुपर्छ । २८ वटा वालेटले अनुमति लिएका छन् । यी वालेट धेरै भएका र वालेटको भविष्य अहिले नै खुम्चिएको भन्ने होइन्, दायरा फराकिलो बनाएर फैलाउनुपर्ने बेला हो ।

(ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सापकोटासँगको कुराकानीमा आधारित)

Advertisement

Advertisement