महालेखाले साढे दुई अर्ब कर छली गरेको औंल्याएपछि आईक्यानद्धारा कोकाकोलालाई अवार्ड

Advertisement

काठमाडौं । साढे दुई अर्ब रुपियाँ पुँजीगत लाभकर छली गरेको तथ्य महालेखापरीक्षकको कार्यालयले आफ्नो बार्षिक प्रतिवेदनमार्फत उजागर गरेको थाहा पाउँदा पाउँदै लेखा व्यवसायीहरूको संस्था (आईक्यान)ले कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडलाई पुरस्कृत गरेको छ । 

आईक्यान काउन्सिलको नवौं परिषद्का क्रममा कोकाकोला, स्प्राइट, फेन्टा जस्ता हल्का पेय पदार्थ उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्सलाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० प्रदान गरिएको हो । जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत उक्त पुरस्कार प्रदान गरिएको आईक्यानको भनाई छ । 

Advertisement

कम्पनी यस्तो गम्भीर विवादमा हुँदाहुँदै आईक्यानले कोकाकोलालाई अवार्ड दिएर आफै विवादित बनेको छ । आईक्यानका सदस्यहरूबीच पनि यस विषयले असन्तुष्टि बढेको छ । राज्यको एउटा निकायले यति ठूलो राजश्व छली गरेको तथ्य सार्वजनिक गरेलगत्तै सोही कम्पनीलाई पुरस्कृत गर्न नैतिकरुपमा मिल्दैन् । तर आईक्यानले नैतिक पक्ष र संस्थागत मूल्यमान्यता विपरित कोकाकोलाका प्रतिनिधिलाई बोलाएर अवार्ड प्रदान गरेको हो । 

आईक्यान चार्टर्ड एकाउन्टेन्टदेखि रजिष्टर्ड अडिटरहरूको संस्था हो जो महालेखापरीक्षकको कार्यालयसँग अन्तरसम्वन्धित हुन्छन् । उनीहरूको कामलाई नियमत र अनुगमनसमेत गर्छ । तर आईक्यानले महालेखालाई नै चुनौति दिँदै कर छलीमा संलग्न कम्पनीका प्रतिनिधिलाई ल्याएर पुरस्कृत गर्ने काम गरेको छ । 

आईक्यानले उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६–७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको जनाएको छ । महालेखाले पनि सोही आर्थिक बर्षको प्रतिवेदनमा नै कोकाकोलाले दुई अर्ब ५० करोड रुपियाँ पुँजीगत लाभकर छली गरेको औंल्याएको छ । 

आईक्यानका अध्यक्ष सीए मदन शर्माले कोकाकोलाका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन र फाइनान्स कन्ट्रोलर अशोक मण्डल अवार्ड दिएका थिए । यस विषयमा सोध्दा आईक्यानका अध्यक्ष शर्माले महालेखाको प्रतिवेदनसँग अवार्डलाई जोड्न नमिल्ने तर्क गरे । उनले भने, ‘सम्मान गर्ने प्रक्रिया के हो ? केका लागि सम्मान गरिएको हो ? कर छली कुन अवस्थाको हो ? कहिलेको हो ? राम्रोसँग बुझ्नुपर्छ ।’

उनले कर छली गरेको छ भनेर कोलाकोलालाई अवार्ड नदिने हो भने सरकारका धेरै निकायले बेरुजु गरेको महालेखाले औंल्याएरको छ, के ती सबैलाई बन्द गर्ने त ? भनी प्रश्न पनि गरे । कोकाकोलाले छलेको कर केसँग सम्वन्धित हो ? कुन आर्थिक बर्षको हो ? र अहिले हामीले गरेको सम्मान केसँग सम्वन्धित हो ? कुन आर्थिक बर्षका लागि गरेको हो ? यो सबै कुरा हेर्यो भने राम्रो हुने शर्माको भनाई छ । राज्यको यति ठूलो कर छली गरेको तथ्य बाहिरिएपछि अवार्ड होल्ड गर्न मिल्दैन्थ्यो ? भनेर सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ दिएनन् ।

जबकी आईक्यानले कोकाकोलालाई प्रदान गरेको अवार्ड २०२० को लागि हो भने महालेखाले औंल्याएको उक्त कम्पनीको कर छली पनि सोही बर्ष अर्थात आर्थिक बर्ष २०७६–७७ को हो । कोकाकोलाले आफ्नो स्वामित्व फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली गरेकोले असूल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

गत डिसेम्बर महिनामा कोकाकोलाको स्वामित्व परिवर्तन हुँदा उक्त राजश्व छली भएको हो । ठूला करदाता कार्यालयमा दर्ता भएको बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको कुल शेयर संख्या १९ लाख ४८ हजार मध्ये १४ लाख ८४ हजार ३०१ कित्ता सेयर अर्को बहुर्राष्ट्रिय कम्पनीले खरिद गरेको थियो । उक्त कम्पनीको २०७१ मंसिरमा ७६.१६ प्रतिशत स्वामित्व परिवर्तन हुनुका साथै कम्पनीको नामसमेत परिवर्तन गरिएको छ।

सेयर खरिद बिक्री गर्दा त्यसको जानकारी नेपालका कुनै पनि सम्वन्धित निकायलाई नदिए पनि यो तथ्य सार्वजनिक भएको थियो । महालेखाले त्यस क्रममा निःसर्गमा प्राप्त भएको लाभमा कर गणना गरी दाखिला नगरेकाले कर अशुल गराउनुपर्ने बताएको छ । नेपालमा रहेको निकायको हितको मूल्य बढ्नु भनेको नेपालमै रहेको सञ्चालित क्रियाकलाप र सम्पत्तिको मूल्यको कारण भएकोले त्यस्तो आयको स्रोत नेपाल नै हो भन्दै प्रतिवेदनमा कोकाकोलाले साढे दुई अर्ब रुपियाँभन्दा बढी पुँजीगत लाभकर छली गरेको ठहर गरेको छ । कम्पनीले अहिलेसम्म उक्त कर बुझाएको छैन् । तर आईक्यानबाट भने यही बेलामा विशेष अवार्डबाट सम्मानित हुन पुगेको छ । 

Advertisement

Advertisement