ललितपुरका मेयर चिरिबाबुको प्रतिशोधः सडक पेटी भत्काएर अवैधरुपमा पाटी निर्माण सुरु

Advertisement

पुल्चोक । ललितपुर महानगरपालिकाका चिरिबाबु महर्जनले पुल्चोकमा सडक पेटी भत्काएका पाटी बनाउन थालेका छन् । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थासँग बदला लिन बिहीबार बिहान उक्त संस्थाको कार्यालयअगाडि सडक पेटी भत्काएर पाटी बनाउन थालिएको हो । 

नेपाली कांग्रेुका नेतासमेत रहेका चिरिबाबुले लामो समयदेखि लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसँग बार्गेनिङ गर्दै आएको र आफ्नो स्वार्थ पूर्ति नभएपछि उक्त संस्थाको कार्यालय सञ्चालनमै अवरोध हुनेगरी आज सडक पेटी भत्काएर पाटी बनाउन थालेको संस्थाका पदाधिकारीले बताएका छन् । 

Advertisement

लालीगुराँस देशको ठूलो र सफल सहकारीको रुपमा चिनिन्छ जसले जलविद्युत आयोजना निर्माणदेखि अस्पताल विद्यालय तथा कलेज, देशकै ठूलो गाई पालन फार्म, डेरी उद्योग आदि सञ्चालन गर्दै आएको छ । चिरिबाबुले बर्षौंदेखि लालीगुराँससँग दुःख दिने र बार्गेनिङ गर्ने काम गर्दै आएको भन्दै संस्थाले आफ्नो स्वार्थ पूर्ति हुन नपाएपछि अहिले मेयर भएको मौकामा संस्थाको कार्यालय अगाडि माथिल्ला निकायको आदेशसमेत अटेर गर्दै पाटी बनाउने काम गरेको जनाएको छ । 

मेयर चिरिबाबुले भने लालीगुराँसको कार्यालय अगाडि यसअघि समय फल्चा भन्ने पाटी रहेको र उक्त पाटी सम्पदा भएकाले संरक्षण गर्न पुनःनिर्माण गर्न लागेको दावी गरेका छन् । तर, लालीगुराँसले भने समय फल्चा भन्ने पाटी यसअघि कुन ठाउँमा थियो ? भन्ने कुराको यकिन नै नगरी अनुमानको आधारमा सडक पेटी भत्काउने काम गरेको बताएको छ । 

चिरिबाबुले यसअघि पनि पटक पटक उक्त ठाउँ भत्काउन आफ्ना कार्यकर्तासहित उपस्थित भएर प्रयास गर्दै आएका थिए । तर अदालतदेखि विभिन्न सरकारी निकायले त्यस्तो नगर्न निर्देशन दिएपछि पछि हट्दै आएका थिए । सडक पेटीमा मापदण्डविपरित पाटी नबनाउन ललितपुरकै कतिपय वडाका सदस्यले गरेको आग्रहलाई समेत अटेर गर्दै उनले आज सडक भत्काएर पाटी बनाउन थालेका हुन् । 

केही दिनअघि मात्रै जिल्ला अदालत ललितपुरले मापदण्डविपरित सडक भत्काएर पुल्चोकमा पाटी नबनाउन ललितपुर महानगरपालिकालाई निर्देशनसमेत दिएको थियो । सडक पेटी भत्काएपछि अहिले पैदल यात्रुलाई हिँडडुल गर्न समस्या सुरु भएको छ । 

स्थानीय टोल सुधार समितिको नाममा महर्जनले बिहान करीब साढे ४ बजेबाटै सडक खन्न लगाएका थिए । सडक विभागअन्तर्गत पर्ने सडकमा बीच भागबाट दायाँबायाँ ११–११ मिटर छोड्नुपर्ने कुरालाई समेत महानगरपालिकाले उपेक्षा गरेको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सडक पेटी भत्काउन लगाएका थिए । 

पेटीमा डोजर चलाउने क्रममा केहीबेर बिरोध समेत भएको थियो । मेयर चिरिबाबु महर्जनले अदालतको आदेशको उपेक्षा गर्दै छापामार शैलीमा सडक भत्काएपछि स्थानीयलाई हिंडडुल गर्न समेत समस्या भएको छ । मेयरले प्रतिशोधी भएर सडक भत्काउन लगाएको भन्दै महानगरपालिकाकै कर्मचारीहरूसमेत असन्तुष्ट बनेका छन् । 

चिरिबाबु २०३८ सालमा पनि सोही ठाउँबाट वडाध्यक्ष बनेका थिए । त्यसबेला समय फल्चा भन्ने पाटी कुन ठाउँमा थियो ? भन्ने कुरामा पहिचान गरेर पुनःनिर्माणमा ध्यान नदिएका उनले अहिले भने पाटी बनाउने नाममा तमासा गरेका हुन् । लालीगुराँस रहेको भवन ललितपुर महानगरपालिकाकै अनुमतिमा बनेको हो । लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सार्वजनिक संस्थाको संरक्षण गर्नुपर्ने निकाय र जिम्मेवार व्यक्तिले नै अदालत र विभिन्न सरकार निकायको निर्देशनलाई अटेर गर्दै अवैधरुपमा सडक भत्काउने काम गर्नु लज्जास्पद घटना भएको बताएका छन् । 

सडक मापदण्डभित्र पर्ने जमीनमा कुनै पनि संरचना बनाउन नपाइने कुराको ज्ञान हुँदा हुँदै र सडक विभागदेखि जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई समेत लत्याएर सडक खन्नु गलत हो भन्दै यसबाट भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति मेयर चिरिबाबु महर्जनले गर्नुपर्ने बताए । मेयर महर्जनको कामप्रति सोही वडाका वडाध्यक्ष गोपाल महर्जनसमेत सहमत छैनन् । उनले पाटी पुनर्निर्माण गर्ने हो भने पहिला उत्खनन् गर्नुपर्ने बताउँदै मेयरले मनोमानी गरेको बताएका छन् । 

विक्रम संवत २०६८ साल मंसिर २५ गते बसेको उप–महानगरपालिकाको बोर्डको बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको, काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११–११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने उल्लेखे थियो ।

साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत चिरिबाबुले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन । 

Advertisement

Advertisement