स्याउ बीमामा करोडौं घाटा, तर शिखर इन्स्योरेन्स भन्छ– आकर्षण बढ्दै छ

Advertisement

काठमाडौं । पछिल्लो सयम मौसमी सूचांकमा आधारित स्याउ बीमामा ह्वात्तै आकर्षण बढेको शिखर इन्स्योरेन्स कम्पनीले दाबी गरेको छ । कम्पनीले विगतमा स्याउ बीमाको सुरूवात गर्दा बीमितको आकर्षण न्यून रहे पनि अहिले ह्वात्तै आकर्षण बढेको जनाएको हो ।

शिखर इन्स्योरेन्स कम्पनीका डेपुटी जनरल म्यानेजर (डिजिएम) उदित काफ्लेले कर्पोरेट नेपालसँग भने, ‘पहिले पहिले स्याउको बीमा गर्नेभन्दा यहाँ धेरैले अचम्म मानेका थिए । अहिले स्याउ बीमा गरेर बीमाङ्क पाउनु भएका किसान दाजुभाईले नै यो बीमा आवश्यक छ भन्न थाल्नुभएको छ । पछिल्लो समयमा यसमा धेरै नै आकर्षण बढेको छ ।’

Advertisement

कृषि बीमाको क्षेत्रमा नेपालमा गर्न धेरै काम बाँकी रहेको र त्यसमा सम्बन्धित निकाय तथा सरकारले नै निकै ध्यान पुर्याउनु पर्नेमा उनले जोड दिएका छन् । हाल जुम्ला, कालिकोट, मुगु, डोल्पा र मुस्ताङका किसानले स्याउ बीमा गर्दै आएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीले मौसम सूचांकलाई आधार बनाएर बीमा योजना सञ्चालन गरिरहेको छ । उक्त व्यवस्था अन्य कम्पनीमा छैन् । मौसम गडबढीले क्षति पुर्याएको अवस्थामा सो क्षतिको बीमाङ्क कम्पनीले दिनेगर्छ । आर्थिक वर्ष २०७२–७३ बाट शिखर इन्स्योरेन्सले मौसमी सुचांकमा आधारित बीमा योजना सञ्चालनमा ल्याएको हो । उक्त आर्थिक वर्षमा कम्पनीले तीन लाख ६० हजार ७३३ रूपियाँ बीमाशुल्क संकलन गरेको थियो । हालसम्म कम्पनीले तीन करोड ८७ लाख रूपियाँ बीमाशुल्क संकलन गरेको छ । पछिल्लो समय सोही उत्पादनमा मूल्यमा हुने बीमामा कम्पनीले केही स्थानमा धान बीमा समेत सुरू गरेको छ ।

तर कम्पनीले स्याउ बीमाका लागि हालसम्म चार करोड ५७ लाख ७४ हजार रूपियाँ बीमाशुल्क बुझाएको अवस्था छ । यसरी हेर्दा कम्पनी बीमा शुल्कबाट हुने आम्दानीभन्दा बीमाङ्कमा तिर्ने खर्च धेरै रहेको तथ्यांकमा देखिन्छ । तर कम्पनीले बीमितको आकर्षण पनि पहिलेको तुलनामा बढेकोले यस बीमा योजनालाई निरन्तरता दिनु आवश्यक रहेको तर्क गरेको छ ।

कसरी हुन्छ मौसमी सुचांकमा आधारित स्याउ बीमा ?
मौसमी सूचांकमा आधारित बीमामा बाली लगाउँदादेखि काट्दासम्मको लागत मूल्यको मात्र बीमा हुनेगर्छ । यस बीमाले रक्षावरण गर्ने जोखिम भनेको आगलागी, चट्याङ, दुर्घटना, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो आँधीबेरी, असिना, हिउँ, तुषारो, किरा तथा रोगबाट हुने क्षति हुन् । 

कम्पनीले बर्षात कम भएर हुने सुख्खा, खडेरी पार्ने असरको बीमा हुने जनाएको छ । उक्त जोखिमको बीमा अवधि भने चैतदेखि जेठसम्मलाई तोकिएको छ । दाबीयोग्य हुने अवस्था भनेको सम्बन्धित मौसम केन्द्रमा भएको अभिलेखअनुसार बीमा अवधिको जम्मा वर्षात ६० मिलिमिटर भएमा बीमांक रकमको एक दशमलब ६७ प्रतिशत रकम बीमितले पाउँछन् भने ३१ मिलिमिटरम्म वर्षात भएमा बीमांकको ५० प्रतिशतसम्म रकम बीमितले पाउने व्यवस्था छ । 

त्यस्तै, बीमा अवधिभरी एक मिलिलिटरसम्म वर्षात भएमा सय प्रतिशत तोकिएको सबै बीमांक पाउने व्यवस्था छ । पछिल्लो समय बीमितले बीमा अवधिभित्र सम्बन्धित मौसम केन्द्रबाट बीमा अवधिमा मौसमी सूचाङ्क नै गडबढी भएमा बीमा रकम के हुन्छ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । कम्पनीले त्यस्तो विशेष अवस्थामा एक वा एकभन्दा बढी वर्षातको अभिलेख प्राप्त हुन नसकेमा सम्बन्धित मौसम केन्द्रका मौसमी तथ्यांक मापन गर्ने प्राविधिक कर्मचारीले दक्षताको, अनुभव, अन्य मौसमी सुचना तथा सोको तथ्यांकीय विश्लेषणबाट अभिलेख दिइने जनाएको छ । 

स्याउ बीमाको सूचांक सम्बन्धी मापदण्ड मापन गर्ने कार्यमा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त तथ्यांकको प्रयोग गरिने शिखर इन्स्योरेन्स कम्पनीको भनाई छ । 

Advertisement

Advertisement