पशु बीमामा लुटः ८० हजारको बोयर बाख्रालाई तीन लाखको बीमा

Advertisement

काठमाडौं । बोयर प्रजातिको बाख्रा बीमामा समस्या देखिएको छ । निर्जीवन बीमाको स्वास्थ्य तथा यातायात बीमा अस्वस्थ हुने आरोप लाग्दै गर्दा बोयर बीमामा पनि समस्या रहेको बीमा कम्पनीले खुलासा गरेका छन्।

शिखर इन्स्योरेन्स कम्पनीका उपमहाप्रवन्धक उदित काफ्लेले कर्पोरेट नेपालसँग भने ‘सक्कली बोयरको करिब तीन लाख रूपियाँ पर्ने भए पनि क्रस ब्रिड गरिएका जम्मा ८० हजार रूपियाँ पर्ने बाख्रालाई सक्कली बोयर भन्दै बीमा हुने गरेको छ ।’ यस्तो विकृतिले गर्दा वास्तविक किसानलाई छुट्याइएको अनुदान नपाउने र पहुँचवाला तथा अनुदानका लागि किसान हुँ भन्दै कागज तयार गर्नेले मात्रै फाइदा उठाउने गरेको पनि उनले बताए ।

Advertisement

निर्जीवन बीमा कम्पनीहरूका अनुसार बोयर बाख्राको बीमामा समस्या छ । अहिले बोयर बाख्राको बीमामा विकृति देखिएकोले यसलाई तत्काल रोक्ने प्रयास गर्नुपर्ने बुझाई पनि काफ्लेको छ ।
पछिल्लो समय बीमामा आकर्षण बढ्नु सकारात्मक हो तर, यसमा हुने विकृतिलार्ई यथाशीघ्र रोक्नु पर्ने उनको भनाई छ । 

विदेशबाट सक्कली बाख्रा ल्याउने र नेपाली लोकल बाख्रसँग मिसिएका नक्कली पाठा उत्पादन गर्दै बीमा गर्नुले बीमामा छली काम भएको सरोकारवालाहररूले बताएका छन् ।
तर यता बीमितले पनि निर्जीवन बीमा कम्पनीले अधिकांश अवस्थामा क्षतिको फोटो मागेर हैरान बनाउने गरेको गुनासो गर्छन् । बीमित र कम्पनीबीच यस्ता अधिकांश समस्याका विषयमा जुहारी चलिरहदा बोयर बाख्राको बीमामा पनि समस्या रहेको खुलासा भएको हो ।

बीमा कम्पनीले सस्तो दामको बाख्रालाई महंगो बाख्रा हो भनेर बीमा गर्दा त्यसले बीमाको छवि नै धमिल्याउने बताएका छन् । बीमाको सिद्धान्त नै रक्षावरण हुने भएकाले वास्तविक बजार बिगार्ने गरी कुनै पनि बीमा गर्न नहुनेमा बीमा समितिले पनि जोड दिएको छ । 

बीमा समिति भने पछिल्लो समय बीमा समिति अस्वस्थ प्रतिस्पर्धा रोक्न दौडधुप गरिरहेको भएपनि यस्ता विकृति भने अझै रोकिएको छैन् । जीवन बीमा क्षेत्रमा पनि समितिले उधारो बीमा रोक्न तीन पटकसम्म एउटै निर्देशन जारी गरेको अवस्था छ । अझै यस्तो बीमा रोकिएको छैन् ।

बीमा कम्पनीहरुले स्वस्थ प्रतिस्पर्धा गरुन र बजार नबिगारुन भनेर बीमा समितिले सल्भेन्सी मार्जिनसमेत तोकेको छ । तर, निर्जीवन बीमामा भने यस्ता समस्या पटक पटक बल्झिरहेको देखिन्छ। बीमा गरेको पशुलाई ट्याग (बीमा कम्पनीले चिन्ह) लगाउने चलन छ । उक्त पशुको दाबी भुक्तानी लिनु परेमा सोही ट्यागलाई आधार बनाउने गरिन्छ । कतिपय अवस्थामा बीमितले आफ्ना पशु चोरी भएको, बाघले खाएको वा नभेटिने गरी भीरपाखामा मरेको भन्दै बीमांकमा धाउने गरेको बीमा कम्नपीहरू बताउँछन्।

बीमा समितिले बोयर बाख्रामा देखिएको यस्तो समस्या सुल्झाउनुपर्ने र सम्बन्धित बीमा कम्पनीहरूले नै बाख्राको वास्ताविक मूल्य निर्धारण गरेर मात्रै बीमा गर्नुपर्ने बताएको छ ।


 

Advertisement

Advertisement