काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका मेयर केशब स्थापितले मनमोहन अधिकारी नेतृत्वको तत्कालिन नौ महिना सरकार जोगाउने क्रममा साँसद किनबेचका लागि आफूले १० करोड रुपियाँ व्यापारीबाट उठाएको खुलासा गरेका छन् ।
योहो टेलिभिजनको एक कार्यक्रममा उनले तत्कालिन नौ महिने सरकारविरुद्ध नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उक्त प्रस्ताव विफल बनाउने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का साँसद किन्नका लागि तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री माधव नेपालले आफूलाई करोडौं रुपियाँ संकलन गर्न दबाब दिएको र आफूले १० करोड रुपियाँ संकलन गरेर पार्टीलाई दिएको बताए ।
यसरी साँसद किनबेच गरेर सत्ता टिकाउन संभव नै छैन भन्दा पनि माधव नेपालले यो अप्ठ्यारोमा सहयोग गर्नुस भन्दै आफूलाई दबाब दिएको बताउँदै स्थापितले आफ्नो छिमेकी व्यापारी प्रकाश तिब्रेवाला, आनन्द आग्रवाल र अर्का एकजनासहित पाँच करोड रुपियाँको पैसाको बोरा लिएर माधव नेपालको पुल्चोकस्थित मन्त्री क्वाटरमा गएको, त्यहाँ पुगेपछि उनले वामदेव गौतमलाई लगेर दिनु भनेको खुलासा गरे ।
पैसा उठाउन दबाब दिने क्रममा ‘डाङडुङ गर्नसक्ने तपाईं नै हो, उठाउनुपर्छ’ भन्दै माधव नेपालले अन्य केही मन्त्रीहरूलाई समेत साक्षी राखेर पैसा उठाउन लगाएको स्थापितको भनाई छ । अर्का एक व्यापारी गुरुप्रसाद न्यौपानेसँग कुरा गर्दा उनले पैसा दिन नमानेको पनि उनले बताए । स्थापितले नेतृत्वले भनेपछि आफूले अपवित्र काम गर्नुपरेको बताए ।
उनले साँसद किन्ने क्रमम राप्रपाका १२ साँसद वाशु गिरीको घरमा राखेको र बाँकीलाई अन्य ठाउँमा राखेको सुनाउँदै तर पछि त्यो प्रयास सफल नभएर संसद विघटनको सिफारिस गर्नुपरेको बताए । पछि त्यो पैसा को–कोस्ले खायो ? आफूलाई थाहा नभएको स्थापितले बताए ।
पछि माधव नेपालले साँसद किनबेचमा किन लाग्नुभएको ? मैले भने पनि तपाईं जत्तिको युवाले हुँदैन भन्नुपर्छ नी भनेर उल्टै हप्काएको सुनाउँदै स्थापितले साँसद किनबेचका कारण आफू बदनाम हुनुपरेको भनेर माधव नेपालले उल्टै गुनासो गरेको बताए ।
त्यस क्रममा पैसा दिने आनन्द अग्रवाल बैंकको पैसा तिर्न नसकेर भारत निर्वासित हुनुपरेको अन्य व्यापारीको पनि उठिवास भएको सुनाए ।