नाडा भन्छ– नेपालमा अब अटोमोवाइल उद्योगहरूको उदय हुन्छ

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरूको संस्था नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले सरकारले ल्याएको परिमार्जित बजेटले नेपालमा अटोमोवाइल उद्योगहरूको उदय हुने बाटो खुलेको प्रतिक्रिया दिएको छ । 

सरकारले चालु आर्थिक बर्षको बजेटलाई प्रतिस्थापन गर्न विधेयक जारी गरेसँगै नाडाले आइतबार पत्रकार सम्मेलन गरेर यसबाट नेपालमा अटो मोवाइल उद्योगहरू स्थापना गर्न सहज भएको बताएको हो । 
 
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफूहरूले नेपालमा एसेम्ब्लिङ प्लानहरू स्थापना गर्न अन्तःशुल्क र भन्सारमा छुटको आग्रह गर्दै आएकोमा सरकारले अहिले सो कुराको सुनुवाई गरेको भन्दै यो नेपालको अटोमोवाइल क्षेत्रका साथै समग्र अर्थतन्त्रका लागि सकारात्मक कुरा भएको बताए । 

Advertisement

नाडाले झण्डै एक दशक अघिदेखि नै सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएको थियो । प्रतिस्थापन विधेयकमा एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेपछि नाडाले त्यसको स्वागत गरेको छ । 

सरकारको यस निर्णयले नेपालमा सवारी साधन एसेम्ब्लिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा राखेको भन्दै दुलालले विधेयक सकारात्मक भए पनि एसेम्ब्लिङ उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन नियमहरूको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने बताए । 

नाडाका पदाधिकारीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका बजेटमार्फत गरिएको व्यवस्था सकारात्मक भए पनि यसको स्थायित्व महत्वपूर्ण हुने बताए । सरकार परिवर्तन हुनासाथै नीति परिवर्तन भए त्यसले उद्योग स्थापना गर्न कठिनाई हुने उनीहरूको गुनासो छ । 

मोटरसाइकलको मूल्य बढ्ने कुरामा दुई मत
कोरोना महामारीको समयमा मध्यमवर्गीय परिवारको अत्यावश्यक सवारी साधन मोटरसाइकलमा कर बढाएकोमा अटो व्यवसायीले असन्तुष्टि जनाएका छन् । 

मोटरसाइकलको प्रयोगमा अत्यधिक बृद्धि भएको र सरकारले यसलाई थप प्रोत्साहन गर्नुपर्ने बेलामा सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल बढाउने काम गरेको भन्दै उनीहरूले यसबाट विशेषगरी मध्यम वर्गीय परिवारलाई थप आर्थिक भार पर्ने बताए । 

नाडाका अध्यक्ष दुलालले भने, ‘मोटरसाइकलमा भइरहने करका दरको परिवर्तनले प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई उनीहरू अलमलमा समेत पर्ने भएकाले सरकारले गत बर्ष कायम गरेको करका दरलाई नै निरन्तरता दिनु राम्रो हुन्छ ।’ 

तर नेपालमा टिभिएस ब्राण्डका मोटरसाइकल बिक्री गर्ने जगदम्बा मोटर्सका सञ्चालक साहिल आग्रवालले प्रतिस्थापन विधेयकबाट मोटरसाइकलको मूल्य बढ्ने नभए बरु घट्ने बताउँछन् । उनका अनुसार बजेटमा १२५ सीसीमा कर नबढेको र दुईसय सीसीसम्म बढाएको १० प्रतिशत कर लगाए पनि बजाज र टिभिएसको एसेम्ब्लिङ प्लान्ट स्थापना भइसकेको, अन्यको पनि स्थापना हुने क्रममा रहेकाले अहिलेको बजेटले त्यस्ता प्लान्टका लागि पार्टपुर्जा आयातमा ५० प्रतिशत छुट दिएकोले स्वतः मूल्य घट्ने बताए । 

Advertisement

Advertisement