सामाजिक सुरक्षासँग ३५ अर्ब, योगदानकर्तालाई प्रतिफल दिने आकर्षक आयोजना खोज्दै सरकार

Advertisement

काठमाडौं । समाजिक सुरक्षा कोषको रकम बढ्दै गएपछि लगानी गर्न भन्दै सरकारले आकर्षक योजनाको खोजी सुरु गरेको जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा कोषमा पैसा जम्मा मात्रै भएको तर दीर्घकालिन योजनामा लगानी नभएकोले योगदानकर्तालाई प्रतिफल दिने आकर्षक योजनाको खोजी भइरहेको बताएका छन् । 

उनले योगदानकर्ताको रकमबाट आकर्षक योजनामा लगानी गर्ने र त्यसैबाट प्रतिफल दिने योजना अगाडि सारिएको अर्थमन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । कोषमा हालसम्म करिब ३५ अर्ब रुपियाँ जम्मा भइसकेको छ । 

Advertisement

कोषमा सामाजिक सुरक्षा कर, योगदानमा आधारित सामाजिक सुरक्षा योजना र राष्ट्रियस्तरको कल्याणकारी कोषमार्फत रकम जम्मा हुने व्यवस्था छ । यस्तो रकम के कसरी परिचालन गर्ने ? भन्ने विषयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमै व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाअनुसार ऋणपत्र, सेयर, परियोजना, योगदानकर्तालाई सापटीसहितका दर्जन वटा लगानीका क्षेत्र रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थी बताउँछन् ।

यस्ता क्षेत्रमा कोषको लगानी कार्यविधि २०७५ ले नै गरेको व्यवस्था अनुसार हुनेछ । यसको विस्तृत मार्गदर्शन पनि बनिरहेको कोषले जनाएको छ । योगदानकर्तालाई दिने रकम के कसरी कति दिने ? भन्ने प्रक्रियासहितको मार्गदर्शन बनाउन एक उपसमिति नै गठन भएको छ । 

कानून मन्त्रालय सहसचिव तथा सामाजिक सुरक्षा कोष सञ्चालक समितिका सदस्य हुमबहादुर केसीको संयोजकत्वमा गठन भएको चार सदस्यीय उपसमितिले काम गरिरहेको छ । यसले चार–पाँच वटा कार्यविधि बनाउने भएकोले केही समय लागेको जनाइएको छ । 

लगानी कार्यविधिअनुसार कोषले सहवित्तीयकरणमा लगानी गर्न सक्ने छ । यही व्यवस्था अनुसार लगानी गर्न आकर्षक योजनाको खोजीमा कोष रहेको पन्थी बताउँछन् । कुनै कम्पनीमा कोषले लगानी गर्ने हो भने सम्बन्धित कम्पनीले सामाजिक सुरक्षा कोषमा लगानीको योजना पेश गर्नुपर्छ । त्यस्तो योजना भने अहिलेसम्म औपचारिक रूपमा कोषमा पेश नभएको उनले बताए । 

लगानी योजना कोषमा आएपछि सामाजिक सुरक्षा सञ्चालक समितिमा लगेर स्वीकृत गराउनुपर्ने हुन्छ । बोर्डले लगानी गर्ने निर्णय गरेको आधारमा मात्रै लगानीको विषय सार्वजनिक हुने पनि पन्थीले बताए । उनका अनुसार हालसम्म गरेको लगानी ऋणपत्र र मुद्दती खातामा मात्रै लगानी भएको छ । 

योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा सात अर्ब र राष्ट्रियस्तरको कल्याणकारी कोषमा २८ अर्ब रुपियाँ जम्मा भएको पनि कोषले जानकारी दिएको छ । ‘कोषले ब्याज मात्रै खाएर बस्ने पक्कै होइन्, यसले दीर्घकालिन लाभ दिने योजनामा नै जाने हो’, पन्थीले बताए ।

कोभिडका कारण आयोजना पहिचान गर्न र उपयुक्त योजना छनोट गर्न ढिलो भएको कोषको तर्क छ । तर, कोषमा आयोजना नआएको र सरकारले तय गरेको हो भने त्यो कोषमा आइनपुगेको पनि हुनसक्ने बुझाई पनि पन्थीको छ । पूर्वतयारी कोषलाई जानकारी हुँदैन भने सरकारीस्तरबाट हुने र राष्ट्रिय योजना आयोजनामा रहेको प्रोजेक्ट बैंकसहितमा छलफल र चर्चा भएको हुनसक्ने विषयको जानकारी भने कोषमा औपचारिक प्रस्ताव बनेपछि मात्रै आउने पनि कोषका प्रवक्ता पन्थीले जानकारी दिए । 

Advertisement

Advertisement