नेकपा एमालेका सांसदहरुको अवरोधका बीच विनियोजन विधेयक स्वीकृत

Advertisement

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । 

बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए । 

Advertisement

शोक प्रस्ताव पारित
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा राष्ट्रियसभामा मनोनीत सदस्य स्व राणा भारतका लागि पूर्वराजदूतसमेत थिए । उनी राष्ट्रिय खेलकूद परिषद्को पूर्वसदस्यसचिवसमेत थिए । उनको ८६ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको थियो ।

संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी  असोज ४ गते बिहान ११ बजे बस्नेछ । रासस

Advertisement

Advertisement