बीमामा कर्मचारी अभावको पीडाः आवेदन नपरेपछि अर्काको कार्यालय अगाडि होडिङ बोर्ड

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा कर्मचारी अभाव भएपछि कम्पनीले विगत केही महिना अगाडि लोकसेवा आयोगमार्फत कर्मचारीको माग गर्यो । तर कम्पनीले अपेक्षा गरेअनुसार आवेदन परेन । त्यही क्रममा नेपाल पुनर्बीमा कम्पनीमा काम गरिरहेका कर्मचारीलाई हिमालयन पुनर्बीमा कम्पनीले तानिदियो । 

आफ्ना अनुभवी कर्मचारी तानिएनुको पीडा त पुनर्बीमाले सहदै आएको थियो । कर्मचारी अभावकै कारण कम्पनीमा द्धन्द्धसमेत बढ्ने खतरा बढेको छ । नेपाल पुनर्बीमाले अहिले कर्मचारीको चरम अभाव भोग्न बाध्य भएको छ । बीमा बजार प्रतिस्पर्धी बन्दै गएको र पुनर्बीमामा आफ्नो एकाधिकार तोडिएको कारण नेपाल पुनर्बीमालाई एकपछि अर्को समस्या थपिएको छ । 

Advertisement

सोही समस्या समाधान गर्न कम्पनी तात्न थालेको छ । कर्मचारी पदपूर्ति गर्न आवेदन गरेअनुरूप आवेदन नपरेको भन्दै नेपाल पुनर्बीमाले पदपूर्तिको लागि नयाँ रणनीति अपनाएको छ । त्यो हो बीमा क्षेत्रको नियामक बीमा समिति र राष्ट्रिय बीमा कम्पनीको ढोका अगाडि दरखास्त आव्हानको विज्ञापनको होर्डिङ बोर्ड राख्ने ।

बीमा समितिका अधिकारीले आफ्नो कार्यालय अगाडि ल्याएर होडिङ बोर्ड राख्ने कुरा त्यति उचित नभएको गुनासो गरेका छन् । यता राष्ट्रिय बीमा कम्पनी अगाडि राखिएको होर्डिङ बोर्ड कम्पनीका कर्मचारीले पटक पटक पल्टाइ दिएको गुनासो नेपाल पुनर्बीमाले गर्ने गरेको छ । 

नेपाल पुनर्बीमाले आफ्ना अब्बल कर्मचारीलाई लोभ्याएर लगिएकाले बाध्य भएर होडिङ बोर्ड राख्नुपरेको बताएको छ । तर राष्ट्रिय बीमा कम्पनीले भने आफ्नो कार्यालय अगाडि ल्याएर विज्ञापन राखेको भन्दै आपत्ति जनाएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले कर्मचारी अभाव भएका कारण आफूले बाध्य भएर विज्ञापन राख्नुपरेको बताउँदै बरू आफू कारबाही भोग्न तयार रहेको तर बोर्ड नहटाउने बताउँछन् ।    

रायमाझीको भनाई जस्ताको तस्तैः

हामीले होर्डिङ बोर्ड राख्न जरूरी भएर राखेका हौं । हामीले बीमा समिति, राष्ट्रिय बीमा कम्पनी र बीमा संस्थानको गेट अगाडि राखेका छौं । पत्रिकाको आवेदनबाट कोही पनि आएनन् । हामीलाई त थाहा नपाएर हो कि जस्तो लाग्यो । अब पुनर्बीमा कम्पनीमा काम गर्न सक्षम कर्मचारी बीमा समिति, बीमा कम्पनीमै छन् जस्तो लाग्यो । त्यसैले सबैले देख्ने गरी राखेका हौं । 

हामीले सबैले देख्ने गरी गेटमा विज्ञापन राखेका थियौं । कस्ले छतमा पुर्याएको रहेछ । यहाँ जसले पनि होर्डिङ बोर्ड फाल्न सक्छ । च्यात्न पनि सक्छ । यहाँ जस्को शक्ति उसकै भक्ति छ भन्दा हुन्छ । होर्डिङ बोर्डको राख्नुको कारण योग्यता पुगेका मान्छेले आवेदन नदिएपछि त्यस्ता सक्षम मान्छे कहाँ कहाँ छन् ? भनेर खोज्नका लागि हो । 

Advertisement

Advertisement