बजेट पास नहुँदा मुलुक अप्ठ्यारोमा पर्यो, दलहरूले विश्व हँसाएः मल्ल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट पास नभएर सरकारको खर्च प्रणाली नै रोकिने अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्नको लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले दलहरुबीच चाँडै सहमति हुनुपर्ने बताए । 

मल्लले भने, ‘सरकारको नेतृत्व परिवर्तन हुँदैमा असर हुनुभएन । सरकारी पुँजी दरिलो हुनुपर्छ । मुलुकको खर्च चलायमान हुनुपर्छ । हिजो जुन किसिमको संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बेमेलको कारण मुलुक अप्ठ्यारोमा छ । मुलुक चलायमान र जिडिपी ग्रोथ गर्न खर्च गर्ने काम पनि समयमै हुनुपर्छ । विकास निर्माणको काम समयमै नहुने भएकोले वर्षौदेखि समस्या छ ।’

Advertisement

असोज ४ गतेसम्म दलहरुबीच सम्मती हुने मल्लको आशा छ । उनले भने, ‘संसद् बन्द गरेर अध्यादेशबाट ल्याउने पनि अवस्था छ । विश्व र छिमेकी हास्नेगरि काम नगरौं । सिसिडिको कुरा छ, ८५ प्रतिशत थियो । तर पछि एक महिना भयो ९० प्रतिशत । ब्याजदर धमाधम बढिरहेको छ । अर्थतन्त्रमा असर परेको छ । नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको छ । मुलुकलाई डेडलकमा राख्नुहुँदैन् । मुलुक आत्मनिर्भर बन्नुपर्छ । र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ ।’

विपक्षीको विरोधका कारण सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित भएको छैन् । तर, प्रतिनिधि सभाले बजेटलाई सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तोमा सरकारले बजेट खर्च गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न खडा भएको छ । 

संविधानको धारा ११४ अनुसार अध्यादेश ल्याएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकार नगरे निष्क्रिय हुने व्यवस्था छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओलीको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश गरिसकेको छ । प्रतिस्थापन विधेयकले अहिलेसम्म कानुनी मान्यता पाएको छैन् । प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेश पेश भएको आज ६० दिन पुगेको छ । अध्यादेश पनि निष्क्रिय हुने र प्रतिस्थापन विधेयक पनि पारित नभएको अवस्थामा सरकारलाई खर्च गर्न मिलेको छैन् । 

Advertisement

Advertisement