राष्ट्रिय बीमा कम्पनीमा प्रतिस्पर्धाबाट सीईओ नियुक्ति हुन नदिने अर्थमन्त्रालयको तयारी

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)खुल्ला प्रतिस्पर्धा ल्याउने कम्पनी सञ्चालक समितिले तयारी गरे पनि अर्थमन्त्रालयले हस्तक्षेप गरेर सोझै नियुक्ति गर्ने तयारी गरेको छ । 

कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले कर्पोरेट नेपालसँग भने, ‘हामीले खुल्ला प्रतिस्पर्धाबाट सीईओ ल्याउन सकियो भने कम्पनीमा राम्रो काम हुन्छ । प्रतिस्पर्धा गर्नुपर्ने कम्पनीमा प्रतिस्पर्धाबाट ल्याउन सकियो भने राम्रो हुन्छ भन्ने सोचाई राखेको हो । तर अहिले अर्थ मन्त्रालयले सीईओ ल्याउन तपाईंहरू हतार नगर्नुस् भनेको छ ।’

Advertisement

अर्थ मन्त्रालयले एक–दुई दिनमा सोझै सीईओ नियुक्ति गरेर पठाउने तयारी गरेको बुझिएको छ । सरकारले सोझै नियुक्त गरेर पठाएको भन्दा प्रतिस्पर्धाबाट आएको सीईओले राम्रो काम गर्नसक्ने विश्वास सञ्चालक समितिमा देखिए पनि अर्थ मन्त्रालयले हस्तक्षेप गर्न लागेको हो । 

अध्यक्ष उपाध्यायले सार्वजनिक सुचनामार्फत नै सीईओ नियुक्ति गरेर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने लागेको बताए । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरू पनि जति सक्दो चाँडो योग्य सीर्यओ नियुक्त भएर आइदिए हुन्थ्यो भन्ने पक्षमा छन् । व्यवस्थापन तहमा नेतृत्व गर्ने मानिस भएन भने कम्पनीको काम प्रभावकारी हुन नसक्ने उनीहरूको भनाई छ । 

राष्ट्रिय बीमा कम्पनीमा सरकारी स्वामित्व धेरै भए पनि जनताको पनि लगानी भएकाले उनीहरूले कम्पनीमा काम कसरी भइरहेको छ ? नाफा गर्न सकेको छ छैन् ? कस्तो सीईओ नियुक्त भएको छ ? भन्ने कुरामा चासो राख्ने भन्दै जानकारहरू निजी क्षेत्रका कम्पनीहरू तीब्र प्रतिस्पर्धामा रहेको बेला राष्ट्रिय बीमा कम्पनी पनि सोही गतिमा चल्नसक्नुपर्ने र त्यसका लागि सक्षम व्यवस्थापक चाहिने बताउँछन् । 
 
सञ्चालक समितिले योग्य व्यक्ति आफूहरूले नै छान्न पाएमा बाँकी रहेका धेरै काम गर्न सहज हुने बताएको छ । बिना प्रतिस्पर्धा ल्याइएको व्यक्ति विवादित खालको भए भोलि कम्पनीको कामकारवाही लथालिङ्ग हुनथाल्ने चिन्ता समितिको छ । तर समितिको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्मा सहमत छैनन् । उनले आफूले चाहेको व्यक्ति कम्पनीमा सीईओ नियुक्त गरेर पठाउने तयारीमा रहेको स्रोतको दावी छ । 

राष्ट्रिय बीमा कम्पनीमा बिगत १० बर्षदेखिको लेखापरीक्षण हुन सकेको छैन् । राष्ट्रिय बीमा संस्थानबाट अलग्गिएसँगै धेरै हिसावकिताव मिलाउन नसकेको कम्पनीको लेखापरीक्षण बाँकी हुँदा साधारणसभा गर्ने र लगानीकर्तालाई लाभांश वितरण गर्ने कुरा समेत अलपत्र पर्दै आएको छ । 

लेखापरीक्षण गर्ने समस्या समाधान भएमा आफूहरू एक नम्बरमा आउने विश्वास अध्यक्ष उपाध्यायको छ । उनले भने, ‘अहिले कम्पनीको अवस्था नराम्रो केही छैन । विभिन्न सूचांकमा निजी कम्पनी भन्दा हामी अब्बल बन्ने ठाउँहरू प्रशस्तै छन् । तर त्यही लेखापरीक्षण हुन नसकेको भनेर अर्थमन्त्रालयले पनि सीईओ नियुक्तिमा आफैले निर्णय गर्न खाजेको हुनसक्छ ।’

सीईओ बन्न चाहिने योग्यता
राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्तिका लागि सिफारिस गर्न गठन गरिने समितिले सिफारिस गरेको आधारमा सञ्चालक समितिले सीईओ नियुक्ति गर्ने कानुनी व्यवस्था छ । त्यस्तो समितिले सर्वप्रथम सूचना जारी गर्छ । सोही सूचनाका आधारमा सीईओको आवेदक प्राप्त भई योग्यता र क्षमताका आधारमा उनीहरूलाई सर्टलिष्टिङ गर्ने र योग्य उम्मेदवारलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न लगाइन्छ । 

कम्पनीको सीईओ हुन बैंक तथा वित्तिय संस्थामा मात्रै काम गरेको भए आठ वर्षको अनुभव, बैंक र बीमामा गरेको भए (बैंकको एक वर्षदेखि) कूल सात वर्षको अनुभव चाहिन्छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसारको मापदण्ड पूरा गर्ने उम्मेदवार कम्पनीको सीईओ बन्नसक्छ । 

राष्ट्रिय बीमा कम्पनीमा सुरुमा सीईओ भएका वीरबिक्रम रायमाझीले ७५ हजार रूपियाँ तलब तथा ७५ हजार रूपियाँ भत्ता गरी डेढ लाख रूपियाँ पारिश्रमिक बुझ्थे । अहिले सीईओको कार्यसम्पादन मूल्यांकनका आधारमा थप प्रोत्साहन रकमसमेत पाउने व्यवस्था गरिएको छ । यसअघि कम्पनीको सीईओ भएर अर्थमन्त्रालयबाट काजमा आएका डा. डिल्लीराज अर्यालले कम्पनीबाट तलब सुविधा लिन्थेनन् । 

Advertisement

Advertisement