पटक पटक हात पर्न लागेको व्यवसाय गुमाउँदै राष्ट्रिय बीमा कम्पनी, फेरि  ७२  करोड गुम्दै

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ७२ करोड रूपियाँ बराबरको व्यवसाय हात पर्न लागेको बेलामा आफ्नै कमजोरीका कारण फुत्किन लागेको स्वीकार गरेको छ । कम्पनीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ७२ करोड रूपियाँ बराबरको व्यवसाय पाउने पक्का पक्की भए पनि अन्तिममा कुरा नमिलेको खुलासा गरेको हो ।

कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले कर्पोरेट नेपालसँग भने, ‘पुनर्निर्माण प्राधिकरणबाट हामीले ७२ करोड रुपियाँको व्यवसाय पाउने पक्का भईसकेको थियो । तर हाम्रै पूराना समस्याका कारण अघि बढाउन सहज भएन । हामीलाई दिने भनेर कार्यविधि नै तयार भइसकेको थियो ।’

Advertisement

उनले थपे, ‘हामीले हाम्रो म्यानेजर पठाएर छलफल पनि टुंग्याइसकेका थियौं, । बकाइदारूपमा ७२ करोड आउने भइसकेको थियो । त्यो पनि एक चेकमा । तर, अर्थमन्त्रालय हामीसँग खुशी नभकै कारण त्यो त्यतिकै रोक्का हुन पुग्यो ।’ उपाध्यायले राष्ट्रिय बीमा कम्पनीले हात पारेको व्यवसाय बचाउन नसकेको गुनासो पोखे । सोही व्यवसायको प्रशंग जोडदै कम्पनीले लेखापरीक्षणलगायतका समस्या समयमा नै समाधान गर्न नसकेको दुखेसो पोखेको छ । 

पछिल्लो समय निजी सम्पत्तिमा बीमाको आकर्षण बढिरहेको बेलामा सार्वजनिक सम्पत्तिहरू नै बीमाको पहुँचबाट बाहिर रहेको छ । सार्वजनिक सम्पत्तिको बीमा सिंहदरबारभित्र रहेका भवनहरूको बीमाबाट सुरु गर्नुपर्ने उपाध्यायको भनाई छ । 

विगतमा पनि बीमा कम्पनीले २८ करोड रूपियाँ बराबरको व्यापार गुमाएको थियो । कम्पनीले कर्मचारी संचय कोष र कम्पनीबीचको सम्झौता तोडिंदा व्यापार गुमाएको थियो ।  त्यस्तै, गएको आर्थिक वर्षमा पनि बीमा कम्पनीले सरकारी संरचना तथा कर्मचारीको ४० करोड रूपियाँ बराबरको बीमा गुमाउन पुगेको थियो । उक्त बीमा गर्न आफू सक्षम रहेको बताउँदा बताउँदै कम्पनी उक्त व्यवसाय गुमाउन बाध्य भएको थियो । 

सो समयमा मेडिकल तथा व्यक्तिगत दुर्घटना बीमा दुवैको व्यवसाय एक साथ हात पर्दा राष्ट्रिय बीमा कम्पनीलाई ४० करोड रूपियाँ बराबरको व्यवसाय थपिने अवस्था थियो । अहिले फेरि राष्ट्रिय बीमा कम्पनीमा पुरानो रोग बल्झिएको अवस्था छ । 

कम्पनीको संख्या बढ्दा व्यवसाय तानातान
पछिल्लो समय बीमा कम्पनीहरूमा एक अर्काको व्यवसाय खोस्ने प्रतिस्पर्धा बढेको छ । कम्पनीको संख्या धेरै भएकाले पनि व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको हो । सोही क्रममा राष्ट्रिय बीमा कम्पनीले भने आफूले पाएको व्यवसाय गुमाउने अवस्था आएको छ ।

केही निर्जीवन बीमा कम्पनीले आफ्नो प्रोडक्टलाई नै पहिचान बनाउन सफल भएका छन् । शिखर इन्स्योरेन्स हवाई बीमामा राम्रो पडक भएको कम्पनीको रुपमा चिनिन्छ भने नेको इन्स्योरेन्सको पनि हवाई बीमामा राम्रै पकड छ । प्रिमियर इन्स्योरेन्सलाई स्वास्थ्य बीमामा राम्रो पकड भएको कम्पनी मानिन्छ । त्यस्तै, सगरमाथा र नेपाल इन्स्योरेन्सलाई मोटर बीमामा राम्रो पकड भएको कम्पनी भनेर चिनिन्छ । 

तर पछिल्लो समय यी कम्पनीहरूले विगतको आफ्नो पहिचान हेरफेर भएको स्वीकार गरेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले स्वास्थ्य बीमाको हिसाबले विगतका सूचांकमा केही कमी भएको जानकारी दिएका छन् । त्यस्तै, शिखर इन्स्योरेन्सका डिजिएम उदित काफ्लेले पनि आफ्नो मुख्य पकड पशुपंक्षी बीमामा रहेको बताएका छन् । उनले दिएको जानकारीअनुसार पशुपंक्षी बीमामा मात्रै शिखर इन्स्योरेन्सको हिस्सा करिब ८० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement