दशैंमा सवारी साधन किन्दै हुनुहुन्छ ? यस्तो छ बैंकहरूको सवारी कर्जामा ब्याजदर

Advertisement

काठमाडौं । चाडवाड लक्षित सवारी साधन खरिदमा छुट र उपहारको योजना आउन थालेसँगै असोज १ गतेबाट लागू हुनेगरी बैंक तथा वित्तीय संस्थाहरूले नयाँ ब्याजदरसमेत घोषणा गरेका छन् । सामान्य अवस्थाको तुलनामा दशैं तिहार लक्षित सवारी व्यापार बढ्ने भएकोले सवारी विक्रेताहरूले अफर ल्याउने गरेका छन् । यस्तो अफरसँगै बैंकहरूले पनि व्यक्तिगत प्रयोजनका लागि ५० प्रतिशत र विद्युतीय तथा संस्थागत प्रयोजनमा ८० प्रतिशतसम्म कर्जा दिने गरेका छन् ।

बैैंकहरूले निश्चित अवधि र समय तोकेर दिने यस्तो ब्याजदर बैैंक र सवारीको प्रकार अनुसार फरक फरक दर हुने गरेको छ । वाणिज्य बैंकहरूले ५.८६ प्रतिशतदेखि १४.९० प्रतिशसम्म ब्याजदरमा व्यक्तिगत प्रयोजनका लागि अटो लोन दिन्छन । यस्तो ब्याजदर वाणिज्य बैंकहरूमा सबैभन्दा बढी कुमारी बैंकको १४.९० प्रतिशत लिने गरी सूचना जारी गरेको छ । यो बैंकको न्युनतम अटो लोनको व्याजदर नै ७.९० प्रतिशत रहेको छ ।

Advertisement

अटो लोनमा सबैभन्दा सस्तो ब्याजदर भने सरकारी बैैंक नेपाल बैंकको छ । यो बैंकले जम्मा ७.८९ प्रतिशतमै अटो लोन दिन्छ । यो बैंकले लिने न्यूनतम अटो लोन पनि ७.२८ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि विद्युतीय सवारीमा भने ६.९१ प्रतिशतमै मासिक ब्याज लिने गरी अटो लोन दिन्छ ।

निजी वाणिज्य बैंकमा सबैभन्दा सस्तो अटो लोन दिनेमा भने नबिल बैैंकले अटो फिक्स्ड लोन बापत पाँच वर्षको लागि ८.९९ प्रतिशतको ब्याजदरमा दिन्छ । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैैंकले पनि ९.७५ सम्ममै अटो लोन दिन्छ । यसको अवधि भने ५ वर्षको लागि हुन्छ । सिद्धार्थ, ग्लोवल आइएमई, माछापुच्छ्रे, प्रभु, सिभिल, एनसीसी, एभरेष्टसहितका केही बैंकहरूले भने नौ देखि १० प्रतिशतको बीचमा अटो लोन दिन्छन् ।

केही वाणिज्य बैंकभन्दा केही विकास बैंकले पनि सस्तो अटो लोन दिने गरेका छन् । साइन रेसुङ्गा विकास बैंकले अधिकतम ११.७१ प्रतिशतसम्ममै अटो लोन दिने छ । यो बैंकले न्युनतम ६.७१ प्रतिशतमै अटो लोन दिने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

विकास बैैंकमै सबैभन्दा महंगो अटो लोनको ब्याजदर सांग्रिला विकास बैंकको छ । यसले १७.५४ प्रतिशतसम्म अटो लोनको लागि ब्याज लिने गरेको छ । यस्तै फाइनान्सले पनि सस्तो लोनमा सवारी कर्जा दिन्छन् । बेस्ट फाइनान्सले १०.९५ प्रतिशतमै मासिक ब्याजदरमा अटो लोन दिन्छ । त्यसो त फाइनान्स कम्पनीले बढी ब्याजदर पनि लिने गरेका छन् ।  फाइनान्स कम्पनीमा सबैभन्दा बढी अटो लोनको ब्याज जानकी फाइनान्सले लिन्छ यो फाइनान्सले १६.६१ प्रतिशत ब्याजदर लिने सूचना सार्वजनिक गरको छ ।

यस्तो छ बैैंक तथा वित्तीय संस्थाहरूका सवारी कर्जाको ब्याजदर विवरण

Advertisement

Advertisement