सरकारी जग्गामा बनेको विवादित घर माधव नेपालको नयाँ पार्टीको केन्द्रीय कार्यालय

Advertisement

काठमाडौं । माधव नेपालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय उद्घाटन गर्न नपाउँदै विवादमा परेको छ । आलोनगरस्थित वाग्मती नदी किनारको सरकारी जग्गामा निर्माण गरिएको घर माधव नेपालले पार्टी कार्यालयको लागि भाडामा लिएका हुन् । 

२०२२ सालको नापीनक्सा विपरित भूमाफियाले वाग्मती नदी किनारको धेरै जग्गा व्यक्तिको नाममा पास गरी बेचिसकेका छन् । धेरै पहुँचवालाले वाग्मती नदी निकारमा घर बनाइसकेपछि पुनः नयाँ मापदण्ड बनाएर अहिले नदीलाई साँघुरो बनाउने काम गरिएको छ । पछिल्लो मापदण्डलाई पनि मिचेर आलोकनगरमा बनाइएको पुजा थापा बस्नेतको घरमा मानिस तीन लाख भाडा तिर्ने गरेर नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय स्थापना गरिएको हो । सो पार्टीका अध्यक्ष माधव नेपालले रिवन काटेर शुक्रबार विहान पार्टी कार्यालय उदघाटन गरेका हुन् । उक्त घर पाँच बर्षका लागि माधव नेपालको पार्टीलाई भाडामा दिइएको हो । 

Advertisement

बस्नेतले हालै उक्त जग्गा किनेर चर्को मूल्यमा भाडामा लगाउन सफल भएकी हुन् । जबकी उक्त घर हेर्दा मानिक एक लाख रुपियाँ उपयुक्त हुने देखिन्छ । उदघाट्न कार्यक्रममा सहभागीले पनि घर हेर्दा मानिस तीन लाख भाडा निकै महंगो भएको बताएका थिए । 

यो घर सँगैका अन्य घरभन्दा वाग्मती नदीनजिक रहेकाले पनि सोझै मापदण्डविपरित देखिन्छ । यसअघि वाग्मती नदी अतिक्रमण रोक्ने र वाग्मती करिडोरमा सडक निर्माण गर्ने क्रममा उक्त घर पनि भत्काउने तयारी गरिएको थियो । तर राजनीति पहुँच र संगठित भूमाफियाले सो घर भत्काउन रोकेका थिए । अहिले पार्टी कार्यालयलाई सञ्चालन गर्न दिएर घरलाई सुरक्षित बनाउने प्रयास गरिएको छ । 

२०२१–२२ सालको नापी र सर्वोच्च अदालतको फैसलासमेतका आधारमा वाग्मती नदीको बहाव क्षेत्र ३० मिटर र दायाँ–बायाँ बगैँचा, सडक र ढललाई गरी २०–२० मिटर कायम गर्नुपर्ने हो । अतिक्रमण बढ्दै गएपछि सडकको दायाँ–बायाँ १०–१० मिटर छोडनुपर्नेमा माधव नेपालको पार्टी कार्यालय रहेको घरले सो मापदण्डसमेत पालना गरेको छैन् । नदी किनारमा यस्तो मापदण्ड मिचेर बनाइएका घर धेरै रहे पनि लहरो तान्दा पहरो जाने भएकाले सबै मौन रहँदै आएका छन् ।  यसअघि भूमिसुधार तथा व्यवस्था मन्त्री रहेकी पद्या अर्यालले २०२१–२२ को नापीविपरित वाग्मती नदीमा बनाइएका सबै संरचना भत्काउने चेतावनी दिए पनि पछि मौन बसेकी थिइन् । वाग्मती नदी किनारमा ललिता निवासको भन्दा गुणात्मक ठूलो भ्रष्टाचार भएको बताइँदै आए पनि यसको छानविन र दोषीलाई कारवाही गर्ने आँट कुनै पनि सरकारले गर्न सकेका छैनन् । 

पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताए । उनले आफ्नो भूमिकामा खरो उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे । माधव नेपालले आगामी असोज ५ गतेसम्म सरकारले पूर्णता पाउने दावी पनि गरे । 

Advertisement

Advertisement