एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय पक्राउ

Advertisement

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति करिब ८ बजेको समयमा एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

Advertisement

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

बजारको फलफूल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो । 

नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिए । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उनको भनाइ छ । 

पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Advertisement

Advertisement