एट्लेटिको म्याड्रिड र बिल्बाओको बराबरी

Advertisement

म्याड्रिड (एजेन्सी) । साविक विजेता एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले बिल्बाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

एट्लेटिकोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । १५औं मिनेटमा एन्टोइन ग्रीजम्यानले गोल गर्ने उत्कृष्ट अवसर गुमाए । दोस्रो हाफमा दुवै टोली लगातार चुकेका थिए । ७८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो । जोआओ फेलिक्स दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।

Advertisement

तर बिल्बाओले त्यसको फाइदा लिन सकेन । खेलमा एट्लेटिकोले ५५ प्रतिशल बल पोसेसन राख्दै १४ वटा पोस्ट प्रहार गरेको थियो । यता ४५ प्रतिबल बल पोसेसन राख्न सफल बिल्बाओले ६ वटा पोस्ट प्रहार गरेको थियो । खेलको अन्तिममा एलेक्स बेरेनगुएर पोस्ट नजिक चुक्दा बिल्बाओ जितबाट बन्चित भयो । बिल्बाओका इनिगो मार्टिनेज ‘म्यान अफ दी म्याच’ भए । 

बराबरीसँगै एट्लेटिको शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोले पाँच खेलबाट ११ अंक बनाएको छ । बराबरीले शीर्षस्थान उक्लने मौका गुमाएको बिल्बाओ नौ अंक सहित चौथो स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र भ्यालेन्सियाको चार खेलबाट समान १० अंक छ ।

शनिबार रातिनै भएको अर्को खेलमा ओसासुनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा २–० गोलले हरायो । ओसासुनाको जितमा डेभिड गार्सिया र रोर्बेटो टोरेसले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भब भएको खेलमा डेभिडले २२औं मिनेटमा रुवेन गार्सियाको पासमा खाता खोलेका थिए ।

२९औं मिनेटमा टोरेसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । अलाभेसले ५६ प्रतिशत बल पोसेसन राखेपनि गोल गर्न सकेन । अलाभेसले आठ वटा पोस्ट प्रहार गर्दा ओसासुनाले १३ वटा प्रहार गरेको थियो । ओसासुनाका रोर्बेटो टोरेस ‘म्यान अफ दी म्याच’ भए ।  जितसँगै आठ अंक बनाएको ओसासुना छैटौं स्थानमा छ । अंकबिहिन डिपोर्टिभो अलाभेस तालिकाको अन्तिममा छ ।

अर्को खेलमा इल्चे र लिभान्तेले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिएपनि इल्चे अंक बाँड्न बाध्य भयो । इल्चेका लागि ३३औं मिनेटमा लुकास परेजले गोल गरे । लिभान्तेले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । जोस लुइस मोरालेसले ५५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरी गोल गरेका जोस ‘म्यान अफ दी म्याच’ भए ।  बराबरीसँगै ६ अंक बनाएको इल्चे ११औं स्थानमा छ । चार अंक बनाएको लिभान्ते १४औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भईरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्ने छ ।  हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement