शेयर बजारमा आएका नयाँ लगानीकर्ता चाँडै आत्तिएर ‘पेनिक सेल’ भयोः ढकाल

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले शेयर बजारमा ‘पेनिक सेल’ आएको बताएका छन् । सोमबार शेयर बजारमा उच्च गिरावट आएसँगै उनले कर्पोरेट नेपालसँगको कुराकानीमा हतार गरेर शेयर नबेच्न लगानीकर्तालाई आग्रह पनि गरे । 

केही दिनदेखि शेयर बजार ओरालो लाग्दै आएकोमा आज नेप्से परिसुचक ११४ अंकले घटेर दुई हजार ६९८ को हाराहारीमा आइपुगेको छ । यति धेरै अंकको गिरावट आउनुपर्ने कुनै खास कारण नरहेको भन्दै उनले भने, ‘शेयर बजारमा अहिले विशेषगरी नयाँ लगानीकर्ता प्रवेश गरेका छन् । नयाँ लगानीकर्ताले शेयर बजारको यति ठूलो क्रयास अहिलेसम्म देखेका छैनन् । यसले गर्दा उनीहरूले आत्मवल दरिलो बनाउन सकेका छैनन् ।’ 

Advertisement

अहिले शेयर बजारमा करेक्सनभन्दा क्रयास देखिएको ढकालले स्वीकार गरे । उनले धैर्यता भएका लगानीकर्ताले मात्र आफ्नो लगानी सुरक्षित गर्न सक्छन् भन्दै शेयर बजार घटबढ हुनु स्वभाविक प्रक्रिया भएको बताए । 

बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकुचन हुनु, सोही निहुँमा बैंकहरुले ब्याजदर वृद्धि गर्नु, राष्ट्र बैंकले पनि कर्जामा केही कडाई गर्नु, बजारमा नकारात्मक हल्ला हुनुले पनि असर परेको उनको बुझाई छ । तर अध्यक्ष ढकालले बैंकिङ क्षेत्रमा लामो समयसम्म तरलता अभाव नरहने बताए । 

उनी भन्छन्, ‘अहिले बैंक तथा वित्तीय संस्थामा तरलता घट्नाको कारण सरकारी खर्च रोकिएको छ । विदेशबाट आउने रेमिट्यान्स पनि केही घटेको छ । आज सरकारले बजेट पास गरेको छ । यसै पनि साउन–भदौ भनेको सरकारी खर्च कम हुने महिना हो । यता बैंकहरु पनि यो समयमा निक्षेप संकलनभन्दा कर्जा लगानी बढाउनतर्फ नै लागेका हुन्छन् । यो बेला बैंकहरुले कर्जा लगानी गरेर वर्ष भरि कमाउने भएकाले पनि तरलतामा केही दबाब परेको छ ।’

दशैमा विदेशबाट चाडपर्वको लागि आउने रेमिट्यास पनि बढ्ने भएकाले तरलतामा परेको चाप कम हुने ढकालको आशा छ । यता यो सर्वसाधारणले पनि धेरै खर्च गर्ने समय हो भन्दै उनले यसले पनि बजारमा पैसाको आपूर्ति केही बढ्ने बताए । बैंकहरुले बढाएको ब्याजदर अल्पकालिन भएकाले आत्तिनुपर्ने अवस्था नरहेको ढकालले बताए ।  

उनले दोस्रो बजारमा कारोबार भइरेहका सबै कम्पनीले धमाधम लाभांश वितरण गर्ने समय सुरु हुन लागेकोले अहिले शेयर होल्ड गर्न सके केही समयभित्रै लगानीकर्ताले लाभांश लिन पाउने बताए । 

Advertisement

Advertisement