स्वारेजको दुई गोलसँगै एट्लेटिको विजयी

Advertisement

एजेन्सी (म्याड्रिड) । उरुग्वेली स्ट्राईकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पूनरागमन जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको मैदानमा २–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती अग्रता लिएर पनि हार खेप्न बाध्य भयो । एट्लेटिकोको जितमा दुवै गोल लुइस स्वारेजले गरे । गेटाफेका स्टेफन मित्रोभिकले सुरुवाती गोल गरेका थिए ।

Advertisement

प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो । स्टेफनले हेड गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । तर गेटाफेको खुशी लामो समय टिकेन । ७४औं मिनेटमा गेटाफे १० खेलाडीमा समेटियो । कार्लेस एलेना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि गेटाफे दबाबमा देखिएको थियो । जसको फाइदा पाहुना टोली एट्लेटिकोले भरपुर उठायो ।

६८ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले ६८औं मिनेटमा बराबरी गोल फर्काएको थियो । स्वारेजले मारियो हर्मोसोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । स्वारेजले सिम भर्सलज्कोको पासमा हेड गोल गरेका थिए । यससँगै स्वारेजले जारी सिजन तीन गोल गरेका छन् । स्वारेज ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । शीर्षस्थानमा उक्लिएको एट्लेटिकोको ६ खेलबाट १४ अंक छ । अंकबिहिन गेटाफे १९औं स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले पाँच खेलबाट १३ अंक बनाएको छ । तेस्रो र चौथो स्थानमा रहेको भ्यालेन्सिया र रायो भालेकानोको समान १० अंक छ ।

मंगलबार राति नै भएको अर्को खेलमा रायो भालेकानोले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हराउँदै चौथो स्थानमा उक्लिएको हो । रायो भालेकानोको जितमा अल्भारो गार्सियाले पाँचौं र राडामेल फाल्काओले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे ।

बिल्बाओले आत्मघाती गोल उपहार पाएको थियो । ३३औं मिनेटमा रायो भालेकानोका पाथे सिसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । पराजित बिल्बाओ ९ अंक सहित छैटौं स्थानमा छ । अर्को खेलमा सेल्टा भिगोले लिभान्तेलाई २–० गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement