बीमा समितिले नियमनमा अझै कडाई गर्यो भने नेपाल इन्स्योरेन्स नम्बर वानमा आउँछः पोखरेल

Advertisement

काठमाडौं । नेपालको जेठो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी ७५ बर्ष पुगेको छ । २००४ सालमा स्थापना भएको यो कम्पनी विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो । सुरुमा यो नेपाल मालचलानी तथा बीमा कम्पनी थियो । पछि नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी बन्यो । अहिले यो नेपाल इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । लामो इतिहासमा कम्पनीले जनतालाई धेरै सेवा दिइसकेको छ । निर्जीवन बीमा सेवा दिँदै आएको यस कम्पनीले सहजरुपम दावी भुक्तानी गर्दै प्रतिस्पर्धी बजारमा आफूलाई अघि बढाउँदै आएको छ । सँगै आफूलाई रुपान्तरण पनि गर्दै आएको छ । कृषिदेखि जहाजसम्मको बीमा गर्दै आएको नेपाल इस्योरेन्सले ७५ बर्ष पूरा गरेको सन्दर्भमा यस कम्पनीको कामू सीईओ ईश्वर पोखरेलसँग गरिएको कुराकानीः 

तपाईंहरूको कम्पनीले ७५ बर्षको लामो इतिहास बनाएको अवस्था छ । यस अवसरमा के भन्नुहुन्छ ? 
यो हाम्रो लागि गर्वको विषय हो । मुलुकको लागि पनि हो । नेपालको बीमा क्षेत्रका लागि पनि यो गर्वको विषय हो । किनभने एउटा बीमा कम्पनीले यति लामो इतिहास बनाएको छ । यसले नेपालमा बीमाको विकास गर्न र नयाँ नयाँ कम्पनीलाई अधि बढ्न पनि शिक्षा र प्रेरणा दिएको छ । पूरानो कम्पनी भएर पनि नेपाल इन्स्योरेन्सले आफूलाई परिस्कृत र परिमार्जित गर्दै  आफूलाई अग्रणीमध्येका एक कम्पनीको रुपमा उभ्याएको छ । यस कम्पनीप्रति आम जनताको विश्वास र माया पनि छ । यस अवसरमा कम्पनीको सीईओ भएर काम गर्न पाउँदा मलाई पनि गर्व छ । 

Advertisement

नेपाल इन्स्योरेन्सका अबका दिनमा कसरी अगाडि बढ्छ ? के के छ योजना ? 
जुनसुकै कर्पोरेट संस्थाको उद्देश्य भनेको व्यवसाय वृद्धि गर्ने र ग्राहकको सन्तुष्टि बढाउने भन्ने हुन्छ । त्यस्तै आफ्ना लगानीकर्ता, कर्मचारी, नियामक निकाय र सरकारप्रति एक किसिमको दायित्व हुन्छ । त्यसलाई निर्वाह गर्ने हुन्छ । सबैको अपेक्षा पूरा गर्नका लागि व्यवसाय वृद्धि लगायतका कम्प्लायन्स पूरा गर्दै ७५ वर्ष प्रवेशको अवसरमा कम्पनीको छापलाई परिस्कृत गरेर लैजार्दैछौं । हामी अर्ब क्लबमा छौं । अब दुई अर्ब क्बलमा जाने योजना छ । हामीले (प्राइभेट मुभ) निजीकरणमा पनि यस कम्पनीलाई उच्चतम बिन्दुमा लैजाने लक्ष्य राखेका छौं । 

बीमामा पनि मर्जरको कुरा चल्ने गरेको छ । तपाईंहरूको गाभ्ने गाभिने योजना केही छ ?
पचहत्तर वर्ष बूढो भइसकेको नेपाल इन्स्योरेन्स कम्पनीले जोडी खोज्नु अप्राकृतिक हुन्छ । यता बीमा समितिले दुई वर्षभित्रमा क्रसहोल्डिङ हटाउनु भनेको छ । यो निर्णय भनेको सञ्चालक समिति र बोर्डसँग सम्बन्धित हुने कुरा भयो । भविष्यमा समग्र बीमा क्षेत्र कता जान्छ ? हामी पनि सोही अनुसार अघि बढ्दै जान्छौं । अहिले मैले कोसँग मर्जरमा जाने भन्ने कुरा व्यक्त गर्न सक्दिन ।

चुक्ता पूँजी बढाउने कुरामा नेपाल इन्स्योरेन्सको के छ तयारी ?
नेपाल इन्स्योरेन्स वास्तवमै बलियो कम्पनी हो । बीमा समितिको कुनै पनि निर्देशन पालन गर्न हामी तयार छौं । चुक्तापूँजी बढाउने सन्दर्भमा पनि हामी सक्षम छौं । अहिले हामीले एक अर्ब २५ करोड रूपियाँ चुक्ता पूँजी पुर्याइसकेको अवस्था छ । बीमा समितिले सबैलाई मिल्ने व्यवहारिक निर्देशन दिने भएकाले हामीलाई त्यति धेरै समस्या हुन्न । अहिले बीमा समितिमा नयाँ अध्यक्ष आउनु भएको छ । उहाँले धेरै परिवर्तन गर्न खोज्नु भएको छ । हामीले पनि अध्यक्षलाई टेवा दिनुपर्छ ।

नेपाल इन्स्योरेन्सको सूचकलाई कसरी मूल्यांकन गर्नु हुन्छ ? 
कोरोनाका सामान्य असर देखिएको छ । पन्द्र प्रतिशतले बीमा व्यवसाय वृद्धि भएको छ । बीमाशुल्कमा नेपाल इन्स्योरेन्सले आठ प्रतिशतको वृद्धि हाँसिल गरेको छ । हामीले नाफा ३४ प्रतिशतले बढाएका छौं । जनमानसको जिब्रोमा २००४ देखि नेपाल इन्स्योरेन्स छ । एक लाख ६० हजारको हाराहारीमा बीमा पोलिसि जारी गरेका छौं । नाफाको हिसाबमा कम्पनीको अवस्था राम्रो छ भने नेपाल बैंकको पनि स्वामित्व हामीसँग छ । हामी आफ्नो इतिहासअनुसार अघि बढ्ने छौं । 

बीमा समितिको अध्यक्षले अस्वस्थ प्रतिस्पर्धा रोक्न लाग्नु भएको छ । यसलाई बीमा समितिले कडाईका साथ नियम पालना गर्ने हो र सुशासन कायम गरायो हो भने नेपाल इन्स्योरेन्स नै एक नम्बरको कम्पनी बन्छ । हामीले व्यापार प्रवद्धनमा धेरै मेहनत गर्नु पर्दैन, हाम्रो नामै काफी छ । अहिले भएको के छ भने बीमा व्यवसायमा नियमन बलियो नभएका कारणले....... मैले कसैलाई दोष लगाउन खोजेको होइन । २०६६ सालअघि बैंकको अवस्था जसरी परिस्कृत भएको थियो, त्यसरी नै बीमा पनि परिस्कृत हुन नसकेको अवस्था हो । बीमामा रेगुलेसन कमजोर छ त्यसलाई अब्बल बनाउँदा नेपाल इन्स्योरेन्स कम्पनी अब्बल कम्पनी बन्छ । नेपालको प्रतिष्ठित घरानाहरू हाम्रो लगानीकर्ताको रूपमा आउनु भएको छ ।  म एकै वर्षमा नेपाल इन्स्योरेन्स एक नम्बरमा आउँछ भन्दिन् । तर त्यो दिन टाढा छैन् । 

ग्राहक नेपाल इन्स्योरेन्स नै किन आउँने ? के छ तपाईंहरूको फरक विशेषता ? 
अहिले जनजिब्रोमा नेपाल इन्स्योरेन्स छ । ग्राहकले चाहने सेवा हो । हामीले परिस्कृत सेवा दिइरहेका छौं । हामीप्रति विश्वास छ । इतिहास छ । समयमा दावी भुक्तानी हुन्छ । नेपाल इन्स्योरेन्समा ग्राहकले खोजेको विविधता पनि हामीसँग छ ।

तपाईंहरूको सबैभन्दा धेरै बीमा हिस्सा केमा छ ?
मोटर बीमामा छ । त्यसबाहेक हामीले कृषिदेखि जहाजको बीमा गर्छौं । पछिल्लो समय हवाइजहाजको बीमा पनि बढेको छ । 

बीमा क्षेत्रमा तपाईंले देखेको समस्या के के हुन ? 
बीमा बढाउनका लागि बीमा शिक्षा पुगेको छैन् । यसलाई बढाउनु जरुरी छ । अर्को कुरा बीमा कम्पनीले अनुशासन पालनामा कडाई गर्नु जरुरी छ । ‘इन्स्योरेन्स प्रोफेसनालिजम’मा धेरै समस्या छ । यसमा नियामकको पहल जरुरी हुन्छ । त्यो भयो भने आगामी तीन–चार वर्षमा बीमा क्षेत्र पनि बैंक जतिकै सशक्त बन्छ । अर्को कुरा बीमाको पुहँच विस्तारका लागि नियामक निकाय र सरकारले पहल गर्नुपर्ने देख्छु । जस्तो नक्सा पास गर्दा नै अनिवार्य बीमा हुने नियम ल्याउँदा सबैलाई राम्रो हुन्छ । ठूलो खर्च नलाग्ने घर बीमामा सचेतना बढाउनु जरुरी छ । हामीसँग रि–इन्स्योरेन्सको व्याकअप हुने भएकाले घर बीमालाई यातायातमा गाडी पास गर्दा जसरी बीमा गर्दा उपयुक्त हुन्छ ।

बीमाका समस्या छ भने स्वीकार गर्नुभयो । यसको समाधानको सुरुवात कस्ले गर्ने ?
बीमक संघले गर्नुपर्छ । हामी कम्पनीले गर्नुपर्छ । सर्वप्रथम सरकारले नीति बनाउनुपर्छ । जसरी भए पनि बीमालाई उत्कृष्ट बनाउनुपर्छ । सरकारले पनि कोरोना बीमाको पैसा तिरेर कम्पनीलाई सघाउनुपछ । अहिले बीमा समिति बीमा चेतना बढाउन लागेको छ । अब कम्पनीले पनि सकेसम्म यसमा पहल गर्दा राम्रो हुन्छ । 

बीमामा प्रोडक्ट कपि पेस्ट भयो भनिन्छ । किन यस्तो हुन्छ ?
यो अनुसन्धानका लागि बीमाले कम रकम खर्च गर्ने भएकाले केही व्यवसाय खोसिन्छ । अब हामीले साइबर इन्स्योरेन्स प्रोडक्ट ल्यायौं । अहिलेसम्म हामीले त्यो बुझाउन सकेका छैनौ । तर अन्तर्राष्ट्रियस्तरमा साइबर बीमा हुने गरेका छन् । हामीले बैंकमा हुने ह्याकिङको बीमा गर्छौं । आउने दिनमा यो बीमा पनि आकर्षण बढ्दै जाने अपेक्षा गरेका छौं । सरकारले बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । अहिले २७ भएकाले यो पुग्ने सम्भावना पनि धेरै छ । तर हामीले ३३ प्रतिशतमा मात्रै सीमित हुने हिसाबले भन्दा पनि बीमाको पहुँच अझै बढाउनुपर्छ । 

नेपाल इन्स्योरेन्सको ‘साइबर रिक्स प्रोटेक्टर' बीमा योजना, बैंक नै लुटे पनि बीमाले पैसा दिने

Advertisement

Advertisement