महंगीदर ४.३५ प्रतिशत, घ्यू तेल २९ प्रतिशतसम्मले महंगियो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा महंगीदर ४.३५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो महंगीदर उपभोक्ता मुद्रास्फीति) ३.४९ प्रतिशत मात्रै रहेको थियो ।

गत आव २०७८ साउन महिनामा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ०.८६ प्रतिशतले बढेको देखिएको छ । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा तुलनामा बढेको देखिएको हो ।
चालू आवको पहिलो महिनामा सबैभन्दा बढी महंगी घ्यू तथा तेलमै रहेको छ । उक्त खाद्य सामग्रीमा २९.०७ प्रतिशत महंगी रहेको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।

Advertisement

२०७७ साउनको तुलनामा २०७८ साउनमा  गैर–मदिराजन्य पेय पदार्थ १०.५१ प्रतिशत, सुर्तीजन्य पदार्थ १०.१२ प्रतिशत र यातायात उपसमूहको मुल्यवृद्धि ९.४३ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ साउनमा वार्षिक बिन्दूगत थोक मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.३० प्रतिशत, ५.७२ प्रतिशत र ६.१९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.५४ प्रतिशत रहेको छ । २०७८ साउनमा वार्षिक बिन्दूगत तलब तथा ज्यालादर सूचकाङ्क ५.०५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.३४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.८० प्रतिशतले बढेको छ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७८ साउनमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.३५ प्रतिशत र सन् २०२१ अगष्टमा भारतमा ५.३० प्रतिशत रहेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
 

Advertisement

Advertisement