घाटा भएका प्रोडक्टलाई पनि निरन्तरता दिन बाध्य छौंः कम्पनी, ‘रिप्राइसिङ’ गरः बीमा समिति

Advertisement

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूले घाटाका प्रोडक्टहरूमा समेत व्यवसाय गर्न बाध्य भएका छन् । सञ्चालनमा आएका प्रोडक्ट रोक्का वा खारेज गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण कम्पनीहरू घाटा हुँदा पनि सञ्चालन गर्न बाध्य भएका हुन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले भने, ‘बीमा कम्पनीले आफू घाटामा गए पनि प्रोडक्ट सञ्चालन गरिरहन बाध्य छन् । कानुनी व्यवस्था नै त्यस्तै छ ।’ यसले गर्दा बीमित र कम्पनीका लगानीकर्ता दुवैलाई नोक्सान भइरहेको उनले बताए । 

Advertisement

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल करार गरिसकेको प्रोडक्ट हटाउन नमिल्ने तर्क गर्छन् । उनले कर्पोरेट नेपालसँग भने, ‘प्रोडक्ट नबिक्दा पनि बीमा कम्पनीले सोही प्रोडक्ट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कुरा सत्य हो । बीमा कम्पनीले करार गरिसकेका प्रोडक्ट करार अवधि पूरा नहुँदै हटाउन मिल्दैन । तर हामीले कम्पनीहरूको समस्या बुझेर ‘रिप्राईङ’ शुल्क निर्धारण गर्ने सुविधा दिएका छौं ।’ 

पौडेलले बीमाका प्रोडक्ट धेरै कुरा अनुसन्धान गरेर ल्याइने भएकाले त्यस्ता प्रोडक्ट हटाउँदा ठूलो प्रभाव पर्ने बताए । बीमा कम्पनीहरूले आफ्नो एक्चुरीमार्फत कुनै पनि प्रोडक्टको डिजाइन गर्छन् । कम्पनीले आफ्नो प्रोडक्ट तयार गरेपछि बीमा समितिमा स्वीकृतिका लागि पठाउँछन् । समितिले पनि उक्त प्रोडक्ट आफ्नो एक्चुरीलाई देखाएर सिफारिस गरेअनुसार समितिले स्वीकृत गर्दछ ।

ठ्याक्कै एकै प्रकृतिका प्रोडक्टलाई समितिले स्वीकृति दिने भएकाले त्यसमा केही परिमार्जन हुनुपर्ने बीमा कम्पनीहरूको माग छ । उनीहरूले एउटै मोडलका प्रोडक्ट बजारमा आउँदा एक अर्कामा अस्वस्थ प्रतिस्पर्धा बढ्ने कम्पनीहरूको भनाई छ । 

पछिल्लो समय बीमा बजारमा कम्पनीहरूबीच व्यवसाय तानातान भइरहेको छ । सोही कारण विगतमा प्रोडक्टको नामलाई नै आफ्नो ब्राण्ड बनाउन सफल भएका केही कम्पनीहरूको सो विरासत अहिले कायम छैन् । बीमक संघमा आवद्ध एक निर्जीवन बीमा कम्पनीका (सीईओ)ले भने, ‘एउटा व्यक्तिले स्कुल पढ्दा स्कुलको क्यान्टिनमा खाजा खान्छ । कलेज जाँदा कलेजको क्यान्टिनमा खाजा खान्छ । उसले त्योभन्दा बढिको उच्च शिक्षा अध्ययन गर्दा गर्दा अर्कै क्यान्टिनमा खाजा खान्छ । यो सबै समयको माग जस्तै हो । बीमा कम्पनीको प्रोडक्टको सन्दर्भलाई पनि यसरी नै बुझ्दा हुन्छ ।’

बीमा क्षेत्रमा एउटा कम्पनीको सीईओ अर्कोमा जाँदा पूरानो कम्पनीको व्यवसाय तान्ने प्रवृत्ति रहँदै आएको छ । यसले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र व्यवसाय विस्तारमा होडबाजी चल्ने गरेको स्वयम यस क्षेत्रका जानकारहरूले बताउने गरेका छन् । 

Advertisement

Advertisement