प्रचण्डले ओलीलाई ‘बुद्धि नभएको नेता’को संज्ञा दिए, ‘उनीहरूलाई सम्झिँदा पनि मलाई एलर्जी हुन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ‘बुद्धि नभएको नेता’ भन्दै आलोचना गरेका छन् । 

वाईसीएलको पाँचखालमा आयोजित कार्यक्रममा बिहीबार आयोजित कार्यक्रममा उनले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भए पनि आफूहरुले त्यसलाई परास्त गरेको दावी गरे । उनले आफूहरूमाथि दमन गर्ने उद्देश्यले प्रतिक्रान्ति गर्न खोजिएको थियो भन्दै आफूहरूले पार्टी नफुटाएको जिकिर गरे । यद्यपि प्रचण्डले केपी प्रवृत्तिमाथि आफूहरूले विजय प्राप्त गरेको दावी गरे । 

उनले भने, ‘केपीजस्तो निरंकुश, अहंकारी र दम्भीलाई पार्टीबाट निकालिदिएको हो । केपीजतिको बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन् । यदि ठूलो अवसर थियो उनलाई चुप लागेर बसेको भए । सहमति पालना गरेको भए महान नेता हुने अवसर थियो । तर ओलीले विदेशीसँग आत्मसमर्पण गरे ।’ 

केपी प्रवृत्ति भनेको सामन्ती हिन्दू प्रवृत्ति भएको प्रचण्डको तर्क छ । उनले आफ्नो पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने बताए । प्रचण्डले भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त.... त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त मैले हो नि ! हेर्नुस् । जो जति माथि आएको छ त्यो त्यति बिग्रिएको छ । बुझ्नु ।’