फेरि बराबरीमा रोकियो बार्सिलोना, सोसिडाडले ग्रानाडालाई ३–२ ले हरायो

Advertisement

एजेन्सी (म्याड्रिड) । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदान शुक्रबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

जारी सिजन खराव नतिजाबाट गुज्रिएको बार्सिलोनाको यो लगातार दोस्रो बराबरी हो । अघिल्लो खेलमा पनि बार्सिलोना ग्रानाडासँग आफ्नै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

Advertisement

क्याडिजविरुद्ध ६८ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले ६ वटा पोस्ट प्रहार गरेको थियो । बार्सिलोनाका मेम्फिस डिपाएले मात्र तीनवटा राम्रा अवसर गुमाएका थिए । बल पोसेसनमा कमजोर देखिएपनि क्याडिजले १३ वटा पोस्ट प्रहार गरेको थियो ।

६५औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । फ्रान्की डि जोङ दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोनाले दबाब झेलेको थियो । तर क्याडिजले त्यसको फाइदा उठाउन सकेन । क्याडिजको लगातार प्रयासमा बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन बाधक बने । उनै स्टेगन ‘म्यान अफ दी म्याच’ भए ।

गत सिजनमात्र शीर्ष डिभिजनमा उक्लिएको क्याडिजलाई तेस्रो खेलसम्म आइपुग्दा बार्सिलोनाले हराउन सकेको छैन । गत सिजन पहिलो खेलमा बार्सिलोना क्याडिजसँग २–१ गोलले पराजित भएको थियो । अर्को खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यस बराबरीसँगै बार्सिलोना सातौं स्थानमा छ । पाँच खेलमा दुई जित र तीन बराबरी नतिजा निकालेको बार्सिलोनाको नौ अंक छ । ६ अंक बनाएको क्याडिज १४औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६ खेलबाट १६ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको १३ अंक छ ।

शनिबार राति भएको खेलका ग्रानाडालाई ३–२ गोलले हराउँदै सोसिडाड तेस्रो स्थानमा उक्लिएको हो । सोसिडाडको जितमा अरित्ज इलुस्टोन्डोले दुई तथा माइकल मेरिनोले एक गोल गरे । ग्रानाडाका जर्मन सान्चेज र लुईस मिल्लाले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता घरेलु टोली ग्रानाडाले लिएको थियो । सान्चेजले नवौं मिनेटमा खाता खोलेका थिए । त्यसपछि सोसिडाडका इलुस्टोन्डोले ५२औं र माइकल मेरिनोले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडी बढाए । ग्रानाडाका लुईस मिल्लाले ७०औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा इलुस्टोन्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए । इलुस्टोन्डो ‘म्यान अफ दी म्याच’ भए । हारसँगै ६ खेलबाट तीन अंक बनाएको ग्रानाडा १८औं स्थानमा छ । अर्को खेलमा पाहुना टोली रियल बेटिसले ओसासुनालाई ३–१ गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement