शेयर खरीदको रकम भुक्तानीमा ग्लोबल आईएमईको एकाधिकारले लाखौं लगानीकर्तालाई सास्ती

Advertisement

काठमाडौं । शेयर कारोबारमा अनलाइन प्रणालीले लगानीकर्तालाई सहज बनाए पनि रकम भुक्तानीमा ग्लोबल आईएमई बैंकको एकाधिकार जस्तै हुँदा लाखौं लगानीकर्ताले सास्ती भोग्नु परेको छ । 

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मार्फत रकम भुक्तानी गर्ने क्रममा अधिकांश लगानीकर्ता कि ग्लोबल आईएमई बैंकमा खाता खोलेर उसको अनलाइन बैंकिङ सुविधा लिएको हुनुपर्छ भने कि कनेक्ट आईपीएसमा रजिष्टर भएको हुनुपर्छ । कनेन्ट आईपीएसमार्फत अधिकांश बैंक वित्तीय संस्थाका लगानीकर्ताले रकम भुक्तानी गर्न सक्ने भए पनि यसको सञ्चालन गर्न अनलाइन कारोबारमा अभ्यस्तबाहेक अधिकांश लगानीकर्तालाई कठिनाई हुने गर्छ । 

Advertisement

बैंकबाट भुक्तानी गर्दा त्यसको तुलनामा केही सहज हुने भए पनि छनौट अवसर नदिइएकाले लगानीकर्ता बाध्य भएर ग्लोबल आईएमई बैंकको खाता खोल्न बाध्य हुन्छ । कुल ५१ धितोपत्र दलाल (ब्रोकर)कम्पनीमध्ये जम्मा आठ वटाले प्रभु बैंकबाटै कारोबार गर्नुपर्ने बनाएका छन् भने बाँकीले ग्लोबल आईएमईमार्फत कारोबार गर्नुपर्ने व्यवस्था गरेका छन् ।

छनौटको सुविधा नहुँदा शेयर खरीद गर्ने लगानीकर्ताले बाध्य भएर चेक बोकेर अझै पनि ब्रोकर अफिस धाउनुपर्ने वा ग्लोबल आईएमई तथा प्रभु बैंकमै धाउनुपर्ने बाध्यता छ । कनेन्ट आईपीएसमा रजिष्टर भएर पनि कारोबार गर्न नजानेर सास्ती भोग्नुपरेको गुनासो लगानीकर्ताले गर्नुपरेको छ । 

अहिले टीएमएसबाट अनलाइन कारोबार गर्नेको संख्या नै नौ लाखभन्दा धेरै पुगेको छ भने डिम्याटमा रजिष्टर हुनेको संख्या झण्डै ४४ लाख नौ हजार भन्दा माथि  पुगेको तथ्यांक छ । लाखौं जनताले कारोबार गर्ने टीएमएस प्रणालीमा लगानीकर्ताले आफ्नो खाता भएको जुनसुकै बैंक वित्तीय संस्था रकम भुक्तानी गर्न पाउनुपर्नेमा अमुक बैंकबाटै कारोबार गर्न बाध्य पार्नु अर्थपूर्ण देखिन्छ । 

ग्लोबल आईएमई बैंक आईएमई समूहको लगानी भएको बैंक हो जसले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को जस्तै स्टक एक्सचेन्ज सञ्चालनको गृहकार्य गरिरहेको छ । सोही क्रममा उसले आईएमई समूहको कार्यालय नजिकै वाईको सोलुशनको नाममा अनलाइन कारोबार प्रणालीको पूर्वाधार तयार गर्ने काम गरेको छ । उक्त समूहले वाइको प्राइभेट लिमिटेडसँग मिलेर उक्त कम्पनीका कर्मचारीहरूलाई समेत ल्याई नेप्सेको समानान्तर काम थालेको हो । यस कम्पनीमा केही ब्रोकर कम्पनीहरूले पनि साथ दिएका छन् । 

शेयर बजारमा एकाधिकार कायम गर्ने क्रममा नै आईएमई समूहले आफ्नो बैंकको कारोबार पनि एकाधिकार कायम गर्ने प्रयास गरेको देखिन्छ । यद्यपि लगानीकर्ताले सास्ती भोग्दै आएको यस विषयमा धेरै सरोकारवाला मौन देखिन्छन् । 

नेपाल स्टक ब्रोकर्स संघका पूर्वअध्यक्ष भरत रानाभट भुक्तानीका लागि कनेक्ट आईपीएस पनि रहेको भन्दै पन्छिए । स्रोतका अनुसार धेरै ब्रोकर कम्पनीले ग्लोबल आईएमईमार्फत कारोबार गर्न लगाएवापत बैंकले उनीहरूलाई विशेष प्रोत्साहन दिने गर्छ । स्वयम रानाभाटले पनि सो कुरालाई स्वीकार गरे । उनले ग्लोबल आईएमईले राम्रो सुविधा आफूहरूलाई दिने गरेको बताए । 

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले दोस्रो बजारमा शेयर कारोबार गर्नको लागि ब्रोकरहरूले चार वटा बैंकमार्फत सेटलमेन्ट गर्न सक्ने बताए । तर ग्लोबल आईएमईको एकाधिकारको बारेमा भने उनले स्पष्ट जवाफ दिएनन् । पराजुलीका अनुसार शेयर खरीदको रकम प्रभु बैंक ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकलाई अनुमति दिएको छ । तर नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकबाट कारोबार भएको कतै देखिन्न । कुन कुन दलाल कम्पनीले कुन कुन बैंकबाट सेटलमेन्ट गर्छन ? त्यो कुरा नेप्सेले निर्धारण नगर्ने उनको तर्क छ । 

धितोपत्र बजार नियमक निकायमा पनि आईएमई समूहको नियन्त्रण रहँदै आएको छ । आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल यसअघि नेपाल उद्योग बाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै आफै सञ्चालक भएर गएका थिए । सर्वोत्तम सिमेन्टको शेयर इन्साइडर प्रकरणमा मुछिएपछि उनले त्यहाँबाट राजीनामा दिएका छन् । सोही प्रकरणमा मुछिएका कारण ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षबाट पनि राजीनामा दिन केही व्यवसायीले आवाज उठाउन थालेका छन् । 

अर्कोतर्फ नेप्सेमा नवीकरण शुल्क तिर्दा पनि सूचीकृत कम्पनीहरुले ग्लोबल आईएमई बैंककै खातामा हाल्नुपर्ने व्यवस्था गरिएको छ । नेप्सेले जारी गरेको सुचनामै ग्लोबल आईएमई बैंकको खाता तोकिएबाट उक्त बैंकले धितोपत्र बजारमा आफ्नो पकड बनाउन निकै ठूलो तयारी गरेको देखिन्छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सीईओ पूर्णप्रसाद आचार्यले भने शेयर कारोबार गर्नका लागि ग्लोबल आईएमई र प्रभुबाहेक अन्यलाई पनि चाँडै अनुमति दिने बताए । उनले भने, ‘ब्रोकरहरूले चाएमा चार वटा बैंकबाट कारोबार गर्न सक्छन् । तर किन गरिरहेका छैनन् ? थाहा भएन् । हामी चाँडै एकातिकार तोडिने गरी सबै बैंकलाई कारोबार गर्न दिने व्यवस्था गछौं ।’

Advertisement

Advertisement