बैंकिङ क्षेत्रमा सुक्ष्म निगरानी गर्दै राष्ट्र बैंक, तरलता संकुचनले बैंकहरू आत्तिए

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा चलखेल गरेर अस्वस्थ्य प्रतिस्पर्धा गर्न खोजेको विषयमा सबै बैंकहरूबाट विवरण मगाएर सुक्ष्म निगरानी सुरु गरेको छ । बैंकहरूले १ असोजदेखि बढाएको ब्याजदरमा आफूले तोकेको सीमा र दिएको निर्देशनभन्दा बाहिर गएको राष्ट्र बैंकले ठहर गरेको छ । 

राष्ट्र बैंकको कारवाहीको चेतावनीपछि तुरुन्तै बढी ब्याज दिने बैंकहरूले घटाएको सार्वजनिक सूचना निकालेका थिए । व्यक्तिगत तथा संस्थागत निक्षेपमा तोकिएको सीमा भन्दा बढी गएर ब्याजदर दिने बैंकहरूलाई कारवाही गर्ने चेतावनीसहित राष्ट्र बैंकले बैंकहरूको विवरण संकलन गर्न थालेको हो ।

Advertisement

राष्ट्र बैंकले सबै बैंकहरूबाट ब्याजदरको विवरण मागेको छ भने कुनैले सीमाभन्दा बढी दिएको वा राष्ट्र बैंकको निर्देशन पालना भएनभएको विषयमा अध्ययन गरिरहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनले भने ‘केही कमजोरी देखियो भने तुरुन्तै कारवाही हुन्छ । केही बैंकहरूले भने भुलसुधार भनेर सार्वजनिक सूचना नै जारी गरिसकेका छन् ।’

राष्ट्र बैंकले गत वर्षको साउनमा निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थालाई बचत र मुद्दती निक्षेपको ब्याजदरमा पाँच प्रतिशतको अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार बैंकहरूले पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लै महिनाभित्रै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थामा एकपटक सार्वजनिक गरेको ब्याजदर एक महिनासम्म परिवर्तन गर्न पाइदैन् ।

बैंक तथा वित्त कम्पनीहरुले यस पटक भने असोज महिनामा लागू हुने निक्षेपको ब्याजदर भदौ मसान्तअघि नै सार्वजनिक गरेका पनि छन् । केही बैंक तथा वित्त कम्पनीले यसअघि सार्वजनिक गरेको ब्याजदर एक महिना नपुग्दै पुनरावलोकन भन्दै नयाँ ब्याजदर घोषणा गरेको राष्ट्र बैंकको भनाई छ । 

राष्ट्र बैंकका अनुसार एनएमबि, सेञ्चुरी, सिटिजन्स्, सिभिल, ग्लोबल आईएमई, हिमालयन, कुमारी, नबिल, एनसीसी, नेपाल बंगलादेश, प्रभु, राष्ट्रिय वाणिज्य, सनराइज बैंकले संस्थागत निक्षेपमा ब्याजदर हेरफेर गरेका छन् । यी बैंकले ब्याजदर बोलकबोलमा गरेको वा नगरेको विषयमा थप अध्ययन गर्नुपर्ने भएकोले विवरण मागेको जनाइएको छ । 

तरलता संकुचनले बैंकहरू आत्तिए
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम कम हुँदै गएर असहज भएकोले आत्तिएको देखिएको छ । सरकारले खर्च नबढाएका कारण र साउनमा रेमिट्यान्स पनि घटेका कारण बैंकिङ प्रणालीमा तरलता सहज भएको छैन् । 

राष्ट्र बैंकले बिहीबार मात्रै ३० अर्ब रुपियाँको रिपो एक साताका लागि जारी गरेको थियो । उक्त रिपो जारीपछि बजारमा ३० अर्ब रुपयाँ गएको छ भने हाल बैंकिङ प्रणालीमा ३८ अर्ब तरलता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

तरलता अभाव पछिल्लो समय निकै गहिरिदै गएको देखिएको छ । कर्जाको माग अधिक हुने, सरकारी खर्च नबढ्ने हुँदा बैंकिङ प्रणालीमा तरलता संकुचन भइरहेको छ । पछिल्लो समय कर्जाको माग बढेको र सो अनुसार बैंकहरूले स्रोत जुटाउन नसक्नेका कारण पनि तरलता संकुचन बढेको देखिएको हो । यस्तो तरलना संकुचन केही वर्षपछि देखिदै गएको छ ।

यसअघि पनि बैंकरूमा तरलता अभाव भएर बैंकहरूले १४–१५ प्रतिशतसम्म ब्याजदर पुराएका कारण राष्ट्र बैंकले हस्ताक्षेप नै गर्नुपरेको अवस्था थियो । अहिले फेरि पहिलेकै जस्तो अवस्था आउन लागेको जस्तो पनि देखिएको छ । अहिले बेस रेट नै निकै तल झरेको र कर्जाको ब्याजदर पनि ८ प्रतिशतको हाराहारीमा झरेकोले पनि फेरि अवस्था असहज नहुने र राष्ट्र बैंकले हस्ताक्षेप नै गर्नुपर्ने अवस्था आउला भन्ने नभएको ढकाल बढाउँछन् ।
 

Advertisement

Advertisement