‘लगानीकर्ताले सहजरुपमा कारोबार गर्न पाउनुपर्छ, कुनै एक बैंकको सिण्डिकेट स्वीकार्य हुन्न’

Advertisement

काठमाडौं । शेयर बजारका विश्लेषक तथा इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर कारोबारमा कुनै एक बैंकको सिण्डिकेट स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । 

शेयर खरीद गर्दा अधिकांश लगानीकर्तालाई ग्लोबल बैंकबाट मात्रै कारोबार गर्न बाध्य पारिँदै आएको विषयमा उनले यस्तो खालको एकाधिकार स्वीकार गर्न नसकिने बताए । रौनियारले आफूहरू दोस्रो बजारमा शेयर कारोबार गर्दा आफ्नो बैंक खाता जहाँ छ, त्यहींबाट कारोबार गर्न पाउनुपर्छ भनेर नेपाल धितोपत्र बोर्डमा पटक पटक भन्दै आए पनि सुनुवाई नभएको बताउँदै यसले गर्दा लाखौं लगानीकर्ताले सास्ती भोग्नुपरेको बताए । 

Advertisement

अहिले शेयर खरीद गर्दा त्यसको रकम भुक्तानी गर्न अधिकांश लगानीकर्ता कि ग्लोबल आईएमईको खातावाला हुनुपर्छ । नभए कनेक्ट आईपीएसबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ । कुल ५१ बटा ब्रोकर कम्पनीमध्ये ४३ वटाले ग्लोबल आईएमईबाट लगानीकर्ताले रकम तिर्न लगाउँदै आएका छन् भने बाँकी आठले प्रभु बैंकबाट तिराउने गरेका छन् । ती बैंकमा खाता नहुनेले कनेक्ट आईपीएसबाट गर्नुपर्ने हुन्छ । कनेक्ट आईपीएसमा रजिष्टर हुने प्रक्रिया पनि लामो छ भने दर्ता भईसकेपछि पनि यसबाट कारोबार गर्न अनलाइन कारोबारमा अभ्यस्त भएसकेकाबाहेक अरुलाई कठिनाई हुँदै आएको छ । यस्तो समस्याका कारण अझै पनि धेरै लगानीकर्ता चेक बोकर ब्रोकर अफिस धाउनुपर्ने बाध्यता रहँदै आएको छ । 

विश्लेषक रौनियारले सेटरमेन्ट बैंकको नाममा एक–दुई बैंकको सिण्डिकेट कायम गर्ने कुरा तर्कसंगत नहुने बताए । उनले भने, ‘अहिलेको समयमा जसरी हुन्छ लगानीकर्ताले सहजरुपमा कारोबार गर्न पाउनुपर्छ । त्यो उहाँहरूको अधिकार हो । कुनै बैंकको फाइदाको लागि लाखौं लगानीकर्ताले किन कुर्वानी गर्ने ? किन सास्ती भोग्ने ? हाम्रो लागि सबै बैंक बराबर हो । आफ्नो बैंक खाता जहाँ छ, त्यहींबाट भुक्तानी गर्न किन नपाउने ?’

रौनियारले भने, ‘किन यस्तो बाधा अडचन गरिन्छ ? किन संकिर्ण विचार राखिन्छ ? कस्तो अर्थोडक्सवादी पूरातनवादी विचारले पुँजीबजारमा काम गर्छन् ! बुझ्नै गाह्रो छ । नियमकले किन यसमा सुधार गर्न ढिलासुस्ती गरेको छ ? किन एउटा बैंकको प्रभावमा परेको छ ? त्यो पनि बुझ्न सकिन्न । यो भनेको त नियमकको कमजोरी हो नि ।’

शेयरको कारोबारमा कुनै बैंक विशेषको एकाधिकार रहनु भनेको नियमकको कमजोरी हो भन्दै यो बजारलाई स्वस्थ बनाउने, लगानीकर्तालाई सहज वातावरण बनाउने दायित्व उसको भएको बताए । रौनियारले एउटै कुरालाई बारम्बार नियमक निकायमा धाउनुपर्ने, धर्ना गर्नुपर्ने बाध्यता सिर्जना गर्नु काम भएको भन्दै धितोपत्र बोर्डदेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडसम्मको सोच र कार्यशैलीमा सुधार नभएसम्म नेपालका लगानीकर्ताले यस्तै सास्ती र अन्योलता भोगिरहनुपर्ने बताए । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सीईओ पूर्णप्रसाद आचार्यले भने शेयर कारोबारमा रहेको ग्लोबल आईएमई बैंकको एकाधिकार चाँडै अन्त्य गरेर सबै बैंक वित्तीय संस्थाबाट कारोबार गर्न सकिने सुविधा बनाउने प्रतिवद्धता जनाइसकेका छन् । 

Advertisement

Advertisement