बुद्धभूमिको ८ करोड रुपियाँको आईपीओ भोलिदेखि, न्यादी हाइड्रोपावरको शुक्रबार

Advertisement

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गते सोमबारदेखि ८ करोड रुपियाँ बराबरको साधारण शेयर(आईपीओ)आईपीओ निष्काशन खुला गर्ने भएको छ। उक्त शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ८ करोड रुपियाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

Advertisement

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको बुद्धभूमिको ७ लाख ४४ हजार कित्ता शेयर ७४ हजार ४ सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । हिजोआज खुलेका आईपीओहरुमा २४ लाख बढीले आवेदन दिन थालेका छन् । त्यसकारण उक्त कम्पनीको आईपीओमा १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त छ । 

यसअघि साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्रीका लागि आवेदन खुला गरी बाँडफाँट समेत गरिसकेको छ ।  

उक्त कम्पनीले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि

यता, न्यादी हाइड्रोपावरको साधारण शेयर(आईपीओ) असोज १५ गतेदेखि निष्काशन खुला हुने भएको छ । उक्त कम्पनीले २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्कासन खुला गर्न लागेको हो । 

२२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  

उक्त कम्पनीको आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धकले उल्लेख गरेको छ ।

२० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताका दरले पाउने छन् । हिजोआज आईपीओ २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः लगानीकर्ताले १० कित्ताको लागि मात्र आवेदन दिनु उपयुक्त देखिन्छ ।  

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । साथै संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले भदौ १ गतेदेखि छिटोमा १५ गते र ढिलोमा भदौ ३० गतेसम्म निष्काशन खुला गरिएको थियो । 

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Advertisement

Advertisement