भौतिकरुपमा परीक्षा गर्दाको जिम्मेवारी ब्रिटिस काउन्सिलले लिनुपर्छः ए–लेभलका विद्यार्थी

Advertisement

काठमाडौं । ए–लेभलका विद्यार्थीले ब्रिटिश काउन्सिलले दुई महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् । 

ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताए । उनले भने, ‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ 

Advertisement

कोरोना भाइरसको डर र नजिकिदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहज नहुने रिजालको भनाई छ । उनले दुई महिना लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने माग राखे । 

रिजालले सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरे पनि अहिलेसम्म सबै साथीले प्रवेश पत्र नै नपाएको बताए । उनले भने, ‘ब्रिटिश काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’ 

ब्रिटिश काउन्सिलको गैरजिम्मेवारीपनले विद्यार्थीहरु थप मानसिक तनावमा परेको समेत बताए । कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिश काउन्सिलले चासो नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘ब्रिटिस काउन्सिलले आफूहरुलाई कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो ।’ 

दुई महिना लामो परीक्षा दिन विद्यार्थीहरुलाई धेरै नै जोखिम भएको गौतमको भनाई छ । उनले सरकारले ब्रिटिश काउन्सिललाई सम्झाउन समेत आग्रह गरिन् । 

अर्का विद्यार्थी दिपेश बास्कोटाले विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गरे । उनले भने, ‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित भएका छन् ।’ 

यदि परीक्षा यही समयमा लिनै पर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिनेहुँदा ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बास्कोटाको माग छ । 

Advertisement

Advertisement