बजेटमा भएका व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउँदैछौँः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे आजबाट छलफल शुरु गरेको बताएका छन् । 

मेरुदण्ड पक्षघात समूह नेपालले प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा आइतबार अर्थ मन्त्रालयमा धन्यवाद दिने क्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन् । 

Advertisement

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए । 

उनले भने, ‘अब एक/दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईँहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन ।’ मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गरे ।

मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्यूरी भएका व्यक्ति रहेका छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताए । ‘इन्ज्यूरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ’, उनले भने, ‘हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्यूरी भएकाहरूको तर्फबाट धन्यवाद छ । भेटपछि कार्यान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थमन्त्रीको आश्वासनले आफूहरू हर्षित र सुन्तुष्ट भएको बताए ।

स्पाइनल कर्ड इन्ज्यूरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ । स्पाइनल इन्ज्यूरी भएको बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाइसी पाइप, युरिन ब्यागलगायतका सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।

Advertisement

Advertisement