दशैंलाई १३ अर्बका नयाँ नोट बजारमा, नयाँ छाप्दा कुनमा कति खर्च ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ असोजबाट वितरण गर्न थालेको नयाँ नोट एक सातामा १३ अर्ब रुपियाँ बजारमा पठाएको छ । राष्ट्र बैैंकबाट बाहिरिएको उक्त नोट बैंक तथा वित्तीय संस्थाले बाड्न लगेको हुँदा कतिपय रकम बाँडिसकेको छन भने कतिपय बैंकहरूले बाड्दै गरेको हुन सक्छन् ।

विगतको वर्षहरूको तुलनामा राष्ट्र बैंकले नोट साट्न सहजीरकण गरेको, जुनसुकै बैंकहरूबाट पनि नयाँ नोट साट्ने सुविधा दिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक एउटाले कम्तिमा १० वटा शाखाबाट नयाँ नोट वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ भने विकास बैंक र फाइनान्सले भने स्वेच्छाले नयाँ नोट साट्ने सुविधा दिएका छन् ।

Advertisement

राष्ट्र बैंकले सफा नोट नीति अनुसार वर्षेनी दशैंसहतिको मुख्य चाडबाडका लागि नयाँ नोट वितरण गर्ने गरेको छ । केही वर्षदेखि दशैं बाहेक अन्य मुख्य चाडबाडलाई पनि नयाँ नोट दिन थालेको छ । राष्ट्र बैंकका अनुसार दशैंमा सबैभन्दा बढी खपत हुने र नयाँ नोटकै कारोबार गर्न रुचाउने कारण यो समय नयाँ नोटको प्रयोग अन्य समय र चाडबाडमा नगन्य नै हुन्छ ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार नोट राष्ट्रको  सम्पत्ति भएकोले यसको सदूपयोग गर्नुपर्ने र हिफाजत गरेर मात्रै खर्च गर्नुपर्ने बताउँछन् । दशैंमा नोटको प्रयोग बढी हुने हुँदा यही बेला नोटको हिफाजत नगर्दा यसको आयु पनि छोटो बनाउँछन् ।

नोटमा, दूध, पानी, अविर, रगत, टीका पार्न नहुने र सकेसम्म हिफाजत गरेरै प्रयोग गर्दा राष्ट्रको सम्पत्तिलाई नष्ट हुनबाट जोगाउन सकिन्छ । राष्ट्र बैंकले पुरानो नोटको बदलामा नयाँ नोट तुरुन्तै दिने तथा नोट सटहिको सुविधा सहजै दिएको भए पनि नयाँ नोट राष्ट्र बैंकबाट निस्किएपछि छिटो नबिग्रियोस भन्ने नीति लिएको पनि पोखरेल बताउँछन् ।

कुन नोट छाप्दा कति लाग्छ खर्च ?
नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोट छाप्दा १ रुपैयाँ ४० पैसादेखि ४ रुपियाँ ६८ पैसा सम्म खर्च हुने गरेको छ । नयाँ नोट छाप्दा सबैभन्दा बढी खर्च ५०० को नोटमा ४ रुपियाँ ६८ पैसा लाग्छ भने कम १ रुपियाँ ४० पैसा १० रुपियाँको नोट छाप्दा लाग्छ ।m

१ हजार रुपियाँको नोट छाप्दा ३.३७ रुपियाँ, १०० को छाप्दा २.९९ रुपियाँ, ५० को छाप्दा २.६७ रुपियाँ, २० रुपियाँको छाप्दा १.७३ रुपियाँ, १० रुपियाँको छाप्दा १.४० रुपियाँ खर्च र ५ रुपियाँको नोट छाप्दा १.६८ रुपियाँ खर्च हुने गरेको राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले जानकारी दिए ।

उनका अनुसार सुरक्षाका दृष्टिले एक हजार रुपियाँको भन्दा पनि पाँच सय रुपियाँको नोट छाप्दा बढी खर्च हुन्छ । चलनचल्तिमा ५ सयको नोट बढी हुने नेपालमा नोट नछापिने हुँदा यूरोपेली मुलुकबाट छापेर ल्याउनुपर्ने हुँदा सोही अनुसार खर्च लाग्ने हुन्छ । 
 

Advertisement

Advertisement