नयाँ सरकार आएपछि वित्तीय क्षेत्रका निकायहरू नेतृत्वबिहीन बन्दै, कामकारवाही प्रभावित

Advertisement

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा गठवन्धन दलको सरकार गठन भएसँगै वित्तीय क्षेत्रमा महत्वपूर्ण निकायहरू एकपछि अर्को नेतृत्वबिहीन बन्न थालेका छन् । धितोपत्र बजार नियामन गर्ने दुई निकायहरू नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) अहिले कामचलाउको नेतृत्वमा छ । 

दुई संस्थामा एक महिनादेखि कार्यकारी प्रमुख नहुँदा धितोपत्र बजार सुधारका काम अघि बढाउन कठिनाई भएको छ । बोर्ड र नेप्सेमा नियमित प्रकृतिका कामबाहेक अरु नीतिगत निर्णयहरू हुन सकेको छैन् । बैंकहरूको सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रियालगायत धितोपत्र बजार सुधारका धेरै काम अलपत्र परेको छ । सर्वोत्तम सिमेन्टको शेयर अपचलनमा मुछिएको समाचार बाहिर आएपछि नेप्सेका सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् भने बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेका छन् । 

Advertisement

बैंक वित्तीय क्षेत्र नियमन गर्ने नेपाल राष्ट्र बैंक नै अहिले नेतृत्वविहीन छ । अर्थमन्त्रीसँग सम्वन्ध चिस्सिएसँगै गभर्नर महाप्रसाद अधिकारी केही दिनदेखि बिदामा बसेका छन् । यद्यपि उनले आफूलाई कारोनो संक्रमित भएकोले कार्यालय आउन नसकेको भन्दै डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई कामचलाउ गभर्नरको जिम्मेवारी दिएका छन् । 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र कर्मचारी सञ्चय कोषमा पनि अहिले नेतृत्वको अन्योलता छ । संस्थानमा निरन्रता पाएका कवि पाठकको नियुक्तिमा वैधानिकताको प्रश्न उठेको छ भने कोषका प्रशासक तुलसी गौतमलाई अर्थमन्त्रालयले कार्यकाल नसकिँदै अवकाश दिएपछि अदालतले उनलाई अल्पकालिनरुपमा काम गर्न आदेश दिएको छ । तर मुद्दाको किनारा नलाग्दा गौतमले पूर्णरुपमा काम गर्न सकेका छैनन् । 

Advertisement

Advertisement