कामना सेवालाई उत्कृष्ट बनाउन सञ्चालक समिति र एक हजार कर्मचारीको मेहनत छः बस्नेत
प्रविण बस्नेत सीईओ, कामना सेवा विकास बैंक

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकमा साढे तीन वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा प्रविण बस्नेत छन् । बैंकिङ क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय उनी जोखिम व्यवस्थापन, संस्थागत सुधारसहितका विभिन्न पक्षबाट वित्तीय संस्थालाई सबल बनाउन सकिन्छ भन्ने अभ्यासमा अनुभवी मानिन्छन् । बस्नेत कामना सेवालाई अब्बल बनाउँदै ग्राहकको रोजाइको उत्कृष्ट बैंक बनाउन लागिपरेका छन् । सरकारी बैंकको जागिर छोडेर निजीमा लागेका र निजी क्षेत्रबाटै दिने योगदानमा आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ भन्ने सोचका बस्नेतसँग कर्पोरेट नेपालका राजु बास्कोटाले गरेको कुराकानीः

कामना सेवाले शेयरधनीलाई १९.४७ प्रतिशतको लाभांश घोषणा गरिसकेको छ । साधारण सभा कहिले बोलाएर पारित गर्ने तयारी गर्नुभएको छ ?
हामीले नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति लिएर लाभांश दिने निर्णय गरेका हौं । सञ्चालक समितिबाट गरेको लाभांशको निर्णयलाई औपचारिक रूपमा राष्ट्र बैंकमा पठाइ सकेका छौं । राष्ट्र बैंकले सात दिनभित्रै स्वीकृति दिने र त्यसपछि २१ दिनको समय दिएर साधारणसभा बोलाउने काम हुन्छ । कात्तिक दोस्रो साता भित्रै साधारण सभा बोलाउन तयारीसमेत भइरहेको छ ।

Advertisement

अरुले लाभांश स्वीकृत गराएर प्रक्रियामा जाने क्रम सुरु हुँदै गर्दा कामना सेवाले छिटो गर्नुलाई लाभांश वितरण चाँडै गरौं भन्ने हो ?
अहिलेसम्मको अवस्था हेर्दा अरुभन्दा छिटो नै गर्न सक्छौ भन्ने छ । समयसीमा अनुसार भयो भने तिहार अगाडि नै लाभांश दिन सकिन्छ । हुन त दशैं अगाडि नै लाभांश दिने प्रयास भएको थियो । तर, आवश्यक प्रक्रिया पूरा गर्दा र सोही अवधिमा राष्ट्र बैंकको निरीक्षण टोली पनि आएकोले केही समय उक्त टोलीलाई दिनुपरेका कारण आवश्यक प्रक्रिया पूरा गर्न अलि समय लाग्यो । नत्र हामी दशैं अगाडि नै लाभांश बाँड्न सक्ने थियौं । यो पटक नभ्याए पनि आगामी वर्षदेखि दशैं अगाडिकै लागि प्रयास हुन्छ ।

गत वर्ष त जम्मा ४.६३ प्रतिशत मात्रै प्रतिफल दिन सकेको बैंकको क्षमता एकै पटक उल्लेख्य सुधार आउनुको कारण के हो ?
यो सुधार एक वर्षको मात्रै होइन् । यस्तो सुधार एकै वर्षमा हुने काम पनि पक्कै होइन् । हामीले आन्तरिक सुधारको प्रक्रिया सुरु गरेको करिब साढे तीन वर्ष भइसकेको छ । रणनीतिक  रूपमै संस्थालाई कसरी अब्बल र उत्कृष्ट बनाउने भनेरै प्रक्रिया सुरु गरिएको हो । असार २०७५ मा हालका सञ्चालक समितिका सदस्य चयन भएदेखि नै संस्था सुधारको प्रक्रिया सुरु भएको हो । यो बीचमा हामीले संस्थागत सुधारलाई तीव्रता दिने, सेवा विस्तार गर्ने, शाखा संख्या विस्तार गर्नेसहितको काम गर्यौं । कोभिड १९ का कारण दिन सक्ने प्रतिफल अझै एक वर्ष ढिलो भएको हो । नत्र अहिले दिएको प्रतिफल एक वर्ष छिटो नै दिन सक्थ्यौ भन्ने थियो । राष्ट्रियस्तरको विकास बैंक भएकोले हामीले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने, ग्राहकको सेवामा बढी ध्यान दिने, प्रडक्टमा सुधार गर्ने, जटिल प्रक्रियालाई सहजीकरणसहितको काम गर्दै गएकोले नै त्यसको नतिजा पनि राम्रो हुँदै गएको हो । हाम्रो प्रडक्ट तथा सर्भिसेजलाई धेरै ग्राहकले मन पनि पराइदिनुभएका कारण तीव्र गतिमा व्यापार बढ्दै गयो । यही कारण सदूपयोग नभएको पुँजी सदुपयोगमा ल्याउन सफल पनि हुन सकियो ।

बैंकको दक्षता र क्षमता दुबै बढेको हो नाफा मात्रै हो ?
यो बीचमा बैंकको दक्षता र क्षमता पनि बढ्यो । निक्षेपसँगै ग्राहकको नम्बर बढ्दै गयो । सूचना प्रविधिमा गरेको खर्च सही ढंगले सदूपयोग हुन सक्यो । आर्थिक सूचक पनि सकारात्मक हुन सकेका कारण संस्थाको सुधार सकारात्मक भएको हो । हामीले ट्रेजरी ट्रान्जेक्सन पनि ठूलो भोल्युममा गर्न सकेका कारण बैंकलाई राम्रो भयो । करिब २० करोड रुपियाँसम्मको रकम त्यसबाट पनि कमाउन सकेको हो भने ७–८ करोड शेयर बजारमा गरेको लगानीबाट पनि कमाउन सकिएको थियो । सबै क्षेत्रमा गरेको लगानी र त्यसको प्रतिफल राम्रो हुँदै गएको कारण गत वर्ष बैंकको अवस्थामा सुधार देखिएको हो । आन्तरिक रूपमा बिजनेश बढेको र अरु क्षेत्रमा भएको बृद्धिले पनि साथ दिएको हो । राष्ट्र बैंकले पछिल्लो समय कुल ऋणमै थप ०.३ प्रतिशत प्रोभिजनको व्यवस्था गरेको छ । त्यसलाई कटाएर गरिएको नाफा सन्तोषजनक छ । यो प्रोभिजनले बैंकलाई पनि थप सफल र सक्षम नै बनाएको छ ।

बैंकहरूले गर्ने कारोबारमा कोर बैंकिङभन्दा अन्य क्षेत्रको आम्दानीले नाफा बढाएको भन्ने सुनिन्छ । तपाईंहरूको पनि त्यस्तो हो ?
बैंकहरूले नियामकीय दायरामा बसेर अरू क्षेत्रबाट कसरी आम्दानी गर्ने ? भनेर सोचिनै रहेका हुन्छन् । वाणिज्य र विकास बैंकले आफूले पाएको थप आम्दानीको अवसरलाई लगानीको विन्डोको रूपमा लिएर काम गरेका हुन्छन् । यस्तो अवसर एक्सपर्टबाहेक सबैलाई उपलब्ध हुँदैन् । अवसरलाई चिन्न सक्नेले पक्कै त्यसको सदूपयोग गरेकै हुन्छन । विदेशी बैंकहरूमा पनि यस्तै हुन्छ । एक तिहाई आम्दानी अन्य क्षेत्रकै स्रोतबाट लिइरहेका हुन्छन् । व्याजदरमा राष्ट्र बैंकले सीमा तोकिसकेपछि बैंकहरूले अन्य आम्दानीको क्षेत्र खोज्नुलाई स्वभाविक नै मान्नुपर्छ ।

नियामक निकायले कोर बैंकिङमा मात्रै केन्द्रित गराउने रअन्य स्रोतमा कडाई गर्दै जाने हो र अन्य स्रोतको दायरा खुम्चिने अवस्थामा नाफामा असर पर्दैन् ? 
बैंकहरूको बिजनेश अरु क्षेत्रको भन्दा फरक र पारदर्शी हुन्छ । छरिएर रहेको निक्षेपकर्ताको पैसालाई एकै ठाउँमा संकलन गरेर जसलाई पुँजीको अभाव हुन्छ त्यसलाई ऋण तथा सापटीको रूपमा दिने दिने हो । बैंक वित्तीय संस्था राष्ट्र विकासको अभिन्न अंग पनि हो । बैंक वित्तीय संस्था आइसकेपछि राष्ट्रकै अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आएको छ । पुँजी बन्ने प्रक्रियामा कमभन्दा कम लागत लाग्यो भने काम गर्ने रुची र जाँगर बढी हुन्छ । यसले पूर्ण क्षमतामा काम पनि हुन्छ । बैंक वित्तीय संस्थाले नाफामा मात्रै ध्यान नदिएर राष्ट्र विकासमा टेवा पुर्याउनुपर्छ भन्ने अभिलासा पनि हुन्छ । बैंकहरूको कोर भ्यालु नै राष्ट्र विकासमा उल्लेख्य योगदान कसरी गर्ने ? भन्नेमा नै हुन्छ । नियामक निकायले दिएका निर्देशनलाई पालना गरेर बैंकहरू अगाडि बढ्नुपर्ने भएकोले नाफा बढे वा घटेपनि नियमको पालना गरेरै जानुपर्ने हाम्रो दायित्व हुन्छ । त्यसमा हामी बैंकहरू प्रतिवद्ध पनि छौं ।

गत वर्ष गरेको नाफा हेर्ने हो भने ११ करोडबाट ७० करोड पुग्नुलाई बैंकले गरेको पछिल्लो प्रगतिको गर्व गर्न लायक विषय पनि हुनसक्छ । यस्तो प्रगति बैंकको आक्रामक सेवा विस्तार हो कि जोखिमको उचित व्यवस्थापन ?
जसले आक्रामक व्यवसाय गर्छु भनेको हुन्छ उसँग सबैभन्दा राम्रो जोखिम व्यवस्थपनको प्रणाली नै हुनुपर्छ । जस्तो उच्च गतिमा गाडी कुँदाउनले पनि सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको त्यसको ब्रेकमा हो । त्यसैले हामी बैंकले पनि आक्रामक रूपमा शाखा विस्तार गर्दा ठूलो मात्रामा कारोबार हुनसक्छ । ठूलो मात्रामा कारोबार हुँदा कस्ता जोखिम हुन्छन् ? भनेर पहिल्यै सोच्नुपर्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने विषय योजना बनाउँदै र संस्थागत संरचनामै फिटिङ गरिएको हुन्छ । आक्रामक सेवा विस्तार भन्दा पनि हामीले अन्तर्राष्ट्रियस्तरको जोखिम व्यवस्थापन प्रणाली पहिले नै बैंकभित्र भित्र्याइसकेको थियौं । हामीले ल्याएको रणनीतिक योजनामा नै यो विषय पनि उल्लेख छ ।

दीर्घकालिन रणनीतिअन्तर्गत यो बैंकको ‘स्ट्राटेजी २०८० को लक्ष्य कहाँ पुग्यो ?
‘स्ट्राटेजी २०८०’ कामना सेवा बैंकलाई अरु बैंकहरूको तुलनामा अब्बल बैंकको रूपमा उभ्याउने भनेर ल्याएको हो । यो रणनीति २०७५ सालमा बनेको थियो । त्यतिबेला ११ वटा राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये हाम्रो स्थान करिब ११ औं नम्बरतिरै थियो । त्यो स्थानबाट उत्कृष्ट तीनमा कसरी आउने ? भन्ने हाम्रो योजना थियो । हाम्रो लक्ष्य अनुसार आगामी दुई वर्ष अझै यसको सीमाभित्र रहेर काम गर्ने समय छ । उक्त समयभित्र उत्कृष्ट तीनकै वरिपरिमा पुग्छौं भन्ने नै छ ।

त्यसो त अब अब्बल बन्ने र पहिलो नम्बरमा आउने चाहना हुन थाल्यो होला हैन् ?
अब्बल भनेको के हो भन्ने हाम्रो आफ्नै परिभाषा छ । धेरै व्यापार गर्दैमा र धेरै नाफा गर्दैमा अब्बल हुन्छ भन्ने होइन् । ब्यालेन्स स्कोर कार्डलाई पच्छ्याएर यो रणनीति बनाएका छौं । ग्राहकको सन्तुष्टि, कर्मचारीको सन्तुष्टि नियामक निकायले हाम्रो कामलाई सन्तुष्ट भन्ने आधारसहित सम्पूर्ण सरोकारवालाई सन्तुष्ट पारेर लैजान सक्यो भने मात्रै संस्था अब्बल हुन्छ । त्यसले मात्रै नम्बर वान हुन्छ भन्ने हुन सक्छ । धेरै ग्राहक हुँदैमा उत्कृष्ट हुने हैन्, सन्तुलित बाटोमा उत्कृष्ट हुनुपर्छ भन्ने हाम्रो बुझाई हो । यसका लागि हामीसँग भएका स्थायी, अस्थायी र करारकासहित करिब एक हजार कर्मचारीको दिन रातको मेहनत छ ।

केही वर्ष अगाडिसम्म पछाडि रहेको बैंक छोटो समयमा नै अगाडि आउनुमा कर्मचारीको मेहनतले मात्रै त पक्कै नपुग्ला नि ?
पहिलो श्रेय त बैंक सञ्चालक समितिलाई नै दिनुपर्छ । बोर्डले देखाएको सपना, दिएको गाइडलाइन र त्यसैको अभिप्रायलाई पूरा गर्न अहोरात्र खट्ने कर्मचारीको ठूलो देनकै कारण संस्थाले राम्रो गर्दै जान सकेको हो । नियामक निकायले पनि हामीलाई राम्रो र उत्कृष्ट बन्न गरेको सहयोग तथा ग्राहकले पनि हामीलाई उत्कृष्ट सेवा दिन दिएको मौका नै हो । समय अनुकुल हुन सक्नु पनि अर्को महत्वपूर्ण विषय हो । समग्रमा संस्थाले जति सफलता पाउँछ, त्यो सबैको एकमुष्ट प्रयास र मेहनतकै फल हो । त्यसमा पनि कुनै पनि संस्थाको सुधार पूरा हुने र सकिने भन्ने कहिल्यै हुँदैन् । त्यो निरन्तर गरिरहनुपर्ने काम हो ।

जोखिम व्यवस्थापन सिक्दै आफैंले जिम्मेवारी लिएर अगाडि बढ्दा हुने चुनौति कस्तो हुने रहेछ ?
मेरो शैक्षिक पृष्ठभूमि चार्टर एकाउन्टेन्ट हो । भारतमा गएर पढ्दा ठूला संस्थामा गएर काम गर्ने र संस्था कसरी चल्दो रहेछ ? कसरी आर्थिक विकास गर्ने रहेछ ? भनेर नजिकबाट बुझ्ने मौका पाइएको थियो । नेपाल फर्किएपछि पनि अब्बल बैंक तथा त्यसका व्यवस्थापकसँग बसेर काम गर्ने मौका पाएँ । समय अलि अगाडिको हुँदा अहिले पूरानो विषय पनि भइसक्यो । तर पनि त्यसलाई जोड्नपर्दा मैले नबिल, नेपाल बंगलादेश, एनआईसी, माछापुच्छ्रेसहितको बैंक र त्यसका कुशल नेतृत्वसँग बसेर काम गर्न पाएँ । मैले बैंकिङ करियरमा अधिकांश समय टपमस्ट म्यानेजमेन्टसँग वा उहाँहरूको सामिप्यतामा बसेर काम गर्ने मौका पाएँ जसले मलाई धेरै सिकायो । यस्तो सिक्ने विषय कहिल्यै पनि पूरा नहुने र आफूले झनै अपग्रेड गर्दै जानुपर्ने विषय हो । सिक्ने विषय कहिल्यै नसकिने भएकोले म आफूले आफैंलाई विद्यार्थीको रूपमा लिएको छु । मैले गरेको काम र अब्बल व्यवस्थापनसँग बसेर सिकेको विषयले नै जोखिम व्यवस्थापन गरेर जान सक्ने बनायो । संस्थाले लिने जोखिम र चुनौतिको सामना गर्ने पनि एउटा व्यक्ति मात्रै नभएर संस्थाका कर्मचारी, सञ्चालक समितिसहितका धेरैवटा पक्षबाट हुने विषय हो । यसका साथै यो संस्थामा म जोडिएको साढे तीन वर्ष मात्रै भएको छ ।

तपाईंको बैकिङ करियरको सुरुवात चाहिं कसरी भएको हो ?
बैकिङ क्षेत्रमा जोडिएको सन् २००५ मा हो नेपाल बैंकबाट । त्यतिबेला नेपाल बैंकमा म आठौं तहमा नाम निकालेरै प्रवेश गरेको भए पनि छोटो समय मात्रै काम गरें । त्यसपछि नबिल बैंक गएँ । मेरो रुची निजी क्षेत्रको बैंकमा नै भएकोले यही क्षेत्रमा लागेको हो ।

सरकारी जागिर हुँदाहुँदै निजी क्षेत्रको बैंकमा जानुको खास कारण चाहिं के हो ?
त्यतिबेला मसँगै सरकारी बैंकमा प्रवेश गर्ने साथीहरू अहिले सीईओ भएको अवस्था पनि छ । मैले भारतमा बिजनेश लिडरले संस्थामा गरेको योगदान देखेको थिए । उनीहरूको योगदानले संस्था अब्बल भएको र राम्रो बिजनेश लिडर भएको देखेकोले पनि मलाई निजी क्षेत्रमै संभावना छ भन्ने लाग्यो । मैले त्यतिबेला सरकारी जागिर छोड्दा मेरो बुबा खुशी हुनुभएको थिएन् । बुबाले कृषि विकास बैंकमा लामो समय काम गरेर अवकास लिनुभएको थियो । सरकारी जागिर छोडेकोभन्दा मलाई बुबाले त्यतिबेला कच्चा निर्णय गरेको भनेर भन्नुभएको थियो । तर, त्यसको केही समयपछि नै नबिल बैंकमा आवद्ध भए ।

पछिल्लो समय ग्राहकको रुची डिजिटल बैंकिङतर्फ देखिन्छ । कामना सेवाको डिजिटलाइजेशनमा उपस्थिति कस्तो छ ?
डिजिटल बैंकमा राम्रो उपस्थित बढाउँदै गएका छौं । कामना सेवालाई डिजिटल्ली नै पायोनियर बैंकको रूपमा देख्न चाहान्छौ । स्मार्ट टेलर पछिल्लो समय परिचित भएको छ । हामीले साढे दुई वर्ष अगाडि नै यसको सुरुवात गरिसकेका थियौं । पहिलो पटक डिजिटल टेलरको सुरुवात नै हामीले गरेको हौं । हामीले विकास बैंकहरूमा पहिलो पटक स्मार्ट बैंक सुरु गरेका हौं । केही समयमा नै अनलाइन डिम्याट सेवा ल्याउने तयारीमा छौं । हामीले घरमै बसेर खाता खोल्ने सुविधा, भाइबर, सोसल मिडिया, म्यासेन्जर बैंकिङसहितको सुविधा दिएका छौं । डिजिटल वालेट पनि हामीले विकास बैंकहरूमध्ये नै सबैभन्दा पहिला सुरु गरेका हौं । हामीसँग केएस डिजी वालेट छ । यो वालेटमा बैंकमा खाता नै नभएका ग्राहकले पनि प्रयोग गर्न सक्ने सुविधा छ । हामी डिजिटल बैंकमा धेरै सक्रिय भएर लागेका छौं । २०८० भित्र हाम्रो बैंक पूर्ण डिजिटल बनाउने लक्ष्य छ ।

एक्काइस अर्ब पुँजी नाघेका वाणिज्य बैंक र सामान्य विकास बैंकको व्यवसायिक दायरा उस्तै देखिन्छ । यसले त वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न विकास बैंकलाई गाह्रो हुँदैन् ?
ग्राहक विभिन्न प्रकृतिका हुन्छ । हामी बैंकहरूले दिने सेवा पनि आफ्नै छ । विशिष्टिकृत सेवा र सुविधा आ–आफ्नै छ । वाणिज्य बैंकका आफ्नै ग्राहक छन् भने विकास बैंकका पनि छन् । हामीले प्रतिस्पर्धी हुने र उत्कृष्ट सेवा दिने हो भने ग्राहकको खाँचो हुँदैन् । वाणिज्य बैंकसँग अधिकांश सेवा सुविधा उस्तै हुँदा पनि विकास बैंकहरूले संस्थागत डिपोजिट राख्न नपाउने हुँदा उल्लेखनीय व्यवसाय गर्नु पक्कै चुनौति चाहिँ छ । तर, एउटै संस्थाको ठूलो स्रोत भन्दा पनि खण्डिकृत स्रोत हुने हुँदा विकास बैंकको जोखिम पनि कम हुन्छ । यसका केही राम्रा र केही नराम्रा पक्ष छन् । तर, व्यवसाय गर्नै गाह्रो भन्ने चाहिँ छैन् ।

यसअघि ७८ वटा पुगिसकेका विकास बैंक अहिले १८ वटामा सीमित छन् । हुन त अब विकास बैंक नघटाउने भनेर केन्द्रीय बैंकले भने पनि प्रतिपर्धात्मक बजारमा टिक्न र अब्बल हुन संघर्ष गर्नै पर्छ । यसका निम्ति वाणिज्य बैंकसँगै मिसिने वा प्राप्ति गर्ने रणनीति पनि आवश्यक पर्ला !
यो सबै काम बिजनेश डिसिजन हो भनेर बुझ्नुपर्छ । यस्तो निर्णय गर्दा शेयर लगानीकर्तालाई लाभ हुन्छ, लगानीकर्ताको शेयरको भ्यालु बढाउँछ र विभिन्न पक्षबाट हेर्दा लाभ हुन्छ भने त्यो विषयमा सञ्चालक समितिले निर्णय गर्न सक्छ । तर, कुनै संस्था मर्ज नै गर्नुपर्छ भनेर जाने होइन् । बिजनेश गर्दै जाँदा उपयुक्त प्रस्ताव आए कुनै पनि संस्थाले त्यसलाई स्वीकार गर्नुपर्छ । हामी पनि मर्जर नै गर्नुपर्छ वा प्राप्ति नै गर्नुपर्छ भनेर त्यसैमा केन्द्रित भएर जाँदैनौ । सबै गतिविधि छोडेर मर्जरमै जाने भन्ने पनि हैन् । तर, पनि बिजनेश गर्दै जाँदा उपयुक्त प्रस्ताव आएमा मर्जर वा प्राप्तिमा जान भने सकिन्छ ।  

Advertisement

Advertisement