साधारणसभा गर्न पाँच बीमा कम्पनी योग्य, बाँकीको वित्तीय विवरण दशैंअघि आओस्: बीमा समिति

Advertisement

काठमाडौं । पाँचवटा जीवन बीमा कम्पनीहरूको वित्तीय विवरण बीमा समितिले स्वीकृत गरेको छ । १९ जीवन बीमा कम्पनी मध्ये १४ वटा कम्पनीको विवरण समितिमा पुग्नै बाँकी छ । यता निर्जीवन बीमा कम्पनीले भने आफ्नो भ्यालुयशन गराइसकेको अवस्था छ ।

बीमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा कम्पनीहरूले तयार पारेको वैदेशिक रोजगार म्यादी बीमाको तथ्यांकमा केही त्रुटि देखिएपछि त्यसको असर बीमा कम्पनीको वित्तीय विवरण र साधारण सभामा परेको हो । 

Advertisement

प्रवक्ता पौडेलले कर्पोरेट नेपालसँग भने, ‘वैदेशिक रोजगार बीमामा कम्पनीले दिएको तथ्यांक र भ्यालुयसन गर्दा आएको तथ्यांक नमिलेपछि त्यसले वित्तीय विवरण तयार गर्न ढिलाई भएको हो ।’ उनले बीमा कम्पनीहरूले वित्तीय विवरण पठाउने बित्तिकै आफूहरू स्वीकृति दिनका लागि तयार र सक्षम रहेको बताए । 

हाल जीवन बीमातर्फ महालक्ष्मी लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वित्तीय विवरण स्वीकृत गराई सकेका छन् । उक्त वित्तीय विवरण स्विकृतिको सम्बन्ध सिधा बीमा कम्पनीको साधारणसँग हुन्छ । साधारण सभा गर्नु अघि बीमा समितिले वित्तीय विवरण स्वीकृत गर्नु पर्ने अनिवार्य व्यवस्था रहेकाले सो स्विकृत नगरी कम्पनीले सभा गर्न पाउँदैनन् । 

अहिले स्विकृति पाएका कम्पनीले गत आर्थिक वर्षसम्मको साधारण सभा गर्न पाउँछन् । समितिले कोरोना महामारी, एनएफआरएस प्रणाली र एक्चुरी भ्यालुयसनमा हुने ढिलाईलाई नै जीवन बीमा कम्पनीले साधारण सम्पन्न गर्न नसक्नुको मुख्य कारण बनेको बताएको छ । साधारण सभाका लागि सबै बीमा कम्पनीहरू तात्नु पर्ने समितिले बताएको छ । 

साथै, लामो समय भइसक्दा पनि जीवन बीमा कम्पनीले साधारण सभा गर्नु अघिको वित्तीय विवरण स्विकृतिका लागि  पठाउन अटेर गरेको समितिले स्वीकार गरेको छ । जीवन बीमा कम्पनीहरूले समयमा नै आफ्नो वित्तीय विवरण पठाउँन चासो नदिए पनि एकै पटक सबै जसो कम्पनीको वित्तीय विवरण दशैँअघि आइसक्ने समितिको भनाई छ ।

वित्तीय शुसासन  र आर्थिक पारदर्शीतासँग साधारण सभाको सिधा सम्बन्ध हुने गर्छ । यो कुरा बीमा कम्पनीहरू स्वीकार गर्न तयार छन् । तर, कम्पनीले सो कुरा स्वीकार गरे पनि समयमा साधारण सभा भने गर्न सक्ने अवस्था छैन । जीवन बीमा कम्पनीका केही प्रमुख कार्यकारी अधिृकत (सीईओ) हरूले आफ्नो उद्देश्य साधारण सभा समयमा गर्ने भए पनि व्यवहारिक कठिनाई हुने गरेको बताए । 

Advertisement

Advertisement