बीमा कम्पनीहरुको चुक्ता पुँजी आठ अर्ब ७१ करोडले बढ्यो, अन्य सुचकमा कति सुधार ?

Advertisement

काठमाडौं । गएको एक बर्षमा बीमा कम्पनीहरुको चुक्ता पुँजी आठ अर्ब ७१ करोड ६९ रुपियाँ बढेको छ । गत बर्ष भदौसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५० अर्ब ४४ करोड रुपियाँ रहेकोमा चालु आर्थिक बर्षको भदौसम्म यो बढेर ५९ अर्ब १५ करोड ६९ लाख पुगेको छ । 

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी समग्रमा १७.९६ प्रतिशतले बढेको छ । गत वर्षमा जीवन बीमा कम्पनीको कूल चुक्ता पूँजी ३३ अर्ब ४४ करोड रूपियाँ रहेकोमा अहिले ३९ अर्ब ४४ करोड ६९ लाख रूपियाँ पुगेको छ ।

Advertisement

त्यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ चुक्ता पूँजी १५.९९ प्रतिशतले बढेको छ । गत वर्ष निर्जीवन बीमा कम्पनीको चुक्ता पूजीँ १७ अर्ब रूपियाँ रहेको थियो भने यो बर्ष १९ अर्ब ७१ करोड रूपियाँ भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवाल अहिलेको बीमा बजार विगतको तुलनामा निकै परिवर्तन भएकाले कम्पनीहरूले चुक्ता पूँजी बढाउनुपर्ने पक्षमा छन् । उनले कर्पोरेट नेपालसँग भने, ‘धेरै पहिलाको बजारलाई हेरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी निर्धारण गरिएको थियो अब यसमा हेरफेर गर्न जरूरी छ । पहिले कम्पनीले पनि थोरै व्यवसाय गर्थे । अब अहिले त व्यवसायको दायरा पनि बढेको छ । बीमाको बजार पनि बढ्दैछ ।’ उनले सरकारले दिएको बीमाको ३३ प्रतिशतको टार्गेट पुर्याउन आफूहरू लागिपरेको जानकारी दिएका छन् ।

बीमालेख
यही गएको भदौसम्ममा जीवन बीमालेखको संख्यामा १०.८४ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष भदौसम्ममा ७९ लाख ३५ हजार जीवन बीमालेख बिक्री भएकोमा यो बर्ष सोही अवधिमा बढेर ८७ लाख ९६ हजार पुगेको छ । त्यस्तै, निर्जीवन बीमातर्फ ७.६६ प्रतिशतले बीमालेख बढेको छ । यस्ता कम्पनीको बीमालेख गत बर्ष चार लाख  ३९ हजार हरेकोमाअहिले बढेर चार लाख ७३ हजार पुगेको छ ।

बीमा शुल्क
समीक्ष अवधिमा जीवन बीमा शुल्क ३४.२४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा २० अर्ब ९६ करोड रूपियाँ संकलन भएको बीमा शुल्क यो बर्ष बढेर २८ अर्ब १३ करोड रूपियाँ संकलन भएको छ । 

निर्जीवन बीमा शुल्क ३४.१३ प्रतिशतले बढेको छ । गत बर्ष २५ अर्ब ७३ करोड रूपियाँ रहेको निर्जीवन बीमाशुल्क ३४ अर्ब ५३ करोड रूपियाँ पुगेको छ ।

समीक्षा अवधिमा बीमा गर्नेको संख्यामा भने खासै धेरै वृद्धि देखिन्न । यस अवधिमा बीमा गर्नेको संख्या १.२३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष भदौसम्म तीन करोड ९६ हजार जनाले बीमा गराएकोमा यो बर्ष सोही अवधिमा यो संख्या तीन करोड चार लाख पुगेको छ ।  

बीमा समितिकाअनसार २५.५९ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । तर वैदेशिक रोजगारीमा जाने कामदारले गराउनुपर्ने बीमा समेत जोड्दा भने हाल बीमाको पहुँच २७.५२ प्रतिशत रहेको छ । 

कार्यालय संख्या 
गत बर्ष भदौसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या दुई हजार ७९२ रहेकोमा यो बर्ष सोही अवधिमा बढेर तीन हजार ११५ पुगेको छ । प्रतिशतका हिसावले यो ११.५७ प्रतिशतको वृद्धि हो । 

कर्मचारी संख्या 
समीक्षा अवधिमा बीमा कम्पनीहरुम काम गर्ने कर्मचारी संख्या १०.०४ प्रतिशतले बढेको छ । गत बर्ष भदौसम्म यस क्षेत्रमा १० हजार ९१ कार्यरत रहेकोमा यो बर्ष संख्या बढेर ११ हजार १०४ पुगेको छ । 

Advertisement

Advertisement