सिभिल सेभिङको समस्या समाधानका लागि सहकारी महासंघ सहजकर्ता बन्न तयार छः कंडेल

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सदस्यको बचत रकम फिर्ता गर्नु कुरामा सिभिल समूहले आफ्नो सम्पत्ति बिक्री गरेर भए पनि रकम फिर्ता गर्नुपर्ने बताएका छन् । त्यसका लागि महासंघले सहजीकरण गरिदिनुपर्ने हो गर्न तयार रहेको उनले बताएका छन् । 

उक्त सहकारीका १३७ जना बचतकर्ताको ७० करोड ८७ लाख रुपियाँ बचत फिर्ता गर्न नसकेसँगै सिभिल बैंकका अध्यक्षसमेत रहेका सिभिल सेभिङका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई ठगी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । 

Advertisement

कंडेलले बचतकर्ताको रकम हाउजिङ र अपार्टमेन्टमा लगानी गर्ने सिभिल सेभिङका पदाधिकारीको कार्य गलत भएको बताए । सिभिल सेभिङका हाउजिङ तथा अपार्टमेन्टहरु अपेक्षाअनुसार बिक्री हुन नसकेसँगै सिभिल समूह आर्थिक संकटमा परेको थियो । सहकारीको ठूलो रकम घरजग्गामा लगानी भएका कारण बचतकर्ताले रकम माग गर्ने क्रम बढ्ने तर मागेअनुसार संस्थाले रकम फिर्ता दिन नसक्ने अवस्था बन्दै गयो । संस्था समस्यामा आएपछि संस्थाले तीन अर्ब रुपियाँ रकम फिर्ता गर्न सके पनि ७० करोड रुपियाँ भने फिर्ता गर्न नसकेको हो । 

कंडेलले भने, ‘जे सुकै भए पनि उहाँहरुले जनताको पैसा फिर्ता गर्न सक्नुपर्छ । सहकारीको यति ठूलो पैसा लगेर अपार्टमेन्ट र हाउजिङमा लगानी गर्नु बेठिक हो । अहिले हेर्दा पनि तिर्नुपर्ने रकमभन्दा उहाँहरुको सम्पत्ति धेरै देखिन्छ । त्यो बिक्री गरेर भए पनि पैसा फिर्ता हुनुपर्छ ।’ पक्राउ परेपछि बिक्री गर्ने र रकम फिर्ता गर्ने कुरा कसरी मिल्यो र ? भन्ने प्रश्नमा कंडेलले भने, ‘हिरासतमा रहे पनि बिक्रीका लागि पहल गर्न सकिन्छ । मानिस भेटघाट गर्न सकिन्छ । समस्या समाधानका लागि पहल गर्न प्रहरी प्रशासनले पनि किन अरोध गर्ला र ? बरु त्यसका लागि महासंघले सहजीकरण गर्नुपर्छ भने हामी तयार छौं ।’

उनले यसअघि पनि सिभिल सेभिङबाट त्यहाँका बचतकर्तालाई रकम फिर्ता गराउन काठमाडौं जिल्ला सहकारी संघ, प्रदेश रजिष्ट्रारको कार्यालयले धेरै पहल गरेको सुनाए । पीडितले बनाएको संघर्ष समितिका पदाधिकारी, सिभिल सेभिङका पदाधिकारीसमेत राखेर लिखितरुपमा चरणवद्ध रकम फिर्ता गर्ने सहमति गराइए पनि रकम फिर्ता नभएकाले अहिलेको परिस्थिति आएको कंडेलको भनाई छ । 
 

Advertisement

Advertisement