मन्त्रिपरिषदले पायो पूर्णता, प्रधानन्यायाधीसका जेठानले पाए आपूर्ति मन्त्रालय

Advertisement

काठमाडौं । नयाँ सरकार गठन भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको सिफारिसमा मन्त्री बनेका गजेन्द्र हमालले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका छन् । शुक्रबार नै संसदमा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले राणाले मन्त्रिपरिषदमा भाग खाजेको कुरा अस्वीकार गरे पनि राष्ट्रपति कार्यालयको पत्रमा हमालको नाम देखिन्छ । हमाललाई मन्त्री बनाएकोमा रामचन्द्र पौडेल समूह क्रुद्ध भएको छ । 

Advertisement

प्रधानमन्त्री शेरबहादुर दुउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँडलाई राखेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । यस क्रममा केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । यसअघि  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् । कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री थप्पिएका छन् । रिजालले रक्षा,  बडुले कानुन, न्याय तथा संसदीय मामिला, चौधरीले खानेपानी, रेग्मीले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय पाएकी छन् । 

नेकपा एकीकृत समाजवादी (एस)बाट मन्त्री हुनेहरुको कार्यविभाजनमा पटक पटक हेरफेर गरिएको छ । सुरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन लागेको बताइएकी रामकुमारी झाँक्रीलाई पछि पर्यटन मन्त्रालय दिने भनिए पनि अन्तिमा शहरी विकास मन्त्रालय दिइएको छ । शहरी विकास मन्त्रालय पाउने चर्चा पाएका प्रेम आलेले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाएका छन् । सोही पार्टीका विरोध खतिवडालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । 


 

Advertisement

Advertisement