शेयर बजारमा फेरि करेक्शनः १८.५३ अंकले नेप्से घट्दा साढे ४ अर्बको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पुनः घटेको छ । लगातार घटिरहेको बजार गत साताको पछिल्लो दुई दिन उच्च अंकले बढेको भए पनि आज पुनः करेक्शन देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १८.५३ अंकले घटेको हो । ०.६९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६२.५८ अंकमा झरेको छ । 

गत साताको मंगलबार ४१.८४ अंक र बुधबार ६८.४७ अंकले बजार बढेको थियो । गत साताको अन्तिम दिन विहीबार भने घटस्थापनाका कारण बजार बन्द भएको थियो । नेप्सेका अनुसार आज २२० कम्पनीका ७२ लाख ५१ ह्जार ७ सय ४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५ सय ८१ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार घटेको दिन आज वित्त समूह ६.७६, जीवन बीमा समूह ७३.८६ र म्युचुअल फण्ड ०.११ अंकले बढे पनि अरु समूह राताम्मे भएका छन् । उत्पादनमूलक समूह आज सबैभन्दा बढी २०५.९५ अंकले घटेको हो । 

बजार घटेको दिन पनि आज विभिन्न ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, मैलुङ खोला जलविद्युत, जीवन विकास लघुवित्त र महिला लघुवित्तको शेयर मूल्य क्रमशः १०, ९.९८, ९.५० र ९.३७ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी शिवम् सिमेन्ट, माउन्टेन हाइड्रो र रिडी हाइड्रोको शेयर मूल्य क्रमशः ६.४६, ६.४४ र ६.४२ प्रतिशतले घटेको हो । आज महिला लघुवित्तको उच्च कारोबार भएको छ । महिलाको १८ करोड ९३ लाख ४९ हजार ४ सय १५.५० रुपियाँ बराबरको कारोबार भएको हो । 

त्यसैगरी जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख ८३ हजार ९ सय ५.४० रुपियाँ र नेपाल बंगलादेश बैंकको १५ करोड २७ लाख ३५ हजार ९ सय २६.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । महिला लघुवित्त र नेपाल बंगलादेश बैंकले आजैमात्र आकर्षक लाभांश घोषणा गरेका थिए । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ ।     

Advertisement

Advertisement