तरलता अभावले लघुवित्तमा प्रभाव, लागत बढेकोले नाफामा असर गर्छ: अध्यक्ष लम्साल
वसन्तराज लम्साल, अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ

Advertisement

वसन्तराज लम्साल

काठमाडौं । पछिल्लो समय बैंकहरूमा देखिएको लगानी योग्य रकम (तरलता) अभावको असर लघुवित्तमा पनि देखिन थालेको छ । पछिल्लो समय बैंकहरूमा तरलता सहज नहुँदा बैंकहरूले बढाउने ब्याजदरका कारण लघुवित्तको पनि लागत बढेको छ । गत वर्ष लघुवित्तले पाएको सापटी कर्जा ५÷६ प्रतिशतमात्रै थियो भने यो वर्ष सापटीको ब्याज बढेसँगै लघुवित्तहरूको लागतसमेत बढेको छ । तरलता असहज हुँदा बैंकहरूले दिने सापटी रकमको ब्याज बढेको छ । यस्तो ब्याज बढेका कारण लागत बढेर लघुवित्तलाई अप्ठारो अवस्था पर्न थालिसकेको अवस्था छ ।

Advertisement

यो वर्ष लघुवित्तको सापटी कर्जा १० प्रतिशत पुगिसकेको छ । गत वर्ष पाँच प्रतिशतमा मात्रै पाएको यस्तो कर्जा अहिले शतप्रतिशत बढेर १० प्रतिशतसम्म पुगिसकेको छ । गत वर्ष सस्तोमा पाएको यस्तो कर्जा कारण लघुवित्तको नाफा पनि बढी राम्रो भएको थियो । सस्तोमा कर्जा पाउदा मार्जिन पनि बढी हुन्थ्यो भने महंगो हुँदा मार्जिन कम हुन्छ र लागत पनि बढ्ने नै भयो । बैंहरूमा तरलता अभाव हुँदा सापटीको ब्याज बढेको छ । यसले बैंकको लागत बढाउँछ र नाफामा असर गर्न सक्छ ।

सस्तो सापटी छोटो समयको लागि मात्रै हुने र लामो समयसम्म पनि धेरै महंगो सापटी लिइरहनु नपर्ने हो भने सन्तुलनमा आउन सक्छ । अहिले अपेच्छा भन्दा धेरै माथि सापटीको ब्याजदर बढेको छ । जसले गर्दा लघुवित्तलाई थप अप्ठ्यारो पर्न सक्न कि भन्ने चिन्ता हुन थालेको छ । अहिलेको समस्या अल्पकालिन भएको र बैंकहरूमा देखिएको तरलता अभावले पनि हुन सक्ने भन्ने पनि छ । वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) टाइट भएको छ । कतिपयको त राष्ट्र बैंकले तोकेको अधिकतम सीमा भन्दा माथि सीडी रेसियो गयो भन्ने पनि छ । सीमा भन्दा बढी सीडी रेसियो हुनेलाई कर्जा लगानी बढाउन समस्या भएको पनि देखिन्छ ।

कर्जाको माग पनि बढिरहेकै छ । तर, माग अनुसार निक्षेप बढ्न नसकेको हुँदा यस्तो भएको भन्ने पनि छ । बैंकहरूलाई तोकिएको डिप्राइभ सेक्टरको पाँच प्रतिशतसम्मको कर्जा लगानी पनि पुगिसकेकोले थप लगानी बढाउन बाध्यकारी अवस्था पनि छैन् । अर्को पाटोबाट हेर्नुपर्दा लघुवित्तको पुरानो रिकभर पनि राम्रोसँग हुन सकेको छैन् । गत वर्ष तानतुन पारेर र जासोतसो रिकभर भएको भएपनि यो वर्ष अपेच्छा अनुसार भएको छैन् । लघुवित्तलाई लाग्ने आरोप चाहिँ धेरै शुल्क लिएको, बढी नाफा कमाएको भन्ने छ ।

केही दिन अगाडि मात्रै अर्थ मन्त्रीसँग भएको भेटमा पनि लघुवित्तले ब्याज घटाउनुपर्छ भन्ने विषय आयो । लघुवित्तले व्याज घटाउन सक्छन त्यसको लागि यसले पाउने सापटीको पनि ब्याज घट्नुपर्छ । हामीले यसकै लागि राष्ट्र बैंकसँग पटक पटक वेस रेटका आधारमा लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरिरहेका छौं । यसो भयो भने कुनै सीमा र प्रावधान राख्नै पर्दैैन । वेसरेटमा  बढीमा यति प्रिमियम राख्ने भनेर तोक्ने हो भने लघुवित्त आफैं नियन्त्रणमा आउँछन् । वेसरेटको आधारमा लागत पनि तय हुने हुन्छ । वेसरेट कम हुँदा घटेर र बढ्यो भने बढाएरै लगानी गर्न सकिन्छ । यसले लगानीमा पारदर्शीता देखिन्छ ।

राष्ट्र बैंकले लघुत्तिलाई १५ प्रतिशत ब्याजमा लगानी गर्न पाउने भन्ने सीमा दिएको छ । त्यो भन्दा बढी त कसैले पनि लिन पाउँदैनन् । लघुवित्तले पाँच प्रतिशतमा सापटी पाउँदा र १० प्रतिशत पुग्दा पनि लगानी लिन पाउने ब्याजका सीमा भने उति नै छ ।  यस्तो सापटीको ब्याजदर छोटो समयको लागि मात्रै बढी हुँदा असर नपर्ला तर लामो समय जाने हो भने लघुवित्त चल्न नसक्ने गरी अप्ठ्यारोमा पर्न सक्छन् ।

यसको अर्थ लघुवित्तले धेरै नाफा गर्नु नै पर्छ भनेर हामीले भनेको पनि होइन् । गत वर्ष भने ब्याजदर, राइट ब्याक र प्रोभिजनिङसहितमा भएको सहजताले धेरै नाफा भएको थियो । गत वर्षकै आधार मानेर लघुवित्तले धेरै नाफा गरेको भन्ने पनि गरिएको छ । अब त्यस्तो नहुन सक्छ । गत वर्ष भएको नाफा अस्थायी हो । अब सधैलाई लागत र नाफा उपयुक्त हुन भने वेसरेट नै तय हुनुपर्छ भन्ने हो । हाम्रो राष्ट्र बैंकसँग लामो समयदेखिको माग पनि यही हो ।  तरलता अभाव लामो समयसम्म जाँदा अप्ठारो अवस्था देखिएको हो ।

सरकारको खर्च बढेपछि तरलता अलि सहज हुन्छ भन्ने आशा गरिएको छ । आशा गरे अनुसार नहुन पनि सक्छ । बैैंकहरू कतिपयले आफ्नो क्षमता भन्दा बढी लगानी गर्न खोजेको देखिन्छ  । बैंकहरूमा सीडी रेसियो टाइट भएको भन्ने पनि छ । हुन त बैंकहरूमा पैसा नभएर यस्तो भएको होइन् । धेरै लगानी थोरै बचत भएर यस्तो भएको देखिनुलाई रेसियो नमिलेको मात्रै हो भनेर बुझ्न सकिन्छ । पछिल्लो समय राष्ट्र बैंकले रिपो मार्फत बजारमा पैसा पठाइरहेको भएपनि सहज हुन सकेको छैन् । शेयर बजार पनि घटेको अवस्था छ । विस्तारै शेयर बजार बढ्छ भन्ने पनि अपेक्षा छ । अहिलेको अवस्थामा भनेको पर्ख र हेरको अवस्था हो । (नेपाल लघुवित्त बैंकर्स संघ अध्यक्ष तथा विजय लघुवित्तका सीईओ लम्सालसँग कर्पोरेट नेपालले गरेको कुराकानीमा आधारित)
 

Advertisement

Advertisement