छोटेलाल रौनियारः जो शेयर बढ्दा कहिल्यै मात्तिएनन्, घट्दा कहिल्यै आत्तिएनन्

Advertisement

काठमाडौं । नेपालको शेयर बजारमा एक परिचित नाम हो छोटेलाल रौनियार । उनलाई शेयर बजार जानकारको रुपमा नचिन्ने लगानीकर्ता कमै होलान । जीवनका साढे पाँच दशक उमेर व्यतित गरिसकेका रौनियार सफल लगानीकर्ताका रुपमा चिनिन्छन् । काठमाडौंको मखनमा जन्मिएका उनी पाँच भाईमध्येका कान्छा छोरा हुन । 

बुबा शिवनन्दन र आमा मोतीदेवीका छोरा छोटेलाल रौनियार सबैभन्दा कान्छो भएकोले उनको नाम छोटेलाल रहेको हो । नेपालको शेयर बजार विकासमा ठूलै योगदान दिएका उनी १४–१५ वर्षअघि शेयर बजारमा लागेका हुन् । त्यसअघि उनी गार्मेन्ट कम्पनी चलाउँते । रौनियारको पुख्यौली पेशा नै कपडाको व्यापार ।

Advertisement

सानैदेखि भिन्न सोच र स्वभावका रौनियार परम्परागत कपडा पसल छोडेर गार्मेन्ट उद्योगमा होमिए । उत्पादनसँगै निर्यातमा लागे । लामो समय गार्मेन्टमा लागे पनि यस क्षेत्रमा उनी स्थापित हुन सकेन् । बढ्दो प्रतिस्पर्धासँगै अन्य मुलुकले आफ्ना गार्मेन्ट उद्योगलाई प्रोटेक्शनको नीति लिए पनि नेपालको सरकारले आफ्ना उद्योग संरक्षणमा ध्यान नदिँदा धेरै गार्मेन्ट उद्योग बन्द हुन पुगे । 

गार्मेन्टमा दिगो हुन नसकेपछि छोटेलाल रोनियारले शेयर बजारतर्फ यूर्टन लिए । शेयर बजारमा उनको जीवनको दोस्रो इनिङ सुरु भएको मान्न सकिन्छ । रौनियारले १५ बर्षकै उमेरमा एसएलसी गरेका थिए ।  उनले जुद्धोदय स्कुलबाटबाट दोस्रो श्रेणीमा एसएलसी पास गरेका हुन । एसएलसी पास भएपछि रौनियारले व्यवस्थापन शंकरदेव क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह र पब्लिक युथ क्याम्पसबाट स्नातक तह उत्रिण गरे । 

सानैदेखि केही गर्नुपर्छ भन्ने स्वभावका रौनियार त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर तह अध्ययन गर्दै थिए, त्यही बेलामा बुबाको निधन भयो । त्यसपछि सबै काम आफै गर्नुपर्ने दायित्व उनीमाथि आयो । व्यवस्थापनको विद्र्यार्थी भएको रौनियारलाई व्यवसाय सम्हाल्न खासै समस्या भएन् । २०३४ सालमा उनको बुबाको निधन भएको हो । 

बुबाको १३ दिने काजकर्म सक्किएलगतै रौनियारलाई दिदीले केही रकम हातमा थमाईदिइन् । अब त्यो रकम कहाँ खर्च गर्ने ? उनले सोच्न थाले । त्यो बेलामा गार्मेन्ट उद्योग निकै फस्टाएको बेला थियो । उनले पनि सोही क्षेत्रमा लगानी गर्ने निर्णय गरे । त्यस क्रममा कपडाहरुको अर्डर जापान, अमेरिका जस्ता मुलुकबाट पनि अडर आउँथ्यो । २०३४ सालमा गार्मेन्ट पसल खोलेका रौनियारले चार बर्षमै गार्मेन्ट फ्याट्री खोले । उनले खोलेको कारखानामा झण्डै पाँच सय हाराहारीमा मजदुर कार्यरत थिए । 

२०४६ सालको राजनीतिक परिवर्तनसँगै रौनियारको गार्मेन्ट उद्योग पनि संकटमा पर्न थाल्यो । उक्त राजनीतिक परिवर्तनको केही बर्षमै फेरि माओवादी हिंसात्मक आन्दोलन सुरु भयो । शान्ति प्रक्रियापछि त माओवादीका अनेक युनियन खुल्न थाले । युनियनका नाममा अनेक अडचन सुरु हुन थाल्यो । उद्योग गर्ने वातावरण नै हुन सकेन् । कर्मचारीहरु नै आपसमा झगडा गर्ने, उद्योग व्यवस्थापनलाई धम्क्याउने क्रम सुरु भयो जसका कारण आएका अर्डर समयमा पुग्न सकेन् । गुणस्तरीय सामान उत्पादन गर्दा गर्दै देश विदेशमा माग हुँदाहुँदै पनि उद्योगमा कहिले माओवादी निकट कर्मचारीको तालावन्दी, कहिले कर्मचारीहरुकै कुटाकुटका कारण विस्तारै रोनियारको उद्योग धरायसी हुन थाल्यो । उनको उद्योग बन्द भएको झण्डै १४ वर्ष बितिसकेको छ । 

करोडौं लगानीमा सञ्चालित र झण्डै पाँच सय श्रमिक कार्यरत उद्योगमा ताला ठोक्न लाग्दा रौनियारले गार्मेन्ट व्यवसायमा धेरै घाटा व्यहोरिसकेका थिए । त्यसबाट आफूलाई सम्हाल्दै रौनियार मन भुलाउन श्रीमतीसँग लण्डन पुगे । देशको बिग्रदो राजनीतिक परिस्थितिपछि के गर्ने ? भन्ने कुरामा उनी अन्योलमा थिए । लण्डनको दुई महिना बसेर मन केही शान्त भएपछि उनी स्वदेश फर्किए । 

शेयर बजारमा प्रवेश 
जब उनी स्वदेश फर्किए, तब रौनियारलाई नेपालमा काम गर्नको लागि केही काम थिएन । कम्पनी बन्द भइसकेको थियो । त्यसै क्रममा उनको साथीभाईसँग भेटघाट र छलफल गर्ने कामलाई निरन्तरता दिँदै गए । त्यस क्रममा रौनियारसँगै गार्मेन्ट उद्योगका सहयात्रीसँग पनि भेट हुने गर्दथ्यो । उनका ती साथीहरु शेयर बजारमा प्रवेश गरिसकेका थिए । रौनियारले पनि आईपीओ निष्कासन गरेका कम्पनीमा लगानी गर्न थाले । गार्मेन्ट उद्योग चल्दा नै केही कम्पनीको शेयर उनले किनेका थिए । साथीभाईको सल्लाहअनुसार उनले क्रमस? शेयर बजारमा लगानी बढाउँदै गए । 
 
रौनियार दिनभर ब्रोकर कम्पनीमा गएर कुकिज र चिया खाँदै शेयर बजारको बारेमा बुझ्ने र लगानी गर्ने गर्दथे । उनले त्यसरी गरेको लगानीको मूल्य पनि राम्रै भइरहेको थियो । त्यसै, नयाँ नयाँ राजनीतिक घटनाक्रम सुरु भयो । राजा हटाउने काम भयो । हिजोको हिंसात्मक विद्रोही माओवादी सत्तामा आयो । बाबुराम भट्टराई अर्थमन्त्री बने । भट्टराईले शेयर बजारलाई जुवा घर र उत्पादन नहुने क्षेत्रको रुपमा व्याख्या गर्दै कागजको टुक्राको संज्ञा दिए । शेयर बजारप्रति अर्थमन्त्रीको नकारात्मक दृष्टि र राजनीतिक अन्योलताका कारण शेयर बजारमा पनि ठूलो गिरावट आयो । एक हजार एक सयको हाराहारीमा रहेको शेयर बजार तीन सय अंकको हाराहारीमा आएर रोक्कियो । यसबेला रौनियारले निकै ठूलो नोक्सान भोग्नुपर्यो । 

अन्यौलता र अनिश्चितताको समयमा रौनियार शेयर बजारमा प्रवेश गरेका थिए । उनले शेयर बजारको बारेमा अर्थशास्त्रका पुस्तकहरुमा त पढेका थिए, तर कसरी दोस्रो बजारमा किनबेच गर्ने ? जानकारी थिएन । केही साथीहरुको सहयोगमा शेयर खरिद त गरे तर शेयर बजार झन झन ओरालो लाग्दै गयो । रौनियार जसरी गार्मेन्ट उद्योगमा स्थापित भए, त्यसरी नै शेयर बजारमा स्थापित हुन चाहान्थे । तर, राजनीतिक परिस्थिति बाधक बनिरह्यो । शेयर बजार उकालो नलाग्दा रौनियार अन्योलमा परिरहेका थिए । 

त्यसबेलादेखि हालसम्म आउँदा रौनियारले शेयर बजारमा धेरै खालका उत्तार चढाव देख्दै आए । अनुभव संगाल्दै आए । बजार बढ्दा मात्तिएनन् । घट्दा आत्तिएनन् । आफ्नो निरन्तरता कायम राख्दै गए । आज उनी स्थापित भएका छन् । परिचित भएका छन् । शेयर बजारमा गिरावट आएर नेप्से ११ सय अंकमा आउँदा पनि रौनियार शेयर बजारबाट बाहिरिएनन् । जहाँ काम गरिन्छ, त्यहाँ दिल दिमाग दुबै लगाएर काम गर्नुपर्छ भन्ने मान्यताका रौनियार गार्मेन्ट उद्योगको एउटा उचाईबाट खसे पनि फेरि उचाईमा पुग्न सफल भएका छन् । उचाई लिने क्रममै उनी नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षसमेत भएर शेयर बजार सुधारका लागि धेरै काम संघर्ष गरे जसको स्मरण धेरै लगानीकर्तादेखि नियामक संस्थाका अधिकारीहरु सम्झिरहन्छन् । 

Advertisement

Advertisement