वार्षिक खर्चको ६० प्रतिशत दशैंमा मात्रै, निम्न वर्गलाई कहर मध्यमलाई रहर

Advertisement

काठमाडौं । दशैं भन्ने बित्तिकै आम नेपालीले बुझ्ने भनेको मीठो खाने र राम्रो लगाउने चाड हो । हिन्दू धर्मालम्बीहरूको महान चाड भनिएपनि यसलाई सांस्कृतिक एकताका साथ आम नेपालीले विशेष पर्वकै रूपमा मनाउने गरेका छन् ।

दशैं पर्व सामान्य नेपाली नागरिकदेखि उच्च मध्यम वर्गसम्मलाई हर्ष र उल्लासको पर्व हो । निम्न वर्गलाई दशैं कहर हो भने मध्य तथा उच्च वर्गलाई रहरको खर्च हो । पछिल्लो समय दशैं भनेकै किनमेल र नयाँ सामान खरिद गर्नेे समय भनेर बुझ्न थालिएको पनि छ । संस्कृति आदनप्रदान, समाजिक एकता, पारिवारिक मिलन, साथीसंगीको भेटघाट, आपसी समझदारीको पर्व दशैं भएपनि सबैभन्दा प्रमुख नै खर्च हुन पुगेको छ ।

Advertisement

दशैंमा हुने घुमघाम भने कोरोना महामारीले खुम्चाएको छ । अरु बेला दशैंलाई इन्बाउण्ड (देशभित्रै) र आउटबाउण्ड (देश बाहिर)घुम्ने तथा डुल्ने समयको रूपमा मनाउने गरिएको गरिन्थ्यो । महामारीपछि भने यो क्रम खुम्चिएको छ । घर बाहिरै निस्कन नपाएका र गत वर्ष सहरमै दशैं मनाएका आम नेपाली यो वर्ष बाहिरफेर निस्कन थालेका छन् । महामारी न्यूनीकरण हुँदै गएको र खोपको मात्र पनि बढ्दै गएको भन्दै सरकारले यो वर्ष सहजै हिडँडुल गर्ने वातावरण सिर्जना गरेको छ । जसका कारण दुई वर्षपछि अधिकांश नेपालीको दशंै विगतका वर्षझै उत्साह र रौनकको वर्ष भएको छ ।

सरकारी काम गर्ने कर्मचारी, निजी तथा कर्पोरेट संस्थाका कर्मचारी, मजदुर, व्यापारी, उद्योगीदेखि आम नेपालीको लागि दशैं उल्लासको पर्व हो । अत्यावश्यक सेवामा खटिने कर्मचारी र सेवा प्रदायकबाहेका सबैजसोले परिवारसँग बसेर दशैं मनाउने, घुमघाम गर्ने, मिठो मसिनो खाने र राम्रो लगाउने पर्वको रूपमा दशैं मनाउने गर्छन् । अत्यावश्यक सेवामा खटिने कर्मचारी वा संस्थाहरूका सदस्य पनि परिवारका सदस्यसँग जोडिएर वा साथीभाईसँग रमाइलो गरेर दशैं मनाउने गर्छन् ।

दशैं आम नेपालीको लागि वर्षभरीको कामधन्दा र दौडधूपबाट बचाएर निकालिएको फूर्सद हो । अन्य सबै प्रकारका तनाव भुलेर पारिवारिक वातावरणमा रमाउने साथीभाई इष्टमित्र भेटघाटा गर्ने बेला भएको हुँदा सबैले दशैंलाई उत्साहको पर्वकै रूपमा लिन्छन् । दशैं उपभोग्य बस्तुको बढी खपत हुने समय हो । मोबाइल, गाडी, खाद्यान्न, लत्तापकडा, घरायसी विद्युतीय सामान, सुनचाँदीसहितको वस्तुको खरिद बिक्री यो बेला सामान्य दिनको भन्दा ४० देखि ६० प्रतिशतसम्मले नै बढ्ने गरेको छ ।

यो बेला सरकारी कर्मचारीले दशैंमा खर्च गर्नकै लागि दशैं भत्ता पाउँछन् । यस्तो दशैं भक्ता मात्रै करिब १० अर्ब रुपियाँको रहेको उल्लेख छ । निजी क्षेत्रले पनि आफ्ना श्रमिक तथा कर्मचारीलाई दशैंखर्च दिएर चाड मनाउन पठाउने गर्छन् । दशैंमा विदेशीएका नेपालीले पठाउने रेमिटेन्स पनि बढ्ने भएकोले यो बेला खर्च बढ्ने गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । उनी भन्छन्, ‘दशैं भनेकै आम नेपालीका लागि दैनिक उपभोग्य बस्तुको प्रयोग गर्ने र खपत बढाउने चाडको रूपमा चिनिएको छ ।

नहुनेलाई कहर हुनेलाई रहर
दशैं नहुनेलाई कहर हो भने हुनेखाने वर्गलाई भने रहर हो । दशैंमा मात्रै मिठो खाने र राम्रो लगाउने पर्व हो भनेर बुझ्नेलाई टार्नु र पुर्याउनुपर्ने हुन्छ भने जहिले खाए पनि हुने, खर्च गरेपनि हुने वर्गलाई भने रहर हुने गरेको छ । दशैं विगतका वर्षहरूमा निम्न वर्गका नेपालीलाई मिठो खाने र राम्रो लगाउने चाड भन्ने गरिएको भएपनि अहिले यसको प्रवित्तिमा परिवर्तन आएको छ । दशैंमा निम्न र मध्यय वर्गले मात्रै सामान खरिद गर्ने, मिठो खाने र नयाँ लुगा लगाउन दशैं नै आउनुपर्ने थियो । अहिले यो संस्कृतिमा परिवर्तन आएको छ । मध्य, उच्च मध्यम र उच्च वर्गको लागि दशैं खर्च गर्ने बेला हो भन्ने भएको छ । यो वर्गलाई नै दृष्टिगत गरेर हुने सवारीहरूमा अफर, एक्चजेन्ज मेला, उपहारको बर्षा, आकर्षक छुट, लामो विदा र यसको सदूपयोग गर्ने माध्यम पनि बनेको बुझाई मिश्रको छ ।

जति बेला पनि किनमेल गर्ने, मिठो खान सक्ने, राम्रो लगाउन सक्ने, घुमघाम गर्न सक्ने वर्गको लागि पनि दशैं हर्षोल्लाससहित नयाँ सामान किन्ने बेला पनि हो । यही बेला कसैले गाडी परिवर्तन गर्ने, महंगा मोबाइल किन्ने, सुनचाँदी जोड्नेसहितको काम हुन्छ भने हिडँडुल पनि यो बेला बढी हुने भएकोले दशैं अर्थतन्त्रमा चलहपहल बढाउने गरेको पनि राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र बताउँछन् ।

दशैंमा वस्तु तथा सेवाको प्रयोग बढ्छ । मौसम परिवर्तन हुने समयको सुरुवात भएकोले दशैंमा लगाउने नयाँ लुगासँगै लगत्तै आउने जाडोको कपडाको व्यापार पनि यही बेलाबाट बढ्न सुरु हुन्छ । दशैंमा सबै क्षेत्रमा हुने कारोबार अन्य समयको तुलनामा ६० प्रतिशतसम्मले बढ्ने सम्बन्धित क्षेत्रका व्यापारीहरू बताउँछन् । खाद्यान्न, लत्ताकपडा, सवारी साधान खरिद, घरायसी विद्युतीय सामान, ग्याजेटसहितको व्यापार चम्कने गर्छ भने रेमिटेन्स आय पनि बढ्ने हुँदा अर्थतन्त्र चलयमान हुन्छ ।

दशैंमा विदेशमा रहेको नेपालीले पठाउने रेमिटेन्स अन्य समयको तुलनामा बढेकै हुन्छ । वर्षेनी यस्तो रेमिटेन्स बढ्दै गएको भएपनि कोरोना महामारीमा पनि यसले अर्थतन्त्र चलयामान बनाउनमा सहयोग पुर्याएको देखिन्छ । यो वर्ष पनि दशैं सुरु हुनु अगाडि साउन महिनामा मात्रै ७५ अर्ब ९६ करोड रुपैयाँको रेमिटेन्ट आय भएको छ । यो आय गत वर्ष भन्दा २३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपालमा हाल सञ्चालनमा रहेको पाँच दर्जन रेमिटेन्स सेवाप्रदायकबाट यस्तो आय आउने गरेको छ । नेपालबाट मासिक रुपमै बाहिरिने १३ हजार नयाँ कामदार र एकपटक गएर आएका पुनः विदेशीने ११ हजार नेपालीले मासिक पठाउने रेमिटेन्सकै आधारमा नेपालको अर्थतन्त्र धानिएको छ ।

उपभोग्य बस्तुको उपभोगले बढाएको खर्च
अर्थशास्त्री केशव आचार्य दशैं पर्व नै उपभोग्य वस्तुहरूको प्रयोग बढ्ने बेला भएको बताउँछन् । सवारी साधनले राख्ने बिक्री मेलामा ग्राहकको आकर्षण बढ्नु यही बेला बिक्री बढ्नु, सुनचाँदी पसलमा खरिद बिक्री बढ्नु, कसैले टीभी किन्ने, कसैले खाद्यान्न किन्ने, कसैले विद्युतीय सामान किन्न दौडिएका हुन्छन् । यो बेला धेरैले दशैंको मौका छोप्नु खोजेको पनि आचार्य बताउँछन् । जसले गर्दा खर्च बढाइरहेको छ भने अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगिरहेको छ ।

दशैं खाने पिउने मात्रै नभएर समाजका सदस्य भेला हुने, विदेशीका नेपाली घर फर्कने, सहर पसेका गाउँ फर्कने हुन्छ यसले गर्दा जहाजदेखि गाउँमा चल्ने ट्रकसम्मको व्यवसाय बढाउन सहयोग गरेको हुन्छ । कसैले यही बेला भारी बोक्ने काम पाउला त कसैले भाडा वा श्रमिकले श्रमको ज्याला पाउँछ । यसले गर्दा अर्थतन्त्र मात्रै नभएर समाजलाई नै चलायमान गराउने भनेर दशैं पर्वलाई बुझ्ने गरिएको आचार्य बताउँछन् ।

अर्थशास्त्री गोविन्द पोखरेल पनि दशैं सांस्कृति आस्थाको पर्व भएकोले यो बेला हुने खर्चलाई अर्थतन्त्र चलयमानको महत्वपूर्ण समय भएको बताउँछन् । सरकारी कर्मचारीले दशैं पेस्की पाउने, निजी क्षेत्रले पनि आम्दानीको जोहो गर्ने र खर्चको स्रोत खोज्ने गर्छ । जसका कारण खपत पनि बढी हुन्छ । यो बेला माग बढ्ने भएकोले वस्तु तथा सेवाको आयात बढ्न भने विभिन्न छुट र अफरले खर्च बढाउन सहयोग गरेको हुन्छ । त्यसैले पनि दशैं भनेकै खर्च गर्ने बेला हो भन्ने पनि हुन थालेको बुझाई पोखरेलेको छ ।

दशैंलाई व्यापार र व्यवसायको पनि चाड मानिने भएकोले यो बेला वर्षोपछि खरिद गर्ने सामान वा सेवालाई मौका पर्खेर बसेको हुने उद्योगी व्यवसायी बताउँछन् । यो बेला दशकपछि एक पटक किन्ने गाडी किन्न आउने, पाँच साता वर्षपछि एकपटक परिवर्तन गर्नेले दुईपाङ्गे किन्ने र नयाँ ग्राहक पनि यही बेला निजी सवारी साधान प्रवेश गर्ने हुने नाडाका अध्यक्ष कृष्ण दुलाल बताउँछन् ।  दुलाल भन्छन्, ‘हरेक वर्ष दशैंलाई दृष्टिगत गरेर हुने नाटा अटोसोमा मात्रै करिब पाँच अर्बको कारोबार हुने गरेको छ । यस्तो कारोबार दशैं मेला लाग्दा बढी हुने हुन्छ भने मेला नलाग्दा खरिद हुने काम नभएको भन्ने चाहिँ होइन् ।’ मेलामा वर्षभरी हुने कारोबारको ३० प्रतिशत कारोबार हुन्छ भने बाँकी ७० प्रतिशत वर्षभर हुने गरेको बुझाइ उनको छ ।

किनमेलमा भिडभाड र खर्च
बजारमा बढ्ने भिड र तथा चहलपको बढ्नुको माध्यम नै यात्रा र किनमेल हो । वस्तु तथा सेवा खरिद बिक्री लागि आम उपभोक्ता तथा व्यापारी बजारसम्म पुग्नुपर्ने हुन्छ । बजारमा आएका सामान किनबेचनका लागि जानुपर्ने भएका कारण बजारमा चहलपलह देखिन्छ । दशैंमा गाँउघर जानेले गर्ने किनमेल देखि सहरमै बस्नेले प्रयोगर्ने सामानसम्मको व्यवासाय बढेको छ । दशैंलाई मात्रै पाँच अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गर्छ ।

दशैंमा विलासिता मानिएका ठूला र महंगा सवारी, सुन चाँदीसहितको कारोबार पनि बढी हुने गरेको छ । विलासिताका सेवा कतिपय अवस्था अनुसार प्रयोगकर्ताका लागि अत्यावश्यक भइसकेको हुन सक्छ । पछिल्लो समय विलासिताका सामान आवश्यकतामा परिणत भइसकेका छन् । सवारी साधन, मोबाइल, टीभी, कम्प्युटरसहितका साधन पहिले विलासितामा गणना गर्ने गरिएको थियो भने अहिले अत्यावश्यक भइसककेको छ । यसले गर्दा पनि खर्च बढाउन सहयोग गरेको छ ।

भन्सार विभागकै तथ्यांक अनुसार पनि नेपालमा मासिक ११ अर्ब रुपैयाँको सवारी साधान र यसका पाटपूर्जा आयात हुने गरेको छ । यस्तो आयात सुनचाँदी मात्रै मासिक ६ अर्बको खपत हुने गरेको पनि तथ्यांकले देखाएको छ । विद्युतीय सामान खरिदमा हुने खर्च साढे तीन अर्ब छ भने तयारी पोशाकमा हुने खर्च मासिक साढे दुई अर्ब रुपियाँको छ । यस्तो तथ्यांक दशैं अगाडिको महिनामा हुने गरेकोले दशैंलाई अझै बढ्ने पनि उल्लेख छ ।

दशैंका लागि नेपालमा खाद्यान्नमै अर्बौ खर्च हुने गरेको छ । दशैंको महिना मात्रै मासिक चार अर्ब रुपैयाको चामल खपत हुने गरेको छ । अन्य अत्यावश्यक वस्तुको पनि उपभोग यस्तै गरी बढिरहेको छ । खाद्यान्न र अत्यावश्यक सामाग्रीको खपत सामान्य दैनिकी चलाउन पनि आवश्यक पर्ने भएपनि दशैंलाई नै दृष्टिगत गरेर र दशैं केन्द्रित अर्थतन्त्र भएको अर्थविदहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो वर्ष दशैंलाई मात्रै करिब ३५ अर्ब भन्दा बढीको नयाँ नोट साटिने गरेको भएपनि यो वर्ष भने कोभिडका कारण २४ असोजसम्मा आठ अर्ब मात्रै नयाँ नोट साटिएको छ ।

राष्ट्र बैंकले दशैंलाई यो वर्ष जम्मा १० अर्ब मात्रै नयाँ नोट बैंकहरूलाई पठाएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार यो वर्ष कोभिडका कारण नयाँ नोट कम साटिएको हो । दशैं मनाउने तथा दशैंमा टिकाटालो गर्दा साना तथा नयाँ नोटको प्रयोग बढी हुने गरेको भएपनि विगतका वर्षहरूो तुलनामा यो वर्ष कम नयाँ नोट साटिएको पोखरेलले कर्पोरेट नेपाललाई बताए । 

अफर र छूटको पर्व दशैं
दशैं हरेक नेपालीका लागि मात्रै नभएर उद्योगी र व्यापारीको पनि चाड हो । दशैं भन्ने बित्तिकै अत्यावश्यक सेवादेखि विलासिताका सामानसम्ममा अफर र छूट दिने गरिएको छ । नेपाली अर्थतन्त्र चलयमान बनाउन यस्तो अफर र छूटले पनि थप सहयोग गरेको छ । अर्थतन्त्र चलायमान बनाउन जहाजको टिक किन्दा, सवारी साधान किन्दा, मोबाइलमा ब्लासेन्ट पठाउँदा, विद्युतीय भुक्तानी गर्दादेखि अत्यावश्यक तथा र विलासितासम्मका सामान किन्दा अफर एवं छूट पाइन थालेको छ ।

अर्थतन्त्र चलायमान बढाउन दशैं आफैंमा महत्वपूर्ण चाड हो भने छूट र अफरले झन उत्साह थप्ने गरेको छ । आम नेपाली दशैंलाई नै सामान खरिद गर्ने योजना बनाउने र दशैंलाई पैसा जम्मा पारेर लत्ताकपडा किन्नेदेखि सवारी साधान र विशासिताका साधान मानिने महंगा सवारी र सुनचाँदी जोड्ने गर्छ । यही बेला पूmर्सद हुने भएकोले बाहिरफेर घुम्न निस्कन्छन् । जसका कारण हरेक क्षेत्र, पेशा, व्यवासायले सम्बन्धित ग्राहक आकर्षण गर्न छूट र अफरको वर्षा नै दशैंलाई चलाउने गरेका छन् । यस्तो छूट र अफरको वर्षाले नयाँ ग्राहक आकर्षित गर्न सकिने र कारोबार बढाएर एकैपटक बढी नाफा कमाउने व्यवसायीको उद्देश्य हुने गरेको पनि छ ।

बजारमा अहिले खाद्यान्नदेखि यात्रा गर्दासम्म छूट र अफर आएको छ । दैनिक उपभोग्य वस्तु मानिने खाद्यान्न किन्दा पनि उद्योगी व्यवासायीले आफ्नो ब्राण्डतर्फ आकर्षित गर्न र व्यापार व्यवासाय बढाउन छूट अफर चलाएका छन् । मोबाइल, सवारी साधन, विद्युतीय सामाग्री, विद्युतीय भुक्तानी, रेमिटेन्स, हवाई यात्रा, वालेटबाट हुने कारोबार तथा भुक्तानी सेवाप्रदायकको नगदरहित कारोबारसम्ममा उपहार र छूटको वर्षा सुरु भएको छ । यी सेवा र सुविधामा ग्राहकलाई नगद छूट, हात खालि नजाने उपहार, स्योर सर्ट, स्क्रार्च कुपन, लक्की ड्र, उत्कृष्ट प्रयोगकर्ता, सेवा वा सुविधा प्रयोग गरेवापत लिने उपहार सामान्य हौसल्लादेखि नगद, गाडी, मोटरसाइक र घुम्न जाने प्याकेजसम्म हुने गरेको छ ।

ग्राहक आकर्षण गर्न हुने यस्तो छुट र अफर नयाँ सेक्टरमा पनि जान थालेको छ । अहिले इसेवाबाट मोबाइलमा रिचार्ड गर्दा मोटरसाईकल, यति एयरलाइन्सबाट हवाई जहाज यात्रा गर्दा स्कूटर, मोबाइल टीभी किन्दा उपहार, विद्युतीय भुक्तानीमा क्यास ब्याकसहित आकर्षक उपहारदेखि दैनिक उपभोग्यदेखि विलासिताको सामान किन्दासमम यस्तो उपहार राखिएको छ । यसले ग्राहक तान्न मात्रै नभएर नाफा बढी कमाउन व्यवसायी लालायित हुन्छन् । जसले अर्थतन्त्र चलायमान बनाउँछ ।
 

Advertisement

Advertisement