दुई वाणिज्य र दुई विकास बैंकले डाके साधारण सभा, लाभांश पारित गरिंदै

Advertisement

काठमाडौँ । दुई वाणिज्य बैंक र दुई विकास बैंकले वार्षिक साधारण सभा डाकेका छन् । कुमारी बैंक, सिटिजन्स बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभाको मिति तोकेका हुन् । 

यसैक्रममा कुमारी बैंकको वार्षिक साधारण सभाकात्तिक १६ गते हुने भएको छ । केन्द्रीय कार्यालय नक्सालमा बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट एजीएम हुने भएको हो ।उक्त साधारण सभाले गत आवको नाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभा प्रयोजका लागि कात्तिक ८ गते शेयर दाखिल खारेजी (बुक क्लोज) को मिति तय गरिएको छ ।  

Advertisement

यता, सिटिजन्स बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभाले १२.९१ प्रतिशत बोनस र कर प्रयोजन सहित ३.०८ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साधारण सभाको प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरिने भएको हो । 

यसैबीच, कामना सेवा विकास बैंकको १५औँ वार्षिक साधारण सभा  कात्तिक २३ गते हुने भएको छ । पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा बिहान १० बजे साधारण सभा गरिने भएको हो । उक्त साधारण सभाले १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना संचालक चयन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कात्तिक १० गते बुकक्लोज गर्ने निर्णय गरिएको छ ।  

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको १७औँ वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । काठमाडौँको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरिएको हो । उक्त साधारण सभाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ गरी १०.५२ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कात्तिक ५ गतेदेखि १६ गतेसम्म शेयर दाखिल खारेजी बन्द (बुकक्लोज) को गरिने छ । 

Advertisement

Advertisement