बडादशैंः नारीवादी सौन्दर्यको अनुपम चाड

Advertisement

संसारमा विभिन्न धर्म संस्कृति र सम्प्रदाय छन् । खासगरी निश्चित–निश्चित मुल धर्महरु संसारभर अधिपत्यमा रहेका छन् । ती मुल धर्म भित्र विभिन्न सम्प्रदाय वा उपसम्प्रदायहरु रहेका छन् । 

यसरी आस्थाका यी पन्थहरुमा विभिन्न भगवानका स्वरुपहरुको पूजा, आराधना तथा उपासना हुँदै आएको छ । कतिपय धर्ममा एकल देवताको पूजा हुन्छ भने कतिपयमा बहुस्वरुपमा देवताको पूजा हुने गर्दछ । 

Advertisement

हरेक धर्ममा भगवत मार्ग वा शान्तिको प्राप्तिको आकाँक्षा समान रहेको देखिन्छ । वा हरेक धर्मका बीच केही समानता रहेको अवश्य छ । तर केही आधारभूत फरकहरु पनि हरेक धर्म–धर्मका बीचमा रहेको देखिन्छ । साथै कतिपय विशिष्ठ फरकपना वा विशिष्ठ विशेषता केही धर्म–संस्कृतिमा रहेको छ । 

हाल संसारमा विद्यमान रहेका वा आस्थाको अभ्यासमा रहेका धर्महरुमध्ये वैदिक सनातन हिन्दू धर्म–संस्कृति मात्र एक यस्तो संस्कृति हो– जहाँ नारी स्वरुप भगवानको पूजा, आराधना तथा उपासना गर्ने गरिन्छ । स्त्री शक्ति अर्थात नारी शक्तिको उपासना गरिने एक मात्र धर्म भएकाले वैदिक सनातन हिन्दू धर्म–संस्कृति मात्र यस्तो आस्थाको पन्थ हो जहाँ नारी अधिकार स्थापनाकालदेखि नै थियो । 

विश्वमा रहेका अन्य धर्मका पन्थमा नारीशक्तिको पूजा, आराधना तथा उपासना हालसम्म नहुने तर अनादीकालदेखि नै स्त्री शक्तिको पूजा वैदिक सनातन हिन्दू धर्म–संस्कृतिमा हुने विषयबाट स्वयं सिद्ध हुन्छ कि वैदिक सनातन हिन्दू धर्म–संस्कृति नारीवादी चिन्तन सहितको संस्कृति हो । 

वैदिक सनातन हिन्दू धर्म–संस्कृतिका वर्षदिनभरका विभिन्न चाडमा नारीशक्तिको पूजा हुने भए तापनि विशेषगरी दूर्गा पक्ष यानेकी बडादशैंका बेलामा विशेष गरी विविध नारी स्वरुपा शक्तिको पूजा हुने गर्दछ । नारीलाई शक्तिकी स्रोत भएको, विद्याको स्रोत भएको, उन्नति तथा प्रगतिको स्रोत भएको स्वीकार मात्र गरिएको नभई पूर्ण रुपमा भरोसा समेत गरिएको देखिन्छ । 

तीन ‘महाशक्ति’को स्वीकार्यता र आराधना
बडादशैंमा नारीशक्तिका तीन महाशक्तिको पूजा हुने गर्दछ । अर्थात महाशक्तिको स्रोत नारी रहेको यसबाट स्पष्ट हुन्छ । यसमा सामरिक शक्तिकी अधिष्ठात्री महाकालीको विशेष पूजा हुने गर्दछ जसमा वली प्रदान, हात हतियारको पूजा तथा प्रदर्शन, हर्ष बढाई, शक्तिको उपासना, सामरिक बलको महत्व तथा स्वीकार्यता, अन्यायमाथि न्यायको हावी हुनुपर्ने जरुरी तथा स्वीकार्यता आदी पर्दछन् । 

बडादशैंमा अर्काे महाशक्तिका रुपमा महालक्ष्मीको पूजा तथा उपासना गर्ने गरिन्छ । कुनै पनि उन्नतिका लागि आवश्यक पर्ने बल अर्थात आर्थिक सम्पन्नता, संमृद्धिको अधिष्ठात्री नारीशक्ति रुपी महालक्ष्मी भएको मानिन्छ । त्यसैले बडादशैंमा महालक्ष्मीको धुमधामका साथ आराधना हुन्छ । 

बडादशैंको नवरात्रमा नारीस्वरुप महाशक्तिका रुपमा महासरस्वतीको विशेष पूजा हुने गर्दछ । बुद्धि, ज्ञान विज्ञान, चतु¥याईं, कला संगीत, बाणीं आदीकी अधिष्ठात्री सरस्वती र उनको अधिकतम शक्तिरुपी स्वरुपका रुपमा महासरस्वतीको पूजा आराधना हुने गर्दछ यस बेला । 

त्यसैले वैदिक हिन्दू धर्म संस्कृति मात्र एउटा यस्तो संस्कृति हो जहाँ महाशक्तिको स्वरुपका लागि नारी शक्तिको पूजा गर्ने गरिन्छ । 

नौ देवीको फरक फरक स्वरुपको पूजा
बडादशैंलाई दूर्गा पक्ष पनि भन्ने गरिन्छ । र यही दूर्गा पक्षको ९ दिनसम्म देवीका विभिन्न ९ वटा स्वरुपको हरेक दिन पूजा गरिन्छ । नौ दिनसम्म फरक फरक उमेरकी कन्या वा स्त्रीलाई साक्षात जीवित देवी यानेकी भगवानका रुपमा श्रद्धापूर्वक पुज्ने गरिन्छ । 

नौ दिनसम्म फरक फरक नाममा नवकन्यालाई पूजा गर्ने गरिन्छ । जुन निम्नानुसार गरिन्छ । 
पहिलो दिन २ बर्षकी सत्या नामकी कन्या । 
दोस्रो दिन ३ वर्षकी त्रिमूर्ति नामकी कन्या ।
तेस्रो दिन ४ वर्षकी कल्याणी नामकी कन्या । 
चौथो दिन ५ वर्षकी कामाक्षी नामकी कन्या ।
पाँचौ दिन ६ वर्षकी गायत्री नामकी कन्या ।
छैठौँ दिन ७ वर्षकी चण्डिका नामकी कन्या ।  
सातौ दिन ८ वर्षकी शाम्भवी नामकी कन्या ।
आठौँ दिन ९ वर्षकी दूर्गा नामकी कन्या ।
नवम दिन १० वर्षकी सुभद्रा नामकी कन्या ।

यदि हरेक दिन फरक फरक कन्यालाई फरक फरक स्वरुपमा पूजा नगरिएको खण्डमा नवमी तिथिका दिन ९ जना कन्यालाई नवदूर्गा स्वरुपमा पूजा गर्ने गरिन्छ । यसरी स्त्रीका अनेकौ शक्तिरुपी स्वरुप हुने स्वीकार गरि व्यवहारिक जीवनमा पूजा नै गर्ने थिति वैदिक सनातन धर्म संस्कृतिमा रही आएको छ ।
नवदुर्गा स्वरुपमा नौ दिनसम्म पूजा
त्यसैगरी बडादशैँका ९ दिनसम्म नवदूर्गाका फरक फरक स्वरुपलाई पुज्ने गरिन्छ । 
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदूर्गाः प्रकीर्तिताः ।।

यसरी नारीस्वरुप आद्यशक्ति दूर्गाले मानव जगत र लोकको कल्याणका लागि विभिन्न स्वरुप धारण गरेर रक्षा गरेको दृष्टान्त रहेको छ । लोकमा साधु जगतको रक्षाका लागि आसुरी शक्तिको निवारण अनिवार्य रहेको र त्यसका लागि शक्ति धारण गरी निवारणमा उत्रेको छर्लङ्ग हुन्छ । र यी सबै यथार्थ निवारणका लागि नारीशक्ति नै अपरिहार्य भएको यथार्थ बोध वैदिक सनातन संस्कृतिले स्थापित गरेको छ । 

महिलालाई चुनावमा मतदान गर्न दिएको एक सय वर्ष आसपास पुगेको सन्दर्भमा वैदिक सनातन धर्म–संस्कृतिले महिलालाई पुज्ने पद्दति हजारौं बर्षअघिदेखि निरन्तर अभ्यासमा रहनुले विश्वमा नारीवादी चिन्तन दिने यही धर्म संस्कृति भएको प्रमाणित हुन्छ । अर्थात नारीवादी चिन्तनको जन्मदाता नै वैदिक सानातन धर्म संस्कृति हो । 

न्याय स्थापनाका लागि बल प्रयोगको सिद्धान्तको बोध र स्वीकार्यता
जगतमा अन्यायका लागि उद्धत हुने शक्ति सदैव रहने र त्यसको नियन्त्रण सदैव आवश्यकता रहेको बोध वैदिक सनातन धर्म संस्कृतिका संस्थापक ऋषिमुनि विद्वान वैज्ञानिकहरुले गराएका हुन् । अर्थात सुरक्षा प्रणालीको अपरिहार्यताको जन्मदाता केन्द्र यही वैदिक सनातन धर्म संस्कृति हो । 

अन्यायकर्ता शक्तिको नियन्त्रणका लागि बल प्रयोगको सिद्धान्त पनि यसैले प्रतिपादन गरेको हो । अर्थात भौतिकरुपमा बल प्रयोग बिना त्यस्ता खालको आसुरी अर्थात नकारात्मक शक्ति नियन्त्रित हुन नसक्ने यथार्थबोध यहाँ गराइएको छ । त्यसैले देवीले कतिपय आसुरी शक्तिका अभ्यासकर्ता राक्षसहरुलाई भौतिक रुपमा नै बध गर्नु परेको छ । 

अर्थात समाजलाई न्यायपूर्ण बनाई राख्न र सत्यको संरक्षणका लागि शक्ति केन्द्रीत हुनु पर्दछ । र उक्त शक्ति नारीद्वारा प्रदत्त हुन सक्दछ भन्ने तत्वबोध यहाँ रहेको छ । त्यसैले नारीलाई अवला वा अरुको भरमा चल्ने नभई शक्तिको समेत प्रयोग गर्ने निर्णायक पक्षका रुपमा वैदिक सनातन धर्म संस्कृतिले स्थापित गरेको छ । 

तसर्थ संसारका नारीवादी चिन्तकहरुले अत्यन्त गहिराईका साथ वैदिक सनातन धर्म संस्कृति भित्रको महान चाड बडादशैंमा रहेको नारीवादी सौन्दर्य चिन्तनको महत्वलाई कम्तिमा एक पटक भए पनि सिंहावलोकन गर्नुपर्ने देखिन्छ । साथै वैदिक सनातन धर्म संस्कृतिका अनुयायीहरुले पनि शास्त्रसम्मत वचनको दृष्टान्त र महत्वलाई बुझेर व्यवहारमा नारीलाई सशक्त बनाउन कदम चाल्नुपर्ने देखिन्छ । तब मात्र यस चाडभित्रको गुह्य सन्देश र व्यवहारिक सन्देशलाई संसारभर बुझाउन र अरुको पनि ध्यान आकर्षण गर्न सकिन्छ । 
जय दूर्गे माता ।

(लेखक पन्त युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा हस्तरेखाविद् हुन् । सम्पर्क ९८४१५२७५१०)

Advertisement

Advertisement