महिना दिनदेखि विद्युत् अवरुद्ध हुँदा घरेलु तथा साना उद्योग बन्द

Advertisement

सिमकोट । हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् । 

सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु परेपछि यतिखेर दैनिक दिन सोलार तथा ब्याट्रीको जोहो गर्न थालेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सिमकोट–१ देखि ७ सम्मका स्थानीयवासी सोलार टुकीको खोजीमा सदरमुकाम पुग्ने गरेका छन् । 

Advertisement

विद्युत् बन्द भएको एक हप्ता यतादेखि बजारका विभिन्न सोलार पसलमा सोलार किनबेच गर्ने सेवाग्राहीको घुइँचो लाग्न थालेको छ । दैनिक एउटा पसलमा मात्रै कम्तीमा पनि १५ देखि ३० वटासम्म सोलार बिक्री हुने गरेको एयरपोर्ट चोकमा रहेको कुम्मेर सोलार तथा ब्याट्री पसलका प्रोप्राइटर टेकबहादुर रावतले बताए ।  
    
विद्युत् अवरुद्ध भएपछि बल्ब, सोलार, ब्याट्री र कन्भर्टरलगायतका सामग्री बिक्री बढेको रावतले बताउनुभयो । जिल्लामा बन्द भएको विद्युत् मर्मत कार्य भइरहेको भए पनि कहिले सञ्चालन हुने हो त्यसको भने यकिन हुन नसकेको बताइएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामका सबै इलेक्ट्रोनिक पसल र घरेलु तथा साना उद्योग बन्द भएका छन् । 

दसैँमा सिमकोट अँध्यारो
नेपालीको महान् पर्व दसैँको समयमा हुम्लाको सदरमुकाम सिमकोट अँध्यारो बनेको छ । झण्डै एक महिनादेखि अवरुद्ध बनेको विद्युत् सेवा समयमै मर्मत हुन सकेको छैन । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् विस्तार गरेको हेल्दुङ साना जलविद्युत् आयोजनाको नहर गत भदौ २१ गते राति भत्किएपछि स्थानीयवासी अध्याँरोमा दसैँ मनाउन बाध्य भएका हुन् । अविरल वर्षाका कारण पहिरो गएपछि आयोजनाको नहर भत्किएको थियो । नहर मर्मत गरी एक साता विद्युत् सेवा सञ्चालन गरिए पनि फेरि भत्किएको हो । बत्ती नहुँदा ठूलो सास्ती भोग्नुपरेको राजबहादुर बोहराले बताए ।  

दसैँको समयमा विद्युत् आपूर्ति बन्द हुँदा वर्षमा एक पटक आउने चाड राम्रोसँग मनाउन नपाएर अध्याँरोमै मनाउन बाध्य भएको बोहराले गुनासो पोखे । हुम्लाको विद्युत् प्राधिकरण कार्यालयले मर्मतका नाममा करोडौँ रकम खर्च गरे पनि स्थायित्व हुने गरी बनाउन नसकेको हो । गत वर्षसमेत हुम्लीले अध्याँरोमा दसैँ मनाएका थिए भने वर्षसमेत अध्यारोमा मनाउन बाध्य भएका छन् । 

विद्युत् भार कटौतीको भार खेप्नुपर्ने समय सुरु
अब चिसो समय सुरु भएसँगै हिउँदको याममा सिमकोटमा बसोबास गर्ने नागरिकले फेरि विद्युत् भार कटौतीको भार खेप्नुपर्ने समय आएको छ । हिउँदमा खोलाको पानी कम हुँदै जाने र विद्युत् आपूर्तिका लागि आवश्यक पर्ने पानी नभएका कारण मङ्सिरदेखि वैशाखसम्म यहाँका नागरिकले दैनिक १८ देखि २० घण्टासम्म विद्युत् भार कटौतीको भार खेप्नुपर्ने हुन्छ । 

यो समय बिजुली नहुँदा दैनिक कामकाज प्रभावित भएका छन्, बालबालिकाको पढाइ अवरुद्ध भएको छ । बत्ती नहुँदा सानो कामका लागि पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता छ भने सिमकोटमा बेलाबेलामा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । 

मोबाइल चार्जको एक सय 
महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले एक मोबाइल चार्ज गरेबापत रु १०० लिने गरेका छन् । समयमै विद्युत् मर्मत हुन नसक्दा दसैँको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण रु १०० तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारबासीको रहेको छ । 

महँगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले रु १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन् । व्यवसायी भने रु ३५० प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन् । हुम्लामा सञ्चालित दुई रेडियोले पनि आफ्नो प्रसारण बन्द गरेका छन् । 

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गरेर सञ्चालनमा ल्याउनका लागि नेपाल विद्युत् प्राधिकरण कार्यालयले कुनै चासो देखाएको छैन । वर्षमा एक पटक आउने चाड भएका कारण सबै कर्मचारी दसैँ मनाउन व्यस्त हुँदा सेवाग्राहीले अँध्यारो बस्नुपरिरहेको छ । रासस

Advertisement

Advertisement