‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा

काठमाडौं । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । विश्वका चर्चित बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।     
     
शनिबार सामाजिक सञ्जालमा आयोजक सस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने भिडन्तको अन्तिम तयारी पुरा भएको जनाएको छ । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा पूरा गरेका थिए । 

प्रशिक्षक देवकुमारले आज सामाजिक सञ्जालमार्फत् प्रतियोगिताको आवश्यक अन्तिम तयारी सम्पन्न भएको जनाएका छन् । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन् “युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गरेका छन् । अविरलले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्दछु । ” सो प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङमा उतारिने गरिन्छ ।     
     
 ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए ।     
     
सानो उमेरमा उँचो सफलता     
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित भएका थिए । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका थिए । पछिल्लो समय उनले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ ।     
     
वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।     
     
उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए । 

अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उनले जानकारी दिए । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । उ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौँ” उनले भने ।