एनआरएनएको कार्यकाल छ महिना थपियो, निर्वाचनको माहौल बनाउने जिम्मा अध्यक्ष पन्तलाई

Advertisement

काठमाडौँ । गैरआवासीय नेपाली सङघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ ।

Advertisement

बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष कुमार पन्तलाई जिम्मा दिइएको प्रवक्ता क्षेत्रीले बताए । 

एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्रबमोजिम २३ देखि २५ अक्टोवरका लागि तय गरिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । एनआरएनएको अध्यक्ष पदको लागि कूल आचार्य, रविना थापा र डा बद्री केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

Advertisement

Advertisement