ब्याजदर उफ्रिएर माथि गइरहँदैन, राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेकै छ: प्रवक्ता ढकाल

Advertisement

काठमाडौं  । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकहरूले ब्याजदर सधै उफ्रिन नपाउने र माथि गइरहने अवस्था सधै नहुने बताएका छन् । बैंकहरूमा पछिल्लो एक वर्षमा भएको व्यवस्थाले ब्याजदर अझै कुँदिहाल्ने र माथि जान्छ भन्ने अवस्था भने नरहेको ढकालले बताए । उनले भने ‘ बैंकहरूले मुद्धती निक्षेपको मात्रै ब्याजदर बढाने तर बचतको नबढाउने भन्ने पनि हुँदैन् । त्यसैले ब्याजदर सन्तुलनमै बढेको हुन्छ ।’

ढकाल भन्छन्, ‘बैंकहरूले बेस रेटको आधारमा मात्रै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था, पाँच प्रतिशतको स्प्रेट कायम गर्नैपर्ने व्यवस्थाले पनि एक खालको स्थायित्व दिने हुँदा ब्याजदर सधै उफ्रिएर माथि गइहाल्छ भन्ने छैन् ।’ तथापी राष्ट्र बैंकले यसलाई सुक्ष्म रूपमा अध्ययन भने गरिरहेको ढकालको भनाइ छ ।

Advertisement

पछिल्लो समय बैंकहरूले बढाएको ब्याजदरको विषयमा उनले भने ‘बैंकहरूले निक्षेप तान्न ब्याज बढाएका हुन् । यसरी ब्याजदर बढ्दा एउटा बैंकबाट अर्को बैंकले निक्षेप तान्ने काम मात्रै हुन्छ ।’ यसले अन्तर बैंकबीच निक्षेप तान्ने मात्रै काम हुन्छ तर समग्रमा बैंकिङ प्रणालीमा ब्याजदर बढ्दैमा निक्षेप नबढ्ने उनको भनाइ छ ।

तरलता बढ्न विदेशी मुद्राको निक्षेप बढ्ने वा स्थानीय मुद्रामै निक्षेप बढ्नुपर्ने हुन्छ । यसका लागि सरकारले विदेशबाट ल्याउने ऋण सहायता बढाउनुपर्छ वा विदेशी मुद्रा बढाउन पर्यटन व्यवसाय फस्टाउने, सरकारी खर्च नै बढाउनुपर्छ । अनौपचारिक क्षेत्रमा रहेको पैसा बैंकिङ प्रणालीमा ल्याउँदा पनि निक्षेप बढ्ने र तरलता सहज हुन सक्ने हुन्छ । अहिलेको निक्षेपको ब्याज बढ्न्ले बैंक तथा वित्तीय संस्थाबीचमै एकबाट अर्काेमा पैसा जाने काम मात्रै भइरहेको ढकालको बुझाई छ ।

पछिल्लो समय भर्खर दशैं सकिएकोले बैंकिङ प्रणालीमा औपचारिक वा नऔपचारिक क्षेत्राबाट पैसा आउँदै गरेका, रेमिटेन्स बढेको र सरकारी खर्च पनि बढ्दै जान थालेको हुँदँहुँदै पनि बैंकहरूले संयमता नअपनाएका महशुस राष्ट्र बैंकलाई पनि भएको उनले बताए । यो विषयमा राष्ट्र बैंकले निगरानी गरिरहेको छ ।

त्यसो त राष्ट्र बैंकले बैंकहरूलाई बजारले नै ब्याजदर निर्धारण गर्न दिने गरी स्वतन्त्रतामा छोडिदिएको पनि छ । यसले बैंकहरूलाई यति नै ब्याजदर निर्धारण गर्नुपर्छ भनेर नियन्त्रण गर्न नमिल्ने भएपनि उनी बताउँछन् । बैंकहरूले निक्षेपको ब्याज बढाएपछि बेसरेट बढ्छ र त्यसले कर्जाको ब्याजदर पनि बढाउँछन् ।

बैंकहरूबीच ब्याजदर बढाउने र निक्षेप तान्ने होडबाजी भइरहदा ब्याजदर बढ्दैमा बैंकहरूमा लगानीयोग्य रकम (तरलता) नबढ्ने उद्योगी व्यवसायीलेसमेत बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ भन्छन्, ‘निश्चय पनि निक्षेपको ब्याज बढाउँदैमा बैंकमा तरलता बृद्धि हुँदैन् । तर, त्यसले कर्जाको ब्याजदरमा प्रत्यक्ष असर पार्दछ ।’ श्रेष्ठले सामाजिक सञ्जालमै बैंकहरूले निक्षेपको ब्याजदर बढाएको विषयमा गरेको टिप्पणीमा भनेका छन्, भर्खरै कोभिडबाट तङ्ग्रीएको व्यवासयमा के कति असर पर्दछ, त्यसको मूल्यांकन होस्, बैंकले जिम्मेवार र संयमित भएर कार्य गरोस, समयमा नै सम्बन्धित निकायले उचित र प्रभावकारी भूमिका निभाउनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि भनेका छन्, ‘बैंकहरूले ब्याज दरमा नयाँ होडबाजी सुरु गरेका छन् । कोरोनाले थला परेको अर्थतन्त्र केही चलायमान हुँदै गर्दा ब्याजदरका कारण फेरि समस्यामा पर्न सक्ने देखिन्छ ।’
 

Advertisement

Advertisement